काठमाडौँ, १४ कात्तिक ।
नेकपा (एमाले) का दुई नेता सत्ताको महत्त्वपूर्ण पदमा पुगेपछि केही नेताको मन्त्री हुने दौडधूप जारी रहँदा केही नेता भने एमालेको कार्यबाहक अध्यक्ष र उपाध्यक्ष हुन दौडधूप गरिरहेका छन् । केही नेता माथितिर उक्लिएपछि हामी पनि स्थायी कमिटी सदस्य हुन पाउँछौँ कि भनेर पोलिटब्युरोका नेताहरुले पनि नेताहरुको घर र मोबाइलमा देउसी खेल्ने नै भए, उनीहरुले देउसी खेलेपछि खाली हुने पोलिटब्युरोमा उक्लन केन्द्रीय सदस्यहरुले र पूर्ण केन्द्रीय सदस्य हुन वैकल्पिक केन्द्रीय सदस्यहरुले पनि नेताको दैलो चाहार्ने नै भए । झट्ट हेर्दा एमालेको कार्यबाहक अध्यक्ष र उपाध्यक्षका लागि नेताहरु दौडधूपमा लागेको भनिए पनि यसको सांग्लो तलैसम्म पुगेको कुरा एमालेमा लुकेको छैन ।
महासचिव रहँदा माधवकुमार नेपालले प्रधानमन्त्रीको अवसर आएपछि पद त्याग गर्नु परेको थियो । तर बलशाली अवस्थासहित चुनाव जितेर नै प्रधानमन्त्री हुन पुगेका अध्यक्ष केपी शर्मा ओलीका लागि माधव नेपालजसरी पार्टी पद त्यागेर प्रधानमन्त्री हुनुपर्ने दिन आएन । उनी काँग्रेस सभापति सुशील कोइरालाजस्तै दुवै पदमा आसिन रहने नै भए । यति हुँदाहुँदै पनि अध्यक्ष ओलीले कसैलाई कार्यबाहक अध्यक्ष दिइहाल्छन् कि भन्ने अनुमान एमालेमा छ । त्यसका लागि को होलान् उपयुक्त उम्मेदवार, चर्चा आआफ्नै स्तरका छन् ।
ओली विदेश जाँदा पटकपटक कार्यबाहक अध्यक्षको भूमिका पाएका उपाध्यक्ष वामदेव गौतम नै एमालेको कार्यबाहक अध्यक्ष हुने अनुमान छन् । तर पार्टीको स्थायी समितिदेखि सबै बैठक पार्टी कार्यालयमा भन्दा बढी सिंहदरबारमा बस्ने भएपछि कार्यबाहक नै किन दिनु प¥यो, अध्यक्ष ओली एक्लै काबिल छन् भन्नेहरु पनि एमालेमा कम छैनन् । त्यसमाथि पछिल्लो समय आफू कुनै मन्त्री पदमा आकांक्षी छैन भने पनि मन्त्री हुने दौडधूपमा लागेका उपाध्यक्ष वामदेव गौतमले कार्यबाहकका लागि दौडधूप नगरेको र अध्यक्ष ओलीलाई सघाउँछु भनेर शुक्रबार वचन सार्वजनिक गरेपछि एमालेमा कार्यबाहकको आकांक्षी पनि छैनन् भन्ने बुझ्दा हुन्छ ।
भर्खरै पद त्याग गरेर राष्ट्रपति बनेका विद्या भण्डारीसँगै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको कार्यकाल सफल पार्न अर्का प्रभावशाली उपाध्यक्ष भीम रावल रक्षा तथा उपप्रधानमन्त्रीका रुपमा सारथि हुने छन् भने पूर्वउपाध्यक्ष विद्या भण्डारी सरकारका सबै ऐनकानुनमा साथ दिन छदैँछिन् । उसमाथि पूर्वप्रधानमन्त्री एवम् एमाओवादी पार्टी पहिलो भएको बेलाका दोस्रो वरियताका नेता डा. बाबुराम भट्टराईलाई पनि पराजित गरेका पार्टी उपमहासचिव विष्णु पौडेल भरत मोहन अधिकारी र सुरेन्द्र पाण्डे भन्दा कम हुन्न भनेर अर्थमन्त्री हुने योजनासँगै पदाधिकारीको साथ पनि प्रधानमन्त्रीलाई हुने नै छ । यसैले एमालेले कार्यबाहक अध्यक्ष तोक्ने विषय अहिले विवादमा छैन, राष्ट्रपतिका आकांक्षी वरिष्ठ नेता झलनाथ खनाल अध्यक्ष नै भइसकेकाले कार्यबाहकका लागि जाने कुरै भएन, अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि राष्ट्रपति पदसमेत त्यागेर बसेका छन् । अहिले पार्टीमा नेपालले भनेजस्तै हुने अवस्था भएकाले कार्यबाहक हुने कुरै भएन । त्यसैले एमालेमा कार्यबाहक अध्यक्ष कोही बन्ने सम्भावना क्षिण छ ।
उपाध्यक्ष को होलान् ?
एमाले उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उपाध्यक्ष, अखिल नेपाल महिला संघकी अध्यक्ष र समानुपातिक सभासद्को पद पनि रिक्त भएको छ । अहिले उपाध्यक्ष पदका लागि एमालेमा केही नेताको दौडधूप सुरु भएको छ । खासगरी संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका सुवास नेम्बाङ राष्ट्रपतिका आकांक्षी पनि थिए । तर एमाओवादीले टेडो नजरले पनि नेम्बाङको नाममा सहमति नजनाएपछि उनी बिदा भए । उनै नेम्बाङ चैँ उपाध्यक्ष भण्डारीको पदमा पुग्छन् कि भन्ने अनुमान छ । नेम्बाङ उपाध्यक्षमा आकांक्षी छन् या छैनन्, यो पनि बाहिर आएको छैन, आफैँले जारी गरेको संविधानमा बहसका लागि अब वरिष्ठ अधिवक्ताको भूमिकामा क्रियाशील हुने चाहना राखेका नेम्बाङलाई एमाले उपाध्यक्ष हुन भने सजिलो छैन ।
के ले रोकेको छ ?
नवौँ महाधिवेशन भएको १५ महिनामै एमालेले राज्यको महत्त्वपूर्ण पदमा कब्जा जमाएको छ । तर आन्तरिक पार्टी व्यवस्थापन भने कमजोर छ । अहिलेसम्म विभिन्न विभागका सदस्यहरुको नाम टुंगो छैन । राष्ट्रिय प्रतिनिधि परिषदको बैठक बसेको छैन । त्यसमा भूमिका पाउने करिब एक हजार कार्यकर्ता भूमिकाविहीन छन् । विभागका सदस्यहरु उत्तिकै भूमिका नपाएर आकांक्षी छन् । राष्ट्रिय प्रतिनिधि परिषद्ले नै पार्टीमा अध्यक्ष लगायतका नेताहरुको चयनको व्यवस्था गर्ने विधान छ । सुवास नेम्बाङलाई सुरुमा त एमाले केन्द्रीय सदस्य हुने बाटो खुल्न पनि प्रतिनिधि परिषद् बोलाउन जरुरी छ । त्यसपछि उनी चाहे उपाध्यक्ष हुन सक्छन् तर महिला पद भएकाले नेम्बाङका लागि उपाध्यक्ष सहज छैन । उनी एमालेमा स्थायी कमिटी सदस्य चैँ बन्ने संकेत देखा परेको एमालेका एक नेताले बताए । उपाध्यक्षका लागि पार्टीमा शक्ति सन्तुलन गर्न अध्यक्ष ओलीले आन्तरिक कसरत गर्नु पर्ने हुन्छ ।
को होलान् महिला संघमा अध्यक्ष
एमाले भ्रातृसंगठन अखिल नेपाल महिला संघकी अध्यक्ष विद्या भण्डारीले पदत्याग गरेपछि संघको अध्यक्ष पद रिक्त छ । उपाध्यक्ष राधा ज्ञवाली ऊर्जामन्त्री हुँदा बर्खास्त गर्नु पर्ने अवस्थामा पुगिन भने मन्त्री हटाउँदा सर्वोच्च गएर एमालेकै बदनाम गर्ने काममा लागिन् । उनी नै महिला संघमा अध्यक्षका बलिया दाबेदार थिइन्, तर उनको मन्त्री बनेपछिको भूमिकाले उनी यो दौडमा उठ्नै नसक्ने गरी लडेकी छन् । विद्या भण्डारी निकट मानिएकी सीता पौडेल महिला संघमा अध्यक्ष हुने सम्भावना छ । अरु पनि आकांक्षी छन् तर पौडेल बलिया उम्मेदवार हुन् ।
महासचिवको रोजाइ रावल नै
पार्टीका महत्त्वपूर्ण पदका नेताहरु सरकारमा पुगेपछि एमालेको नेतृत्वमा सबैभन्दा बढी सक्रिय बन्नु पर्ने र भावी अध्यक्षका रुपमा पनि चर्चा सुरु भएका महासचिव ईश्वर पोखरेल अब पार्टीमा कसरी प्रस्तुत होलान् ? उनको भूमिका कस्तो होला ? दसौँ महाधिवेशनमा उनी अध्यक्षका उम्मेदवार बन्लान् ? कार्यकर्ता चिया बसाइमा यस्तो सोच्छन्, सोध्छन् । यतिखेर पार्टी अध्यक्ष प्रधानमन्त्री, उपाध्यक्ष उपप्रधानमन्त्री (प्रस्तावित), अर्का उपाध्यक्ष राष्ट्रपति र उपमहासचिव अर्थमन्त्रीका रुपमा प्रस्तावित छन् ।
बाँकी उपाध्यक्षहरु, उपमहासचिव, सचिव, स्थायी कमिटी सदस्यलाई मिलाएर अघि बढ्न महासचिवलाई थप चुनौती छ । अहिले पनि आनन्द पोखरेल, जनार्दन ढकाललगायतका जुनियरलाई मन्त्री बनाउन लागेको आरोप खेपिरहेका महासचिव पोखरेलले कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाउने काम गरेपछि उपाध्यक्ष भण्डारी निकै आक्रोशित थिइन् । उनीहरुको सम्बन्धमा सुधार हुन सकेको छैन । यतिखेर स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बन्न नदिन अदृश्य दौडधूप गरेको आरोप लागेका महासचिव पोखरेल उपमहासचिव विष्णु पौडेल अर्थमन्त्री बन्ने विषयमा पनि अरुचि देखाइरहेको स्रोतको दाबी छ ।
स्रोतले भन्यो, ‘नेता माधवकुमार नेपालसँग अर्थमन्त्री पौडेलाई बनाउन वामदेव गौतमले नै प्रस्ताव गरिसकेका छन्, नेपालले पौडेललाई अर्थमन्त्री बनाउने विषयमा सहमति जनाइसकेका छन्, परराष्ट्र नसोधी कमल थापालाई दिने काम भएकाले भीम रावललाई रक्षासहित उपप्रधानमन्त्री बनाउने काममा पनि नेपाल सकारात्मक छन् ।’ यहीबेला महासचिव ईश्वर पोखरेलले माधव नेपाललाई फोन गरेर अर्थमन्त्री भीम रावललाई बनाउन प्रस्ताव गरेपछि नेपालले ‘एउटै पदमा दुईटालाई किन लडा’को, मैले विष्णु पौडेललाई भनिसकेँ त’ भन्ने जवाफ दिएको कोटेश्वर स्रोतले बतायो । पोखरेल उपमहासचिवलाई अर्थमन्त्री बन्न नदिन चैँ किन लागे भनेर अहिले पार्टीमा चर्चा सुरु भएको छ, सुरेन्द्र पाण्डे र विष्णु पौडेललाई रोक्नु पर्ने कि सँगै लिएर जाने हो, आगामी दिनमा पनि कार्यकर्ताले अनुभव गर्नेछन् ।
भ्रातृसंगठनको पनि चुनाव
नेकपा (एमाले) मा जुझारु मानिने तीन भ्रातृसंगठनको महाधिवेशन नजिकिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), युवा संघ नेपाल र प्रेस चौतारी नेपालको महाधिवेशन नजिकिएकाले धेरै नयाँ कार्यकर्ताले यता पनि अवसर पाउने छन् । असोजमै हुनु पर्ने अनेरास्ववियुको महाधिवेशन आन्तरिक गुटबन्दीले रोकिइरहेको छ । युवा संघको सम्मेलनका लागि आयोजक कमिटी बनाएर आन्तरिक विवाद सकाउने काम भए पनि म्यादी अध्यक्षले संगठनको महाधिवेशन भन्दा अहिले मैनबत्ती प्रज्वलन, खादा ओढाउने, सम्मान गर्ने काममै शक्ति खर्च गरिरहेको छ । वैचारिक रुपमा संगठन अघि बढ्न सकेको छैन । प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेशन पनि फागुनसम्ममा गर्नु पर्नेछ । आन्तरिक रुपमा भ्रातृसंगठनका चुनावका लागि उम्मेदवारहरु छलफलमा जुटिसकेका छन् ।









0 comments:
Post a Comment