
अनि त्यसो भए के सबै सामानको कर तिर्नुपर्छ त ?
हैन, सबैको तिर्नुपर्दैन । भन्सार विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार निजी गुन्टा झिटी भारीको सुविधा खारेज गरिएको छैन । त्यो भनेको के भनेर अचम्ममा पर्नु भो ? एक सय ८० दिन विदेशमा बस्ने नेपालीले आफूले प्रयोग गरेको एकसरो सामान कर नतिरी ल्याउन पाउँछन् । के कस्ता सामान ल्याउन पाउने हुन् त ? हेर्नुस् सूचि-बिदेशबाट फर्केका नेपाली यात्रुका सम्वन्धमाः
(१) नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोगका देहायमा उल्लिखित सबै वा कुनै मालसामान ल्याउँदा भन्सार महसुल पूर्ण छुट हुनेछः
(क) लुगाफाटा, बरबिर्छ्यौना, घर गृहस्थीका पुराना सामानहरु,
(ख) औषधी उपचार गराई फर्केका विरामीले ल्याएका औषधीहरु,
(ग) शारीरिक अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
(घ) सुन तथा सुनको गहना पचास ग्रामसम्म, चाँदी तथा चाँदीको गहना पाँचसय ग्रामसम्म र तीस हजार
रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरिया,
(ङ) घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ एक एक थान,
(च) बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक एक थान,
(छ) पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान जस्तै फुटबल, भलिबल, बैडमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार हार्मोनियम, तबला, जस्ता सामानहरु)।
(ज) चार किलोग्रामसम्म खाद्य परिकार ।
(झ) मदिरा १.१५ लिटरसम्मको बोतल एक ।
तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका खण्ड
(झ) मा उल्लिखित सामान बाहेक यस उपदफामा उल्लिखित अन्य सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति दिन सक्नेछ।
खण्ड
(झ) मा उल्लिखित मदिरा तोकिएभन्दा वढी परिमाणमा ल्याएमा वढी परिमाण जति जफत हुनेछ।
व्यक्तिगत प्रयोजनका लागि ल्याउने कुन कुन सामानका भन्सार (कर) लाग्छ ?
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहायमा उल्लिखित सबै वा कुनै मालसामान प्रचलित आर्थिक ऐन बमोजिम समदरमा लाग्ने महसुल तिरी ल्याउन पाउने छन्। यस्ता मालसामान आफू आउनु अघि वा पछि चलान गरेको भएमा आफू नेपाल प्रवेश गरेको मितिले तीन महिनाभित्र भन्सार गोदाममा दाखिल भैसकेको हुनु पर्नेछ।
(क) टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पंखा, रेडियो, सि.डि. प्लेयर, भि.सि.डि. प्लेयर, डि.भि.डी. प्लेयर, भिडियो क्यामरा र कम्प्युटर एक एक सेट।
(ख) शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कष्मेटिक्स आदि बढीमा पन्ध्र थान।
(ग) घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान।
(घ) दश किलोग्राम सम्म खाद्य परिकार।
(ङ) व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई/दुई थान।
(च) खण्ड
(क) देखि (ङ)
सम्मका सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई दुई थान।तर यात्रुले ल्याउन पाउने आफ्नो निजी व्यवहारका यस उपदफामा उल्लिखित सामानहरु कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सक्नेछ।








0 comments:
Post a Comment