नेपाली अलैँची किन यति लोकप्रिय ?
यसका व्यवसायी र किसानका अनुसार नेपाली अलैँची भरिलो छ, पोटिलो छ । यो हुनुमा नेपालका उच्च पहाडी भेगको जमिन अलैँचीका लागि योग्य छ भन्ने प्रमाणित गरेको छ । ‘नेपालको अलैँचीको मोटाइ र गुदी एकदमै राम्रो रहेछ अन्य मुलुकभन्दा,’ महासंघका अध्यक्ष राजेन्द्र घिमिरे भन्छन्, ‘राज्यले भोलिका दिनमा अलैँची खेतीलाई प्राथमिकतामा राखे यसले विश्वबजारमा उत्कृष्ट स्थान राख्ने विश्वास गर्न सकिन्छ ।’
उत्कृष्ट स्थान ठानिएको ताप्लेजुङका अधिकांश स्थानीय अलैँची खेती गर्छन् । १० मन धान फल्ने ठाउँमा ४ मनै अलैँची उत्पादन भयो भने यी दुई खेतीबीचको अन्तर कता हो कता छ । १० मन धान फल्यो भने मुस्किलले २० हजार रुपैयाँ आम्दानी हुन्छ तर ४ मन अलैँचीले सिधै ४ लाखसम्म आम्दानी हुन्छ ।
गत साल अलैँचीको मूल्य प्रतिमन १ लाख १६ हजार रुपैयाँसम्म पुग्यो । अहिले अलैँचीको सिजन छ । बुधबारको बजारमूल्य अनुसार अलैँची ९७ हजार रुपैयाँ प्रतिमन छ । ‘पोहोरको तुलनामा अलैँचीको मूल्य कम नै भइरहेको छ,’ घिमिरेले भने ।
सरसर्ती अलैँचीका तीन फरक मूल्य छन् । सबैभन्दा उत्कृष्ट अलैँची प्रतिमन ९७ हजार, मध्यमखालको ९३/९४ र चलनचल्तीको अलैँची ९२ हजार प्रतिमनसम्ममा बिक्री भइरहेको छ । ‘एक मन अलैँचीको लाख रुपैयाँ आफैंमा चानचुने कुरो हैन,’ घिमिरे भन्छन्, ‘पहाडमा सुन फल्छ भन्ने उदाहरण हो यो ।’
दसैंदेखि नै अलैँचीको सिजन सुरू हुन्छ । तर यसपालि किसानले पोहोरको मूल्य पाइन्छ कि भनेर दुई महिनाजति ‘होल्ड’ गरे । तर पोहोरको मूल्य नपुगेपछि किसानले अहिले अलैँची धमाधम अलैँची बेचिरहेका छन् । पोहोरको मूल्य नपुगे पनि अलैँची प्रतिमन ८० हजार रुपैयाँभन्दा तल भने झरेन ।
नेपालमा यसपालि ५ हजार मेट्रिक टन अलैँची उत्पादन भएको अनुमान छ । कूल उत्पादनको ८६ प्रतिशत मेची र कोसी अञ्चलका पहाडी जिल्लाले धानेको छ भने ४० प्रतिशत ताप्लेजुङ एक्लैले उत्पादन गर्छ । ताप्लेजुङमा यसपालि २८ सय मेट्रिक टन अलैँची उत्पादन भएको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ । ‘यो सबै किसानको एक्लो प्रयासबाट सम्भव भएको हो,’ संघका अध्यक्ष तारा घिमिरे भन्छन्, ‘राज्यले अलैँचीमा लगानी गर्ने हो भने योभन्दा राम्रो खेती अरु केही छैन ।’
ताप्लेजुङका किसानले अहिले आँगनमै अलैँची रोपेका छन्, धानखेती मासेका छन् । पाखा–पाखा फाँडेर अलैँची लगाएका छन् । यति गर्नुमा अलैँचीले ल्याएको बजार हो । अलैँचीको बजारमूल्यले अहिले किसान अत्यन्तै लोभिएका छन् । ताप्लेजुङका अधिकांश भू–भाग चिस्यान छन् । चिस्यान जमिनमा अलैँची फस्टाउँछ । धानखेती जतिकै मेहनत अलैँचीमा गर्दा पुग्छ । वर्षको तीन–चार पटक गोडमेल र सुख्खा ठाउँ भए सिँचाइ गरे अलैँचीले फल दिन्छ ।
‘कतिपय चिसो भएका तर पानीको सुविधा नभएका ठाउँ छन्,’ संघका अध्यक्ष घिमिरे भन्छन्, ‘त्यस्ता ठाउँमा सिँचाइको सुविधा छैन, राज्यले लगानी गरेको छैन ।’ उनका अनुसार जिल्ला कृषि विकास कार्यालयले अलैँचीका विरुवा किन्दामात्र दिन्छ, त्यसबाहेक अलैँचीमा देखिने समस्याबारे कहीँ कतैबाट प्रयास भएको छैन ।
पाँचथर र इलाम जिल्ला पनि उतिकै अलैँचीले कहलिएका थिए । तर ती ठाउँका अलैँची बगान सिँचाइ असुविधा र रोगका कारण नासिए । ताप्लेजुङमा पनि त्यस्तो समस्या देखिन थालेको छ । संघका अध्यक्ष घिमिरेका अनुसार अलैँचीका पुराना बगान रोगले नासिँदै गएका छन्, तर निदानको प्रयास भएको छैन ।
किसानले उत्पादन भएको अलैँची सुकाउने भट्टी उत्कृष्ट पाउन सकेका छैनन् । परम्परागत भट्टीलाई चलाइरहेका छन्, यसले धूवाँ बढी फाल्ने हुँदा अलैँचीको वास्नामा असर पर्ने घिमिरे बताउँछन् । किसानले सुख्खा जमिनमा अलैँची लगाइरहेका छन्, जहाँ सिँचाइ सुविधाको खाँचो परिरहेको छ र रोग तथा किरा नष्ट गर्ने विषादी किसानले सजिलै पाउन सकेका छैनन्, यसमा अनुदान पनि छैन ।
अलैँचीले रोपेको तीन वर्षदेखि फल दिन थाल्छ । रोगको संक्रमण नियन्त्रण र सिँचाइ सुविधा भरपुर गर्न सके एकपटक रोपेको अलैँचीले वर्षौंसम्म आम्दानी दिन्छ । कोसी अञ्चलका तेह्रथुम, संखुवासभा जिल्ला पनि अलैँची उत्पादनको हिस्सेदार हुन् । नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो । भारतबाट अफगानिस्तान, साउदी, दुवई लगायत तेस्रो मुलुक र खाडी मुलुकमा अलैँची निकासी हुने गरेको छ ।








0 comments:
Post a Comment