काठमाडौँ, ४ असोज /‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ…’ भन्ने गीतको धुन बजिरहेको थियो । सो धुन घन्किरहँदा युवाहरू स्वरमा स्वर मिलाइरहेका थिए भने हातमा राष्ट्रिय झण्डा बोक्दै एक आपसमा संविधान निर्माणको खुसी साटासाट गर्दै थिए ।
यो दृश्य सैनिक मञ्च टुँडिखेलको हो, जहाँ ‘नेपालको संविधान, २०७२’ जारी भएको खुसियालीमा आज नेपाल सरकारले ऐतिहासिक स्वागत समारोह आयोजना गरेको थियो । उक्त खुसियालीमा आयोजित समारोहका कारण बिहानैदेखि सैनिक मञ्च र यस आसपासको क्षेत्रमा छुट्टै रौनकता देखिन्थ्यो ।
अपराह्न १ बजेदेखि हुने भनिएको समारोहका लागि काठमाडौँका शान्तिबाटिका, प्रदर्शनीमार्ग, बागबजारलगायत स्थानमा विभिन्न दलका कार्यकर्ता तथा सर्वसाधारण जम्मा भएका थिए ।
समारोह आरम्भ हुनुपूर्व भद्रकालीबाट निस्केको पदयात्रामा नेवारी संस्कृतिको मौलिकताले युक्त झीगु सिंर वाजा खलः नैकापको सांस्कृतिक प्रस्तुति हेर्न लायक थियो ।
समारोहमा सहभागी हुन काठमाडौँ उपत्यका र आसपासका जिल्लाका विभिन्न सर्वसाधारणका साथै निजामती कर्मचारी तथा राष्ट्रसेवकको चहलपहल उत्तिकै देखिएको थियो । समारोहका लागि नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्दा सर्वसाधारण निकै उत्साहित बनेका थिए ।
त्यस्तै समारोह आरम्भ हुनुपूर्व केही समय परेको पानीको पर्वाहसमेत नगरी सर्वसाधारण धैर्यतापूर्वक बसेका देखिन्थे । समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायका साथै विभिन्न समुदायबाट विविधताले युक्त संस्कृतिको शोभाले अझै उत्साह थपेको देखिन्थ्यो ।
कार्यक्रम सम्पन्न भएपछि पनि करिब १० मिनेटको समयावधिसम्म सर्वसाधारणहरू ‘यो जित कसको जनताको’, ‘हाम्रो संविधान राम्रो संविधान’, र ‘हिमाल, पहाड तराई, कोही छैन पराई’ जस्ता राष्ट्रवादी नारा लगाउँदै राष्ट्रिय एकताको प्रदर्शन गरेका थिए ।
सरकारले आह्वान गरेअनुसार समारोहमा निजामती कर्मचारी कार्यालयको व्यानरसहित पदयात्रामा सहभागी थिए । विभिन्न दलका लागि निश्चित ठाउँहरूबाट पदयात्रा निकाल्ने तय भएअनुसार पार्टीका झण्डासहित नेता तथा कार्यकर्ता पनि लामबद्ध देखिन्थे ।
नेपाली परम्परागत थारु नृत्य, राई, लिम्बूको मौलिक संस्कृति, तामाङ सेलो, मगर कौडा जस्ता नृत्य तथा झाँकीले समारोह थप रोमाञ्चित बनेको थियो । संविधानसभाबाट संविधान जारी गर्नु नेपाली जनताको महत्वपूर्ण जित भएको स्वागत समारोहमा सहभागी सर्वसाधारणले धारणा व्यक्त गरेका थिए । संविधान जारी भएको खुसियालीमा सरकारले सार्वजनिक बिदा दिएका कारण पनि विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरू पनि झाँकीमा सहभागी देखिन्थे ।








0 comments:
Post a Comment