राजनीतिक, व्यापारिक लगायतका विषयलाई विशेष प्राथमिकता दिएपनि नेपाल र चीनबीच रहेको धार्मिक सम्बन्धको ऐतिहासिक विषयलाई भने नेपालले गौण राखेझै देखिएको छ । बेला–बेलामा भूल्काको रुपमा विषय उठान भएपनि नेपाल र चीनबीच यो विषयमा सहकार्य गर्न चीन आँतुर देखिएको छ, त्यो विषय हो, भगवान गौतम बुद्ध र त्यसमा चीनले दिएको विशेष महत्व । संसारकै सबैभन्दा बढी जनसंख्या भएको चीनमा अहिले १ अर्ब ३७ करोड जनसंख्या रहेको छ । चीनमा सबैभन्दा बढी मानिने धर्म ताओ धर्म हो । त्यसपछिको दोश्रो धर्म भनेको बौद्ध धर्म हो । जसले चीनको आर्थिक विकासमा ठूलो मद्धत पुर्याउछ छ ।
भनिन्छ, चीनमा संसारकै सबैभन्दा ठूलादेखि सानासम्म बुद्धका मुर्तिहरु निर्माण भएका छन् । ‘चिनियाँहरु बौद्ध धर्मलाई अति प्रेम गर्छन्, तर बुद्ध कहाँ जन्मेका हुन् भन्ने विषयमा भने उनीहरुमा भ्रम छरिएको छ । चीनका पूराना पाठ्यक्रमहरुमा बुद्ध भारतमा जन्मेका हुन् भन्ने लेखिएकोले पनि उनीहरु भ्रममा परेका हुन्, तर पछिल्लो समयमा ठूलो संख्याका चिनियाँहरुमा यो भ्रम हट्दै गएको छ, बुद्ध नेपालमै जन्मेका हुन् भन्ने प्रस्ट हुँदै गएको छ,’ चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा कार्यरत पत्रकार चेतनाथ आचार्यले आफ्नो पुस्तकमा लेखेका छन् ।
केही महिनाअघि चीनमा २७ औं विश्व बौद्ध सम्मेलन भएको थियो । भगवान गौतम बुद्धको साइली औंला राखिएको भनिएको चीनको विश्व प्रसिद्ध गुम्बामा भएको सो सम्मेलनमा संसारका ४० मुलुकबाट करिब ४ सय बौद्ध भिक्षुहरु त्यहाँ भेला भएका थिए । ‘चीन गौतम बुद्धको दोश्रो घर’ भन्ने नारासहित सम्पन्न सो सम्मेलनमा नेपालमा जन्मिएका भगवान गौतम बुद्ध र उनको विषयमा महान बहस भएको थियो । ‘नेपालका राष्ट्रपति रामवरण यादवले पठाउनुभएको भगवान बुद्ध र उनको आदर्शसँग जोडिएर पठाएको शुभकामना सन्देशले पनि चीन लगायत संसारका थुप्रै राष्ट्रहरुमा भगवान गौतम बुद्धसम्बन्धी भ्रम चिर्न नेपाल सफल भएको थियो, तर नेपालले भनेजस्तो गरी धार्मिक कुटनीतिक पहलमार्फत चीनसँग सम्बन्ध जोड्न अझै सकेको छैन,’ आचार्य आफ्नो पुस्तकमा प्रष्ट पार्छन् ।
चीनको नेपालमा राजनीतिक र आर्थिक मात्र होइन् धार्मिक सम्बन्ध जोड्ने महत्वाकाँक्षा समेत अघि बढिरहेको छ । यसको उदाहरण लुम्बिनी विकास गुरुयोजनामा उसले देखाएको इच्छानै काफी छ । उसको योजना अनुसार नेपालमा जन्मेका भगवान गौतम बुद्धलाई एसियामात्र होइन, विश्वमै स्थापित गर्न कुटनीतिक पहल गर्नुपर्ने नेपाल–चीन मामलामा जानकार राख्ने कुटनीतिज्ञहरु बताउँछन् ।
बेइजिङमा बसेर लामो समय चीनको विकासक्रमलाई नियालिरहेका पत्रकार आचार्य लेख्छन्, ‘बेइजिङको पूर्वतर्फको दिशामा एउटा संसारकै सबैभन्दा ठूलो संग्रहालय स्थापना भएको छ, त्यहाँ भगवान गौतम बुद्धको विभाग समेत खडा गरिएको छ, तर त्यहाँका अधिकाँश पूराना पुस्तकहरुमा भगवान बुद्ध भारतमा जन्मिएका हुन् प्रसंग पाइन्छ तर ती पुस्तकले भारतको कुन ठाउँमा बुद्ध जन्मेका हुन् भनेर प्रस्ट नपार्दा भगवान बुद्धको बारेमा जिज्ञासा राख्ने विश्वका पर्यटक र बौद्धमार्गीहरु दूविधामा पर्ने गरेका छन्, यो विषयमा छिटोभन्दा छिटो नेपाल र चीन सरकारले निर्णय गर्नुपर्छ र चिनियाँ पाठ्यक्रमहरु परिमार्जन गरिनुपर्छ ।’
चीनसँगको यो विषयमा नेपालले पहल लिन सकेमा विश्वकै सबैभन्दा ठूलो जनसंख्या रहेको चीन र बौद्ध धर्म मान्ने अनुयायीहरु नेपाल भित्रिनेमा दुईमत नभएको सरोकारवालाहरु बताउँछन् । जसले नेपालको धार्मिक पर्यटकीय क्षेत्रलाई व्यवस्थापन गर्न नै हम्मे–हम्मे पर्न सक्छ । यो दिशामा नेपाल–चीनबीचको धार्मिक कुटनीतिलाई डो¥याउनु अहिलेको आवश्यकता पनि हो ।









0 comments:
Post a Comment