Thursday, 8 October 2015

आयल निगम पेट्रोलियम पदार्थ भित्र्याउने विकल्पको खोजीमा !

काठमाडौ : भारतले नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ हाहाकार भएपछि सरकारले विकल्प खोज्न नेपाल 
आयल निगमलाई पत्र पठाएको छ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार पत्र पठाउँदै पेट्रोलियम पदार्थ आयातको विकल्प खोज्न निर्देशन 
दिएको थियो। यो निर्देशनपछि निगममा बुधवार बसेको आकस्मिक बैठकले अल्पकालीन र दीर्घकालीन योजना बनाएर तेल ल्याउने निर्णय भएको स्रोतले बतायो। स्रोतका अनुसार अल्पकालीन रुपमा जहाजमार्फत् तेल ल्याउने र दीर्घकालीन रुपमा उत्तरी नाका चीनबाट तेल ल्याउने विकल्प खोज्ने निर्णय भएको हो।

‘वाणिज्य मन्त्रालयले विकल्प खोज्न भनेपछि हामीले केही तयारीहरु सुरु गरेका छौ,’ निगमका प्रवक्ता दीपक बरालले पहिलोपोस्टसँग भने, ‘अहिले हामी कुनै टुंगोमा पुगिसकेका छैनौँ।’ तर स्रोतका अनुसार निगमले योजनासहितको विकल्प वाणिज्य मन्त्रालयलाई अहिले केहीबेरमा पठाउँदैछ। स्रोतका अनुसार चीनबाट तेल ल्याउन चीनको स्वामित्वमा रहेको तेल कम्पनीसँग छलफल अघि बढाउने योजना समेत समेटिएको छ।

‘तेल ल्याउनका लागि पहिलो चरणमा चीनको तेल आपूर्तिकर्ता कम्पनीसँग निगमले छलफल गर्ने योजना रहेको छ,’ स्रोतले भन्यो, ‘कम्पनीसँगको छलफलपछि कसरी तेल आपूर्ति गर्ने बारेमा अघि बढ्न सकिन्छ।’

चीनबाट तेल ल्याउने बारेमा त्यहाँको कम्पनीसँग अहिलेसम्म कुनै छलफल भएको छैन । चीनले  पाइप   लाइनमार्फत ल्हासासम्म पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ भने सिगात्सेसम्म रेलमार्फत तेल ल्याइरहेको छ।’ स्रोतका अनुसार चीनबाट तेल आपूर्तिका लागि सम्भाव्यता अध्ययनका लागि तत्कालै प्राविधिकसहितको टोली पठाउनुपर्ने समेत उल्लेख छ।

चीनबाट तेल ल्याउनको लागि नेपाल वा चीनतर्फ भण्डारण लगायतका पूर्वाधार निर्माण गर्नुपर्छ। स्रोतका अनुसार तेल आपूर्तिका लागि आवश्यक पूर्वाधार बाटोको बारेमा पनि अध्ययन गर्नुपर्ने योजनामा उल्लेख छ |

0 comments:

Post a Comment