Monday, 9 May 2016

दुबईको बरदुबईको अर्को बिशेषता हो, सहजरुपमा मदिरा पाइनु । नाच्न पाउनु । मन छ भने यौन आवश्यकता पूरा गर्न पनि गाह्रो छैन ।


वैशाख २७, २०७३- नेपालीको मुख्य भेटघाट स्थल भएर होला बरदुबईको गल्लीगल्लीमा नेपाली व्यबसायी भेटिन्छन् । हरेक गल्लीमा छिर्दा नेपाली होटलहरु खोलिएका छन् । नेपालीले चलाएको लुगा पसल छन् । नेपाली होटलहरु थपिने क्रम जारी छ । पछिल्लो समय खोलिएको सुन पसलले भने एकदमै चर्चा पाएको छ । अब यो चोक नेपालीको लागि सुनदेखि म:मसम्म पाउने बजारको रुपमा परिणत भएको छ । 

नजिकै रेल स्टेशन छ । त्यसको पाँच मिनेटको दुरीमा बसपार्क छ । यातायातको सुविधा भएकाले यूएईको बिभिन्न इमिरेट्समा कार्यरत नेपालीको लागि यो मिल्ने संगमस्थल हो । सबैलाई तानेको छ । हरेक शुक्रबार त नेपाली दिदीबहिनी, दाजुभाईको लागि पाइल राख्न मुस्किल छ । यसैले यसको नाम युएईमा चलेको छ । 


हेटौंडाका बिष्णु श्रेष्ठ, प्रकाश न्यौपाने र भरत लामा बसपार्कमा भेटिए । श्रेष्ट र न्यौपाने करातेका ‘ब्याल्कबेल्ट’ हुन् । उनीहरु यो क्षेत्रमा लागेको १५ बर्ष बितिसकेको छ । बिष्णु कतारमा दुई बर्ष सुरक्षा गार्डको रुपमा काम गर्थे । आफ्नो रुचिको क्षेत्रलाई खोज्दै हिंड्दा दुबईमा फेला परे । ‘म अहिले सन्तुष्ट छ । आफैले रोजेको क्षेत्र पाएको छु’, कालो अनुहारमा उज्यालोपन देखाउँदै उनले भने,‘युएई, भारत, रोमानिया, बाज्रिलका नागरिकहरु कराते सिक्न आउँछन् । बच्चाहरु पनि हुन्छन् । दैनिक ५ घण्टा तालिम दिन्छु ।’ बिष्णुकै सहयोगमा आइपुगेका न्यौपाने पनि दंग छन् । ‘नेपालमा जस्तो खास कडा तालिम दिनु पर्दैन । यहाँ फाइटर बनाउने होइन । सामान्य स्किल र टेक्निक (कला र तरिका) सिकाउने हो’, उनले भने,‘मुख्य त उनीहरु शारीरिक फिटनेशको लागि आउँछन् ।’ ‘यसलाई यहाँ निरन्तर मात्रै दिन सकियो भने मात्रै पनि हुन्थ्यो’, दुबईको अनुभब सुनाए,‘खर्च र बचत त उस्तै हो ।’ सँगै रहेका भरत लामा चार बर्षदेखि कार्यरत छन् । सन् २०१२ मा आउँदा एउटा फनिर्चर कम्पनीमा आएका थिए । 

त्यसमा दुई वर्ष काम गरेपछि ‘रिलिज’ पाए । अहिले गोल्डेन बिच कम्पनीको मार्केटिङ गर्छन् । ‘तलब २३ सय दिनार दिन्छ । कोठाभाडा र खानामा खर्च गरी महिनाको ४०/५० हजार रुपैयाँसम्म जोगाउन सक्छु’, उनले भने, ‘पहिला त अनुभब थिएन । अहिले अनुभब छ । तर, त्यो अनुसारको जागिर पाउन सकिएको छैन ।’ हेटौडाका कराते गुरुहरु बिष्णु श्रेष्ठ र प्रकाश न्यौपाने । तस्वीर : होम कार्की/कान्तिपुर कम्पनीसँग गरेको सम्झौता सकिएपछि अर्को कम्पनीमा काम गर्न पाइने सुबिधा छ । ‘सम्झौता सकिन लागेको भए अगाडि नै कम्पनीलाई सूचना दिनुपर्छ । सम्झौता सकेको एक महिनाभित्र अर्को कम्पनीमा गइसक्नुपर्छ’, उनले भने,‘जागिर त पाइन्छ । तर, भनेको जस्तो तलब र सुुबिधा भने हुदैन ।’ ............................... बरदुबईको अर्को बिशेषता हो, सहजरुपमा मदिरा पाइनु । नाच्न पाउनु । मन छ भने यौन आवश्यकता पूरा गर्न पनि गाह्रो छैन । हरेक साँझ परेपछि गल्ली गल्लीमा हिड्न श्याम ताम्राकारलाई पसिना छुट्छ । ‘बाटाभरी अनेक रुपरङका केटीहरु लाइन बसेका हुन्छन् । उनीहरुलाई छल्दै हिंड्नुपर्छ । कति त हातै समाउन आइपुग्छन् । फुत्काउदै हिड्नुपर्छ’, ताम्राकारले पीडा सुनाए,‘एक दिन होइन । 

हरेक दिन यस्तै झेल्नुपर्छ । तै पनि मन दरिलो बनाएर उम्किन पर्छ ।’ परिवारसँग टाढिएर बसेको दशक नै भइसकेको छ । परिवारसँग दुईदुई बर्षमा भेट्न उनी मुलुक गइराख्छन् । उनलाई पनि रहर लाग्छ कि त्यस्ता कुरामा ? ‘तर के गर्नु ठूलो कुरो पैसा रहेछ । भर्खरका केटाहरुलाई त लाग्ला यही जिन्दगी हो । एकबारको जुनीमा रमाइलो गर्नुपर्छ । तर यसमा फसियो भने जिन्दगीभर बर दुबईको चोककै वरपर बस्नुपर्छ’, उनले अनुभब सुनाए,‘यहाँ १० औं बर्षसम्म परिवारलाई बिर्सेर यही वरिपरि घुमेर बसेका साथीभाई देखेको छु ।’ उनलाई लाग्छ, ‘यस्तो बाताबरण कायम हुन दिनुहुन्न । थोरै तलबमा काम गर्ने साथीहरुलाई यो जस्तो ठूलो सजाय के हुन्छ ? केटी आफै आउदा पनि भाग्दै हिड्नुपर्छ । 

सोनापुर तिरका साथीहरु यो बरदुबईमा नआएकै बेश ।’ ............................ बरदुबईमा ‘मानब तस्कर’ को सवाल निकै चर्किएको स्थिति रहेछ । पछिल्लो एक नेपाली साँस्कृतिक कार्यक्रममा भिजिट भिसामा नेपाली युवतीलाई कलाकार बनाएर ल्याएको बिषय अझै सेलाएको थिएन । एनआरएन त्यस्तो अबैध कार्यमा लाग्नेलाई कारबाही हुनैपर्छ भनेर कस्सिएर लागेको स्थिति छ । त्यसो त बरदुबईको गल्लीहरुमा भिजिट भिसामा लाखौं रुपैयाँ बुझाएर जागिर खोज्न आउनेहरुको ताँती नै छ । 

अफगानिस्तान र इराकमा जाने नेपालीहरु पहिला यूएई आउँथे । दलालहरुले निकै नेपालीलाई फसाएपछि नेपाल सरकारले यूएईमा भिजिट भिसामा जान नै नपाउने रणनीति लियो । पछिल्लो समयमा इराक, अफगानिस्तानमा काम गर्न जाने अवसर त कम छ । तर यसले यूएईमा काम खोज्न चाहानेलाई भने बाधा बनाइदिएको अबस्था छ । ‘भिजिट भिसामा आएर काम खोज्ने हो भने त्यति धेरै खर्च लाग्दैन । आफ्नो क्षमता अनुसार जागिर पनि पाउन सक्लान’, गैरआबासीय नेपाली संघ यूएईका उपाध्यक्ष रमेश श्रेष्ठले भने,‘मेरो अपिसमा जागिर खोजिदिनुपर्‍यो भन्दै दैनिक बायोडाटा लिएर आइरहेको छन । 

उनीहरुले बिमानस्थलमा सेटिङ गर्नुपरेको भन्दै दलाललाई दुई/तीन लाख रुपैयाँसम्म बुझाएका छन ।’ भिजिट भिसामा फस्नेहरुको सख्या दिनहुँ बढिरहेको छ । दलालले यसैलाई कमाई खाने बाटोको रुपमा बनाएको छ । ‘यो नै अहिलेको सबैभन्दा ठूलो चुनौती देखिएको छ’, उनले भने,‘सरकारले भिजिट भिसामा आउनेलाई रोक्ने कि खोल्ने भन्नेमा गम्भीर भएर अध्ययन गर्नुपर्ने जरुरी देखेको छु ।’

0 comments:

Post a Comment