Monday, 12 October 2015

यस्तो छ ओलीको राजनीतिक जीवनी (भिडियो रिपोर्ट) |


काठमाडौं, असोज २४ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेपालको ३८ औं प्रधानमन्त्री बनेका छन् । आइतबार व्यवस्थापिका–संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित गर्दै ओली प्रधानमन्त्री बनेका हुन् ।
पूर्वी पहाडी जिल्ला तेह्रथुमको दुर्गम गाउँमा २००८ फागुन ११ गते जन्मिएका ओलीले २०२३ सालमामार्क्सवादी अध्ययन दलमा आवद्ध भई राजनीतिक यात्रा थालनी गरेका हुन् ।
२०२६ सालमा नेपाल कम्यूनिस्ट पार्टीको सदस्यता लिई भूमिगत राजनीतिमा होमिएका ओली २०२७ सालमा पक्राउ परेका थिए । एक वर्षको जेल बसाईपछि २०२८ सालमा झापा जिल्ला कमिटीको सदस्य बनेका ओली २०२९ सालमा तत्कालीन झापा आन्दोलन कमिटीका प्रमुख बने ।
उनी २०३० सालमा पुनः पक्राउ परेर लगातार १४ वर्षको जेल जीवन बिताए ।
२०४४ साल असारमा रिहा भएका ओली सोही वर्षको पुसमा तत्कालिन नेकपा मालेको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले । २०४६ सालको जनआन्दोलनमा तत्कालिन बाममोर्चाको लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी सम्हालेका उनी २०४७ सालमा गठित प्रजातान्त्रिक राष्ट्रिय युवक संगठनको संस्थापक अध्यक्ष बने ।
नेकपा माले र मार्क्सवादीबीचको एकीकरणपछि २०४९ सालमा मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यनीति ल्याउँदा महत्वपूर्ण भूमिका निर्वाह गर्दै उनी नेकपा एमालेको स्थायी कमिटी सदस्य बने ।
त्यसपछि ओलीले २०४८ र २०५१ मा झापाबाट प्रतिनिधिसभा चुनाव जिते । उनले मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हाले । गृहमन्त्रीका रुपमा उनको कार्यकाल अहिले पनि उदाहरणीय मानिन्छ ।
एमालेमा मदन भण्डारीका निकट सहयोगी मानिने ओलीले जनताको बहुदलीय जनवादको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याए । २०५६ सालमा एमाले विभाजन भएपछि भएको संसदीय चुनावमा ओली झापाका दुईवटा निर्वाचन क्षेत्रबाट विजयी भए । लोकतन्त्रको पक्षमा आफुलाई दृढतापूर्वक उभ्याउँदै आएका ओलीले एमालेको सातौं महाधिवेशनमा पार्टीमा आन्तरिक लोकतान्त्रिकरणको मुद्दा उठाए र त्यसलाई स्थापित गर्न पनि सफल भए ।
२०६२/६३ को आन्दोलनपछि उपप्रधान र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका ओली पहिलो संविधानसभा निर्वाचनमा पराजित भए । ओलीको पराजयको शृङ्खला एमालेको आठौं महाधिवेशनमा पनि कायमै रह्यो ।
एमालेमा प्रचार, विदेश र स्कूल विभाग जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालेका ओली पार्टी भित्र शक्तिमा रहँदा वा नरहँदा सँधै चर्चामा रहे ।

ओलीलाई गुट विशेषको नेता भन्ने आरोप त निरन्तर लागि नै रह्यो तर एमालेलाई सही बाटोमा हिडाउन ओलीले गरेको अठोटलाई साथ दिनेहरुको संख्या पनि बढ्दै गयो । २०७० साल मंसिरमा भएको दोस्रो संविधानसभाको चुनावमा झापाबाट विजयी भएसँगै राष्ट्रिय राजनीतिमा ओलीको उपस्थिति दर्बिलो बन्दै गयो । २०७० माघमा एमाले संसदीय दलको नेता बनेपछि पार्टीमा ओलीको उपस्थिति थप बलियो बन्यो । संसदीय दलको नेतामा निर्वाचित भएको पाँच महिनापछि नै ओली पार्टीका पूर्व प्रमुख एवं पूर्वप्रधानमन्त्री माधव नेपाललाई पराजित गरी एमालेको अध्यक्षमा निर्वाचित भए र राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्ने ठाउँमा पुगे ।
पहिलो संविधानसभा असफल भएको सन्दर्भ र दोस्रो संविधानसभाको चुनावी परिणामलाई लिएर ब्यक्त भएका अनेकौ आशंकाहरुलाई चिर्दै संविधान जारी गर्ने विषयमा ओलीको निरन्तर प्रयास रह्यो र त्यसक्रममा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई पूर्ण सहयोग र तिक्ततापूर्ण सम्बन्ध रहेको एकीकृत माओवादीसँगको सम्बन्धमा सुधार गर्दै ओलीले एमालेमाथि लाग्दै आएको ढुलमुले चरित्रको आरोपलाई चिर्न पनि सफल भए ।
अनेक उखानतुक्का र सटिक टिप्पणीयुक्त अभिव्यक्तिले स्रोताहरुको ध्यान तान्न खप्पिस ओली स्पष्ट वक्ता र दृढ अडानयुक्त नेताका रुपमा परिचित छन् । अनेकखाले बाह्य दवावलाई झेल्दै लोकतन्त्रप्रतिको निष्ठा, राज्य संयन्त्रहरुलाई बलियो बनाउनुपर्ने मान्यता र संविधान जारी गर्ने सन्दर्भमा खेलेको भूमिकाका कारण ओलीको छवी प्रखर राष्ट्रवादी नेताको रुपमा स्थापित हुँदै गयो ।
बदलिँदो छवीबीच ओलीको लोकप्रियता सामाजिक संजालहरुमा समेत ह्वात्तै बढ्यो ।
संविधान जारी गर्ने सन्दर्भमा दलहरुबीच भएको सोह्र बूँदे सहमतिसँगै अबको प्रधानमन्त्री ओली भन्ने आम धारणा बन्यो । तर, अन्ततः सुशील कोइरालालाई प्रधानमन्त्री बनाउँदा प्रस्तावक बसेका ओली त्यसपछि एमालेको नेतृत्वको भद्र सहमति जनाउने सुशील कोइरालासँगै प्रतिष्पर्धा गरेर प्रधानमन्त्री बने । नेपाली राजनीतिको पछिल्लो चलखेलका बीच ओलीको यो जीतलाई धेरैले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको जीतका रुपमा पनि अर्थ्याएका छन् ।
यद्यपि नयाँ कार्यकारी प्रमुखका रुपमा ओलीको सामुन्ने चुनौतीको पहाड भने निकै ठूलो छ । अस्तव्यस्त अवस्थामा रहेको मुलुकलाई सम्हाल्दै सहज आपूर्ति व्यवस्था मिलाएर नागरिकको दैनिक जनजीवनलाई सामान्य अवस्थामा फर्काउनु, संविधान जारी भएसँगै तराई मधेशमा आन्दोलनरत दलहरुसँग वार्ता गरी सहमति कायम गर्नु, छिमेकी भारतसँग बिग्रिएको सम्बन्धमा सम्मानजनक सुधार गर्नु, संविधानको सफल कार्यान्वयको बाटो खोल्नु,  भूकम्पपछिको पुनर्निर्माणलाई तिव्रता दिनु, सत्ता साझेदार दलहरुसँगको सहाकार्य कायम राख्नु, विपक्षीलाई विश्वासमा लिनु र आफ्नै पार्टीमा एकता कायम राखिराख्नु ओलीका मुख्य चुनौति हुने छन् ।

0 comments:

Post a Comment