काठमाडौं, २४ असोज । नेपालको ३८ औं प्रधानमन्त्रीका रुपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा आइतबार भएको निर्वाचनमा कांग्रेस सभापति सुशील कोइरालालाई ८९ मतले पछि पार्दै प्रधानमन्त्रीमा ओली निर्वाचित भएका हुन् । कुल खसेको ५८७ मतमा ओलीले ३३८ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै कोइरालाले २४९ मत ल्याएका थिए ।
सभामुख सुवासचन्द्र नेम्वाङले ओली प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरे लगत्तै विभिन्न दलका तथा सांसदहरुले उनलाई खादा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । एकीकृत माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलको समर्थनमा ओली नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित हुन सफल भएका हुन् । बधाइ दिएपछि संसद भवन भित्रै सामूहिक तस्विर पनि लिएका ओली अन्य नेताहरुको तुलनामा ढिलो गरी बैठक कक्षबाट बाहिरीएका थिए ।
ओलीको प्रतिक्रिया लिन बाहिर बसेका सञ्चारकर्मी र उनका समर्थकहरुको भीड लागेको थियो । भीडबाट समाचार सम्प्रेषण गर्न ओलीको प्रतिक्रिया लिने क्रममा मर्यादापालक र केही सुरक्षाकर्मी पत्रकारहरुलाई अवरोध सृजना गरिएको थियो । यद्यपी निकैबेरको प्रतिपक्षा पछि ओली दायाँ बायाँ राष्ट्रिय झण्डाका बीचमा रहेर बाहिरीए ।
सोही क्रममा नवनिर्वाचित प्रधानमन्त्री ओलीले सबै पक्षलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाए । मुलुकमा शान्ति, सुव्यवस्था कायम गर्ने र रचनात्मक कामलाई प्राथमिकता दिने उनले बताएका छन् । ओलीले आफूलाई मत दिने तथा समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।पत्रकारलाई प्रक्रिया दिएपछि ओलीले आफ्ना कार्यकर्ता तथा समर्थकहरुको माझमा खुशियाली साटासाट गरे । त्यसपछि कडा सुरक्षा घेरा सहित ओली संसद भवनबाट साइर बजाउँदै बाहिरिए ।
नव निर्वाचित ओलीका लागि अगाडिको बाटो निकै कठिन देखिएको छ । हालै जारी भएको संविधानको कार्यान्वयन, मुलुकका विभिन्न स्थानमा भइरहेका आन्दोलनको माग सम्बोधन, भारतीय नाकाबन्दी खुलाउने या अन्य विकल्पमा जनजीवन सामान्य बनाउन, भूकम्प पछिको पुनर्निर्माण लगायतका विषयमा ओलीलाई फलामको चिउरा चपाएसरी हुने राजनीतिक विश्लेषण गरिएको छ ।









0 comments:
Post a Comment