Friday, 13 November 2015

भारतीय राजदूत रेलाई २४ घण्टाभित्र देशनिकाला गर्न माग



काठमाडौं, २७ कात्तिक । आफ्नो कुटनीतिक मर्यादाभन्दा बाहिर गएर जथाभावी अभिव्यक्ति दिइरहेका नेपालका लागि भारतीय राजदूत रञ्जीत रेलाई २४ घण्टाभित्र देशनिकाला गर्न माग गरिएको छ । विहीबार सत्तारुढ दल नेकपा एमालेकै नेता एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले राजदूत रेलाई २४ घण्टाभित्र देशनिकाला गरेर भारत फिर्ता पठाउन माग गरेका हुन् । उनले भारतीय राजदूत जथाभावी बोलेर नेपाल भारतको सम्बन्ध विगार्न हरसम्भव लागिरहेको बताए ।


उनले भने- ‘भारतीय राजदूत रन्जित रेलाई ‘डिपोट’ नगरी नेपाल–भारत सम्बन्ध सामान्य नहुने संकेत देखियो । अघोषित नाकाबन्दीका कारक यी रे महोदय हामी नेपालीसँग केको दुश्मनी साँध्न लागिपरेका छन् ?’ आवश्यक प्रक्रिया पुर्‍याएर राजदूत रेलाई २४ घण्टाभित्र देश निकाला गरेमा भारतले नेपालबाट गतिलो पाठ सिक्ने उनको भनाई छ ।
‘असोज माहिना यता राजदूत रेका दर्जनौं क्रियाकलापहरु आपत्तिजनक छन् । उनलाई कारवाही गरेर सरकारले भारतलाई पाठ सिकाउनुपर्छ,’ कडा प्रतिक्रिया दिँदै नेता थापाले भने । पछिल्लो समयमा एउटा राजदूत रे मधेसवादी नेताजस्तै भाषणवाजी गर्दै हिँडेकाले तत्काल देश निकाला गर्नुपर्ने उनले बताए ।
‘कुनै पनि राजदूतले अर्को देशको आन्तरिक मामलामाथि खुलेआम टिप्पणी र आलोचना गर्न पाउँदैनन् । उनको भूमिका नेपाल र नेपालीविरुद्ध देखिएकाले सरकारले तत्कालै डिपोटको प्रक्रिया अघि बढाउनुपर्छ ।’ यसैबीच राजदूत रेलाई देश निकाला गर्न नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली समेत ध्यानाकर्षण गराएका छन् । दैनिक नेपाल बाट ।

0 comments:

Post a Comment