लण्डन । बेलायती जासुसले लण्डनमा रहेका ‘मस्ट वान्टेड’ सूचीका कुख्यात लुटेराहरुको नाम सार्वजनिक गरेको छ । जसमा एक जना नेपाली मूलका समेत रहेका छन् ।
१२ जनाको नाम सार्वजनिक गरिएकोमा एक जनाले १० हजार पाउण्ड मूल्य बराबरको सुन चोरेको प्रहरीले जनाएको छ । लण्डन प्रहरीको अपराधको छानविन गर्ने प्रधान कार्यालयले सोमबार ११ जना पुरुष र १ जना महिला लुटेराको तस्विर सार्वजनिक गरेको हो । चोरीबिरुद्धको अप्रेसन गर्ने क्रममा प्रहरीले उनीहरुको तथ्य पत्ता लगाएको थियो ।
१२ जना मध्ये ३९ वर्षीय विलियम ओडनाग्युले सबैभन्दा बढि १० हजार पाउन्ड बराबरीको अचल सुन चोरेका थिए । उनले त्यो सुन एक घरबाट गत जुनमा चोरी गरेको लण्डन महानगरिय प्रहरीले जनाएको ‘द गार्जियन’ले जनाएको छ ।
यस्तै नेपाली मूलका २६ वर्षीय सुमन श्रेष्ठले तीन चोरी गरेको तथा दुई चोरीको प्रयास गरेका थिए । श्रेष्ठले सन् २०१० को सेप्टेम्बरदेखि नोभेम्बरसम्म तीन चोरीको प्रयास गरेका थिए ।
प्रादेशीक प्रहरीका कमाण्डर सिमोन लेचफोर्डले सोमबार आयोजित पत्रकार सम्मेलनमा चोरी पत्ता लगाउन प्रहरीले पाइला चालेको बताए । उनले उल्लेखनिय रुपमा अभियोगीहरुलाई पक्राउ गरी राजधानीमा चोरीलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाए । यस्तै लेचफोर्डले प्रत्येक व्यक्तिलाई लुटेराबारे जानकार दिन पनि आग्रह गरेका छन् । साथै, लुटेरालाई पक्राउ गर्न प्रहरीले सबै शक्ति परिचालन गर्ने तथा सूचीमा परेकालाई आत्मसमर्पण गर्न आग्रह गर्दै उनले भने, ‘सूचीमा परेकाले आत्मसमर्पण गर्नुहोस्, परिवारको क्रिसमस बरबाद नगर्नुहोस् ।’
लण्डन प्रहरीले चोरी नियन्त्रण गर्न विशेषज्ञहरुको टिम नै बनाएको थियो । जसले लण्डनमा हुने चोरीको घटनाबारे अप्रेसन गरिरहेको छ । उक्त टिमले गत सेप्टेम्बरदेखि २४ जना लुटेरालाई पक्राउ गरिसकेको छ । यस्तै २१ सेप्टेम्बरदेखि १४ डिसेम्बरसम्ममा १४ जनालाई चोरीको प्रयास गरेको अभियोगमा पक्राउ गरिएको छ । पछिल्लो १२ महिनामा लण्डनमा ९ प्रतिशतले चोरीको घटना कम भएको बताइएको छ ।
यी हुन् लण्डनका १२ ‘मस्ट वान्टेड’ लुटेराहरु:
१. जेरी जेम्स् डेनाने: (२५) जनवारीमा विलिङटनमा चोरीको अभियोग । उनी ड्रग्स् करोबारका अभियोगी समेत हुन् ।
२. सुमन श्रेष्ठ: (२६) हन्स्लोमा तीन वटा चोरी गरेको अभियोग । सन् २०१० को सेप्टेम्बरदेखि नोभेम्बरमा दुई वटा चोरीको प्रयास गरेको ।
३ ज्याक लुइस: (२७) सेप्टेम्बरमा एडिङटनमा चोरी गरेको ।
४. विलियम ओडनाग्यु: (३९) जुनमा नटफिल्ड रोडमा चोरी गरेको अभियोग ।
५. रेबिका पोले: (२३) जुनदेखि सेप्टेम्बरमा चार वटा चोरी गरेको अभियोग ।
६. ओलु एड्सीना: (२७) सन् २०१४ को देखि फेब्रअरीसम्म चार वटा घरायसी चोरीको अभियोग ।
७. जोन जेम्स् कर्टनी: (४0) जुलाईदेखि सेप्टेम्बरसम्म दुई चोरीको अभियोग ।
८. वज्सिच जार्निकी: (३२) २०१३ को नोभेम्बरदेखि २०१४ जनावरीसम्म चार वटा लुटपाटको अभियोग ।
९. मारिउस क्लाउसिअस हन्टु: (२७) चोरी अभियोगमा अदालत हाजिर नभएको । सन् २०१४ को जुलाईमा एक चोरी गरेको ।
१०. लार्स कार्लसन: (३५) सन् २०११ को अक्टोबरमा किंस्टोन र चेल्सीमा चोरी गरेको अभियोग ।
११. जेम्स् जोन रडफोर्ड: (२८) न्यूहाम र रेडब्रिजमा मोटर भेइकल चोरी गरेको अभियोग । उनी गाडी ठोक्काएको आरोपमा फरार अभियोगी समेत हुन् ।
१२. जोफ्रि ओएङ्गा: (४५) अगस्ट २०१२ देखि नेभेम्बर २०१३ मा दुई तीन चोरीको अभियोग । जरिवान नतिरेको अभियोगी समेत हुन् ।









0 comments:
Post a Comment