Friday, 6 November 2015

चित्र बहादुर केसी सहाकारी तथा गरिबी निवारण मन्त्रि !!


काठमाडौं : वर्तमान सरकारमा राजावादीदेखि माओवादीसम्मको राजनीतिक 'समावेशी' सरकार बनेको छ। झण्डै ६ दशक लामो राजनीतिक जीवनमा पहिलोपटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मन्त्री बनेका छन्। उनी पहिलो पटक मन्त्री बनेकोमा खुसी छन् तर देशको जुन राजनीतिक परिस्थिति छ यस्तो परिस्थितिमा लिएको जिम्मेवारीप्रति भने त्यति उत्साहित छैनन्।

‘भुतले खाजा खाने समयमा परियो,’ मन्त्रीमा सपथ खानुअघि नै देशको अवस्थाबारे चिन्ता व्यक्त गर्दै केसीले भने, ‘देशको यस्तो अवस्था छ, सबैको आक्रोश मन्त्रिपरिषद्माथि नै पोखिने हो। खै के उत्साहित हुनु?’ उनले परिस्थिति जस्तोसुकै भए पनि राष्ट्रिय जिम्मेवारीले भने गौरवान्वित बनाएको बताए।

मन्त्री बन्न दौरा सुरुवाल र कोटमा सजिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेका केसी पैदल यात्रा गर्दै पत्रकारहरुसँगै कार्यालय प्रवेश गरेका थिए। उनले सपथअघि नै पत्रकारहरुले बधाइ ग्रहण गरे।

कुन मन्त्रालयको जिम्मेवारी पाउनुभयो त?

केसीले पुरानै शैलीमा उत्तर फर्काए, ‘सहकारी तथा गरिबी निवारण।’ पत्रकारहरुले हाँसो सहित प्रश्न थपे, ‘त्यसो भए तपाईँजस्तो मान्छे मन्त्री बन्नुभएको छ, अब देशबाट गरिबी अन्त्य हुने भयो होइन?’

‘हेरौं अब गैरजिम्मेवार त बन्दिन तर कति सकिँदो रहेछ त्यो त समयले नैं देखाउने छ,’ उनले सुनाए, ‘तर परिस्थिति सहज छैन। यो त सबैले बुझ्नुभएकै छ नि।’

पत्रकारहरुको अर्को प्रश्न : पहिले हामीसँगै हुनुहुन्थ्यो सधै। अब त भेट्न पनि अलि अप्ठेरो हुन्छ होला हैन?’

उनले आफ्नो सरलता प्रस्तुत गर्दै थपे, ‘म त सधै तपाईँहरुसँगै हुन्छु नि। किन टाढा हुनु र म सधै मन्त्री हुने हैन।’

अत्यन्त सरल स्वभावका केसी आम पत्रकारलाई व्यक्तिगत रुपमा चिन्दैनन्। तर उनी हरेक पत्रकारसँग सरल र सरस सम्बन्ध राख्छन्। र, कुनै पनि विषयमा आफनो सटिक विश्लेषण दिने गर्छन्। संसद्मा बोल्दा हरेक समय टुक्का जोडेर राजनीतिक सन्दर्भलाई उजिल्लाउने केसी अभिव्यक्तिका हिसाबले अहिले पनि धेरै राजनीतिज्ञभन्दा अगाडि छन्।

0 comments:

Post a Comment