Thursday, 5 November 2015

युएई जानुअघि पारस, पुबुदुले के भने ? (भिडियोसहित)



काठमाडौं, । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न नेपाली टोली युएई प्रस्थान गरेको छ ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियन्सिपअन्तर्गत् नेपालले यही कार्तिक ३० गते र मंसिर २ गते पपुवान्यूगिनीविरुद्ध आबुधाबीमा दुईओटा एक दिवसीय खेल खेल्ने छ । क्यानको गैरजिम्मेवारीपनका कारण आइसीसीले नेपालमा गर्ने भनिएको खेल युएईमा सारेको हो ।

पपुवा न्यूगिनीविरुद्धको खेलपूर्व नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानसँग अभ्यास खेलको मौकासमेत पाएको छ ।

यसैगरी, नेपालले हङकङसँग एउटा दुई दिवसीय, ओमानसँग र युएईको स्थानीय क्लबसँग एउटा–एउटा ५० ओभरको अभ्यास खेल पनि खेल्नेछ ।

कप्तानमा पारस खड्कालाई निरन्तरता दिनेकी नदिने भन्ने विषयमा आन्तरिक किचलो बढेपछि क्यानले सोमबार मात्र युएई जाने १६ खेलाडीको नाम सार्वजनिक गरेको थियो ।

पारसको कप्तानीमा क्यानले घोषण गरेको नेपाली टोलीमा पहिलोपटक इर्शाद अहमद र विक्रम सोबले स्थान बनाएका छन् ।

यसैबीच, कप्तान पारस खड्काले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पपुवा न्यूगिनीविरुद्धको खेल जित्ने विश्वास व्यक्त गरेका छन् ।

एकदिवसीय राष्ट्रको मान्यता पाउन तथा एक दिवसीय विश्वकपमा स्थान बनाउने बाटो भएका कारण विश्व क्रिकेट लिग नेपालका लागि महत्वपूर्ण रहेको उनले बताए ।

टोलीका प्रशिक्षक पुबुदु दासानायकेले पपुवा न्यूगिनीसँगको खेल अगाडि प्रसस्त अभ्यासको मौका रहेकाले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपाली क्रिकेटको भविष्यसँग जोडिएको प्रतियोगिता भएकाले खेलाडीहरुले क्यानभित्रको विवाद र अन्य अप्ठ्याराहरु बिर्सिएर प्रदर्शनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

प्रशिक्षक पुबुदु दासानायकेले यसअघिनै पदबाट राजीनामा गरिसकेकाले उनको प्रशिक्षणमा नेपाली टोलीको यो अन्तिम प्रतियोगिता हुने छ ।

दासानायकेले नेपाली टोलीको प्रशिक्षकका रुपमा कार्य गर्न पाएकोमा गर्व लागेको भन्दै सम्बन्धित निकायले सहयोग गरेको खन्डमा नेपााली क्रिकेट भविष्यमा धेरै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
इमेज खबरबाट !

0 comments:

Post a Comment