जीन्दगीको कुनै न कुनै समयमा मायालु स्पर्स गर्ने बाबु,आमा तथा शिक्षकका हातहरु गल्ती हुँदा अलि कठोर गरी अवतरित पनि भए होलान्। त्यस्ता स्पर्शहरु कति समयको चक्रसँगै छोडिए होलान त कत्ति स्मृतिमा बसिरहे होलान्। त्यतिबेला नमिठो लाग्ने यस्ता घटना पछि मिठा याद बनेर रहने गर्छन्। हाम्रा कलाकारहरुले पनि यस्तै सजाय भोगेनन् भन्दा पत्याउन अलि गार्हो पर्छ। उनीहरूसँग पनि त्यस्ता सम्झनाहरु हुनुपर्छ। हाम्रो जिज्ञासाम उनीहरुले त्यस्तो स्मृति भएको अनुभव साटे जसलाई उनीहरु अहिले पनि सम्झिन्छन् । उनीहरुले ती यादगार चड्कनहरुलाई यसरी याद गरे:
केकी अधिकारी, अभिनेत्री: म्याथ टिचर । नाम त बिर्सें । उहाँले गणितसँगै अतिरिक्त क्रियाकलापका कक्षा पनि लिनुहुन्थ्यो । उहाँ एकदमै रिसाहा स्वभावका मान्छे । सानो गल्ती मात्र गरेपनि पिटिहाल्ने । एकदिन डान्स गर्ने दिन थियो । मैले डान्स गरिन । उहाँले यसरी झापड हान्नुभयो, गालामा डामै बस्यो । पछि पनि उहाँलाई देख्दा डर लाग्थ्यो । तर, धेरै डरमा बस्नुपरेन । किनकी एकदमै पिट्ने खालको भएर उहाँले राजिनामा नै दिनुपर्यो । त्यसपछि भेटेको छैन । अहिले भेटेँ भने, उहाँलाई सम्झाउँथेँ होला ।
कुमार कट्टेल ‘जिग्री’, हास्यकलाकार: स्कुलको फस्टब्वाई थिएँ म । सबै सरले माया गर्नुहुन्थ्यो । तर एकदिन भएछ के भने, सामाजिक पढाउने सरले होमवर्क दिनुभएको रहेछ । मलाई थाहै थिएन । भोलीपल्ट सर कक्षामा छिर्दा त सबैले होमवर्क निकाले । फस्टब्वाईसँग नै होमवर्क छैन । त्यसपछि त सरले रन्काएर गालामा दिनुभयो । दिनभर शिर निहुराएर बसेँ । सरले के पढाउनुभयो नि थाहा भएन । अनि, अर्को घटना पनि छ । म त्यतिबेला क्रिकेट र फुटबल खुब खेल्थेँ । सधै ढिला गरि घर पुग्न थालेपछि बालाई अत्ति लागेछ क्यारे, बुबाले नराम्रो चड्कन लगाउनुभयो । त्यसपछि त छुट्टटी हुनेबित्तिकै घर पुग्न थालेँ ।
दीपक लिम्बु, गायक: दाजुले पिट्नुभयो नमजासँग । ७-८ वर्षको छँदा उमेरले मभन्दा धेरै जेठो दाईको खल्तीबाट २० कि २५ निकालेको थिएँ । खर्च गर्न भ्याएकै थिइन, उहाँले दर्हो धुलाई दिनुभयो । आमाले छेक्न खोज्दा पनि आमाले सक्नुभएन । त्यसपछि कहिल्यै पैसा चोरिन ।
मेनुका प्रधान, अभिनेत्री: भारतको मणिपुरमा जन्म भएको मेरो । सानो छँदा म एकदमै बदमास । बिहानै घरबाट निस्केपछि बेलुका राति मात्र घर पुग्ने । ४-५ वर्ष छँदाको कुरा होला, आमाले घरअगाडीको पिल्लरमा बिहानै डोरीले बाँधिदिनुभयो । रातीसम्म छोड्नुभएन । त्यसबेला मैले भूत आयो, बाघ आयो भनेरु कराएको याद छ । अनि त्यस्तै घटना नेपाल आएपछि छ । नवलपरासीमा घर बन्दै थियो । म फिल्म हेर्न खुबै रुची राख्ने । एकदिन घरबाट भागेर आन्टीकोमा टिभि हेर्न गएँ । बेलुका फर्केपछि बाबाले गालामा झापड हान्नुभयो । बाबाको झापड यस्तो थियो, एकचोटीभन्दा बढी हान्नु नपर्ने ।
अशिष्मा नकर्मी, अभिनेत्री: सानोमा म एकदमै ज्ञानी । कसैको पिटाई खाएको याद छैन । ठूलै भएपछि, नौ-दश तिर पढ्दाको कुरा होला । म बदमास भएको पनि होइन । अलि उत्ताउली भएर होला । त्यतिखेर भुवा भएको पञ्जा खुब फेसनमा थियो । मैले त्यसको भुवा निकाल्दै जुँगा बनाएर अरुलाई देखाउँदै थिएँ, सरले पनि देख्नुभएछ । त्यसपछि पिट्नुभयो तर, थोरै मात्र । अनि म र मसँग बस्ने तीनजना साथीलाई समेत अगाडी लगेर उभ्याउनुभयो । घरमा पिटाई खाएको छैन । गल्ती गर्दा बाबाले अहिले पनि थोरै पिट्नुहुन्छ ।
सन्देश लामिछाने ‘बट्टारे’, हाँस्य कलाकार: ६ कक्षामा पढ्दा, होमवर्क गरिन । सरले नराम्रो चड्कन लगाउनुभयो । त्यसपछि म खुरुखुरु होमवर्क गर्ने थालेँ । पछि सरले थोरै हान्न खोजेको धेरै परेछ, सरी भन्नुभयो ।














0 comments:
Post a Comment