भक्तपुर, १४ कात्तिक / विशिष्ट कलामा गनिएका मल्लकालीन कला, वास्तुकला एवम् धर्म संस्कृतिलाई जीवन्त राख्ने भक्तपुरको काष्ठकला सङ्ग्रहालयमा राखिएको प्राचीन मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।
ऐतिहासिक तथा सांस्कृतिक मूल्य मान्यता रहेको वास्तुकलालाई झल्काउने प्राचीन मूर्तिमा धमिराले प्वाल पारेका कारण मक्किदै गएर जीर्ण अवस्थामा पुगेका हुन् ।
भक्तपुर नगरपालिका–३ तचपालस्थित दत्तात्रय मन्दिरको दक्षिणपूर्वी भागको पूजारी मठमा रहेको पुरातात्विक काष्ठकलाबाट निर्मित कला सङ्ग्रहालयमा राखिएका कुनै मूर्ति धमिरा लागेर मक्किदै गएको छ भने कुनै मूर्तिमा ढुसी परेका कारण कुरुप बन्दै बिग्रदै गएको छ ।
नेपालको परम्परागत चित्रकलाको संरक्षण गर्ने उद्देश्यले २०१७ सालमा स्थापना भएको सङ्ग्रहालयको प्रचारप्रसारको अभावले पर्यटकलाई जानकारी नभएको राष्ट्रिय कला सङ्ग्रहालयले जनाएको छ ।
भक्तपुर अवलोकन गर्न आउने पर्यटकसँग सीमित समय मात्र हुनुका साथै सङ्ग्रहालय बाहिरै परम्परागत शैलीमा निर्मित कला कृतिको अवलोकन गर्न पाउने भएकाले पनि पर्यटकको ध्यान सङ्ग्रहालयतर्फ नपुगेको राष्ट्रिय कला सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मी बताउनुहुन्छ ।
प्रमुख नकर्मीका अनुसार विदेशी पर्यटक भक्तपुर नगर प्रवेश गर्ना साथ नगरपालिकाले लिने शुल्कका साथै सङ्ग्रहालय अवलोकनका लागि लिइने छुट्टै प्रवेश शुल्कका कारणले पनि अवलोकन नगरी फर्कने गरेका छन् । पर्यटकका लागि राष्ट्रिय कला सङ्ग्रहालयअन्र्तगत रहेका सङ्ग्रहालय अवलोकनका लागि रु एक सय पचास शुल्क लिने गरिएको छ ।
चित्रकला, मूर्तिकला, धातुकला तथा काष्ठकला गरी चार भागमा विभाजित कलामध्ये विशिष्ट कलामा गनिएका काष्ठकला सङ्ग्रहालयमा शताब्दीऔँ पुराना अभिलेखलगायत पूर्वमध्यकालीन समयदेखि प्रतिनिधित्व गर्ने उत्कृष्ट नमूनाले सङ्ग्रहालयको वास्तुकलाको स्वरुपलाई अझ आकर्षक बनाएका छन् ।
जसमा आकर्षक बुट्टा र धर्मशास्त्रको आधारमा कुदिएका खम्बा रहेका छन् । विभिन्न देवी देवताका मूर्ति कुँदिएका छन् भने विममा राजपरिवारका मूर्तिसमेत कुदिएका छन् । धार्मिक महत्व बोकेको वज्रयोगिणी, गणेश शक्ति, महेश सम्हार, कृष्णलीला र विश्वरुप जस्ता महत्वपूर्ण कलाकृति यहाँ राखिएका छन् ।
खम्बामा बनाइएका पौराणिक कलाकृति, जलचर, विभिन्न चरा चुरुङ्गी र साढेजस्ता चित्रले नेपालको मध्यकालीन लोक संस्कृतिलाई प्रतिनिधित्व गर्ने यस कलाले नेपाली समुदायको धार्मिक र सांस्कृतिक वस्तुको प्रदर्शन गरेको छ ।
पर्यटकीय दृष्टिकोणले एक उत्कृष्ट कलाको गन्तव्यस्थलका रुपमा लिन मिल्ने यस सङ्ग्रहालयले विश्व सामु आफ्नो कला संस्कृतिलाई परिचित गराउँदै आएको भएपनि अहिले संरक्षणको अभाव खड्किएको छ । रासस









0 comments:
Post a Comment