Friday, 22 January 2016

नेपाललाई आज फाइनल जित्ने स्वर्णिम मौका !!


काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार बंगलादेशमा बहराइनको यु–२३ टोलीसँग बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्दैछ। सेमिफाइनल लक्ष्यसाथ बंगलादेश यात्रामा निस्केको नेपाल प्रतियोगिताको अन्तिम खेलमा आइपुग्दा दाबेदार छवि बनाउन सफल भएको हो।

एकातिर नेपाली टोलीले पछिल्लो दुईवर्ष एकपछि अर्को खेलमा खराब प्रदर्शन गरिरहेको थियो भने अर्कोतिर पाँच राष्ट्रिय खेलाडी खेलमिलेमतोमा संलग्न भएको र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा भ्रष्टाचारको अभियोगमा १० वर्षे प्रतिबन्धमा पर्नुले नेपाली फुटबलमाथि चौतर्फी दबाब थियो। खराब वातावरणबाट गुजि्ररहेको नेपाली फुटबलले बंगलादेशमा पुगेर च्याम्पियनसिप शैलीको प्रदर्शन गर्ने कमैले अनुमान गरेका थिए।


बंगबन्धु खेल्नु दुईसाताअघि मात्र नेपाली टोली भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा लज्जाजनक रूपमा पहिलो चरणबाटै बाहिरिएको थियो। जहाँ टोली श्रीलंका र भारतसँग पराजित भयो। बंगबन्धुमा पनि श्रीलंका र बंगलादेशको राष्ट्रिय टोलीसँग खेल्नुपर्ने हुँदा सेमिफाइनल पुग्नेमा सन्देह थियो नै। तर, टोलीले समूह चरणमा आशालाग्दो प्रदर्शन गर्यो्। प्रशिक्षक बालगोपाल महर्जनको भनाइ मान्ने हो भने सेमिफाइनलमा त नेपालले माल्दिभ्सविरुद्ध नसोचेको नतिजा निकाल्यो। नवयुग श्रेष्ठको ह्याटि्रकमा नेपालले ४–१ को जित निकाल्यो, जुन माल्दिभ्सविरुद्ध अहिलेसम्मकै उत्कृष्ट नतिजा थियो।

सुरुबाटै नेपाली टोली र प्रतियोगिताको स्तरलाई लिएर भने निकै टिकाटिप्पणी भएका छन्। सुरुमा यु–२३ टोली भनिए पनि नेपाल र श्रीलंकासँगको खेललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आधिकारिक वेबसाइटमा उल्लेख गरेपछि त्यसले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको दर्ता पायो। त्यस्तै बंगलादेश र माल्दिभ्ससँगको खेललाई पनि फिफाले उल्लेख गर्योे। श्रीलंकाको खेल सकिएपछि भने अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि राष्ट्रिय टोलीकै हैसियतमा बंगबन्धु कपमा दर्ता भएको प्रस्ट पार्योल।

तीन राष्ट्रिय टोलीलाई पन्छाएर बंगबन्धुको फाइनल पुगेको नेपाल र बहराइन यु–२३ बीचको खेलले भने अन्तर्राष्ट्रिय खेलको मान्यता पाउने छैन। दुई देशको सिनियर राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धाले मात्र अन्तर्राष्ट्रिय मैत्री खेलको मान्यता पाउने गर्छ।

अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको रूपमा मान्दा सन् २००९ को प्रधानमन्त्री कपलाई छाड्ने हो भने नेपाल १७ वर्षपछि फाइनल प्रवेश गरेको यो पहिलो अवसर हो। १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) नेपालले खेलेको पछिल्लो अन्तर्राष्ट्रिय फुटबलको फाइनल हो। १९९३ को छैटौं साफमा स्वर्ण पदक जितेयता नेपाल च्याम्पियन बन्न सकेको छैन। तथापि २००९ मा काठमाडौंमा नेपाल नीलोले प्रधानमन्त्री कप जित्दा श्रीलंकाको राष्ट्रिय टोलीलाई हराएको थियो। जुन प्रतियोगितामा नेपालले नीलो र रातो दुई टोली सहभागी गराएको थियो।

बहराइनको उमेर समूह टोलीलाई हराएर नेपाली टोलीको एउटै लक्ष्य च्याम्पियन बनेर फर्कने हो। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले नागरिकसँगको टेलिफोन कुराकानीमा भने, 'सेमिफाइनलमा हामीले नसोचेकै प्रदर्शन गरेका छौं। फाइनल सजिलो पक्कै हुन्न। तर, सेमिफाइनलको प्रदर्शन मात्र दोहोर्यािउन सके च्याम्पियन बनेर फर्कन्छौं।'

श्रीलंकासँग जितेपछि बंगलादेशसँगको भावनात्मक सम्बन्धका बारेमा बोल्दै आएका महर्जनले भने, '२३ वर्षअघि छैटौं साफ जित्दा खेलाडी थिएँ। यसपल्ट प्रशिक्षकका रूपमा टोलीमा छु। यो स्वर्णिम मौका गुमाउने पक्षमा हामी छैनौं।'

बंगलादेशी राष्ट्रिय टोलीलाई सेमिफाइनलमा १–० ले हराएर अघि बढेको बहराइनको युवा टोलीले भन्दा फाइनलमा नेपालले स्थानीय दर्शकको साथ पाउने पक्का छ। अझ अध्ययनका लागि ढाका पुगेका नेपालीको संख्या पनि बाक्लो छ। प्रशिक्षक महर्जन भन्छन्, 'हाम्रा लागि बंगलादेश दोस्रो घरभन्दा फरक पर्दैन। यहाँ हामीलाई पुरै समर्थन हुन्छ। त्यसैबाट पनि हामीलाई राम्रो गर्न उर्जा पक्कै मिल्छ।'

बंगबन्धुमा सेमिफाइनलबाहेक नेपाल र बहराइनको प्रदर्शनमा समनता पनि भेटिन्छ। दुवै टोलीले १–१ खेल जितेका छन् भने दुईमा बराबरी खेलेका थिए। सेमिफाइनलमा भने नेपालको गोलअन्तर बढी थियो।

पहिलोपल्ट राष्ट्रिय टोलीको पूर्ण जिम्मेवारी पाएका महर्जन सेमिफाइनलकै सेट उतार्ने सम्भावना रहेको बताउँछन्। 'विनिङ कम्बिनेसन बिगार्ने सोचमा छैनौं। सेमिफाइनलको प्रदर्शनले खेलाडीको मनोबल उच्च र कन्डिसन पनि ठीक छ। हामीले जित्ने आधार यही हो। यो प्रतियोगितामा भाग लिने टोलीमा खासै अन्तर छैन। त्यसैले हामी च्याम्पियनका दाबेदार हौं। यस्तो अवसर कमै मात्र पाइन्छ। खेलाडी आफ्नो शतप्रतिशत दिनमा तयार छन्।'

बंगबन्धु कप जितेर फर्कन सके त्यसले नेपाली फुटबलप्रेमीमा सकारात्मक सन्देश प्रवाह हुनेमा महर्जन आशावादी छन्। 'हामीले फुटबलमा निकै उतारचढाव देखेका छौं। खेलमा हार–जित हुन्छ। तर, पछिल्लो समय हार–जितले मात्र होइन अन्य कारणले फुटबलप्रेमी निराश छन्,' महर्जनले थपे, 'निराशलाई आशामा बदल्ने, खेलाडीप्रतिको अविश्वास घटाउने र फुटबल एउटा घटनाले सिद्धिन्न भन्ने सन्देश हामीले यो प्रतियोगितामार्फत दिने कोसिस गरेका छौं। च्याम्पिययन बन्न सके नेपाली समर्थक खुसी हुने हाम्रो विश्वास छ। '


बंगबन्धु गोल्डकप कहिलेबाट

बंगलादेश फुटबल संघको आयोजनामा बंगबन्धु कप सन् १९९६ बाट सुरु भएको थियो। २० वर्षमा प्रतियोगिता चारपटक मात्र आयोजना भएको छ। बंगलादेशका राष्ट्रपिता बंगलादेश शेख मुजिबुर रहमानको नामबाट प्रतियोगिताको नाम बंगबन्धु कप राखिएको थियो। बंगालीमा बंगबन्धुको अर्थ बंगलादेशको साथी भन्ने हुन्छ। पहिलो संस्करण आयोजना भएको तीन वर्षपछि १९९९ मा दोस्रो संस्करण भयो। त्यसपछि भने लामो समय प्रतियोगिता हुन सकेन।

तेस्रो संस्करण २०१५ मा सम्पन्न भएको थियो। पहिलो संस्करणमा फ्रेन्ड्स क्लबले नेपालको प्रतिनिधित्व गरेको थियो। दोस्रो संस्करणमा नेपालले भाग लिए पनि टोलीको प्रदर्शन राम्रो हुन सकेन। तेस्रो संस्करणमा नेपालको सहभागिता रहेन। १७ वर्षपछि भाग लिने अवसर पाउँदा नेपाली टोली फाइनल खेल्ने तयारीमा छ। बंगबन्धु कपबाट सुरु प्रतियोगिताको अघिल्लो संस्करणमा बंगबन्धु गोल्डकप नामाकरण गरिएको हो।

0 comments:

Post a Comment