Friday, 9 October 2015

एमाले मन्त्रीको मार्कसिट : को पास को फेल ?


UML-MINIsters-marksheet
काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालालाई पार्टीका तर्फबाट मन्त्रीहरूको सूची बुझाउँदा अहिलेका पार्टी केन्द्रीय कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठ पनि सँगै थिए । श्रेष्ठका अनुसार हातमा एमाले मन्त्रीहरूको सूची परेपछि प्रधानमन्त्री कोइराला झसंग भएका थिए । प्रधानमन्त्री कोइरालाले मन्त्रीको सूची हेर्दै भने, ‘मलाई असफल बनाउन थाल्नुभएको हो ।’
महासचिव ईश्वर पोखरेलसहितको टोली कोइराला निवास मन्टिखाटारमा पुगेर एमालेतर्फको मन्त्रीको सूची बुझाएको थियो । कोइरालाले एमालेले पठाएको मन्त्रीको सूचीमा चुनाव हारेका, सभासद् नरहेको र जुनियर नेताको बाहुल्य देखेपछि सरकार सञ्चालन प्रभावकारी नहुने कोइरालाको गुनासो रहेछ ।
‘प्रधानमन्त्री कोइरालाले मन्टिखाटारमा पहिलोपटक मन्त्रीहरूको नाम हेरेपछि मलाई असक्षम र अयोग्य बनाउन खोजेको भनेका थिए,’ त्यस दिन प्रधानमन्त्रीले भनेको श्रेष्ठ सम्झन्छन्, ‘साह्रै लो प्रोफाइलका मन्त्री भए । मेरो अपमान गर्न खोज्नुभएको हो ।’
कार्यालयसचिव श्रेष्ठ सुशील कोइराला नेतृत्वको सरकारको बिदा हुने बेलासम्म सूची बुझाउन गएकै दिनको कुराकानी सम्झिरहेका छन् । नसम्झिउन् पनि किन ? कोइरालाले जे भनेका थिए, सरकार सञ्चालनमा एमाले मन्त्रीहरूको कार्यशैली आलोचित र विवादित बन्यो । योबीचमा एमालेले पाँच मन्त्री फेर्नुप¥यो । दुईजना सरकारको कार्यकाल सकिनै लाग्दा अख्तियारको सिफारिसमा हट्नुप¥यो ।
श्रेष्ठले एमालेको इतिहासमा अहिलेका मन्त्रीहरू अयोग्य र असक्षम भएको टिप्पणी गरे । उनले अहिलेका मन्त्रीको मूल्यांकन गर्दै सय पूर्णांकमा ३० नम्बर दिन मिल्ने बताए । ‘हाम्रा मन्त्रीहरूको कार्यशैलीले हामी एमालेको इतिहासमै सबैभन्दा दुःखी र असन्तुष्ट छौँ,’ श्रेष्ठले भने, ‘यदि सय पूर्णांकमा मूल्यांकन गर्ने हो भने ३० भन्दा ३१ नम्बर दिन पनि मिल्दैन । सबै फेल भएका छन् ।’ श्रेष्ठले केही मन्त्रीबाहेक सबैको गुनासो मात्र सुन्नु परेको बताए । ‘एक–दुई जना कार्यकर्ताबाहेक राम्रो गरे भन्न कोही आएन,’ उनी भन्छन्, ‘इतिहासमै अयोग्य भए ।’
०४६ यता एमालेका तर्फबाट एक सय नेता मन्त्री भए । तीनजना प्रधानमन्त्री नै भए भने पटक–पटक एमालेले नै गृहमन्त्री सम्हाल्दै आयो । अहिलेको मन्त्रिपरिषद्मा पनि गृह, परराष्ट्र, पर्यटन उद्योग युवा तथा खेलकुद, सामान्य प्रशासन, कृषि, ऊर्जा र भूमिसुधार मन्त्रालय एमालेले सम्हालिरहेको छ । तर, सबैजसो मन्त्री कुनै न कुनै विवादमा तानिएका छन् ।
एमालेले आफ्ना मन्त्रीको हिसाब–किताब राख्ने जिम्मा पार्टीको राजकीय जिम्मेवारी सम्हालेका नेता भीम आचार्यलाई दिएको छ । पार्टीसचिव समेत रहेका आचार्य मन्त्रीहरूको कामको मूल्यांकन गर्दै छन्, अन्तिम प्रतिवेदन बनाइसकेका छैनन् । तर, पनि उनले एमालेका मन्त्रीको काम सन्तोषजनक नभएको टिप्पणी गरे । व्यक्तिगत रूपमा कुनै मन्त्रालयको कामप्रति टीका–टिप्पणी गर्न नचाहेका आचार्यले समग्रमा मन्त्रीका कार्यबाट सन्तोष लिने ठाउँ नभएको प्रतिक्रिया दिए ।
‘मन्त्रीहरूको कामको मूल्यांकनबारे म पछि प्रतिवेदन नै बनाएर पार्टीलाई बुझाउँला । तर, अहिले फलानो–फलानो मन्त्रालय र मन्त्रीको कामबारे म टीका–टिप्पणी गर्दिनँ,’ उनले भने ।
आचार्यले सरकार नै जनताको काम गर्न नसकेको अवस्थामा आफ्ना तर्फबाट मन्त्री बनेकाले पनि काम गर्न नसकेको बताउँछन् । ‘सरकारको काम नै सन्तोषजनक नभएका बेला त्यही सरकारमा सहभागी हुने हाम्रो पार्टीका मन्त्रीको काम पनि कसरी राम्रो हुन्छ त ?’ उनले भने । आचार्य ती नेता हुन्, जसले मन्त्री हुँदा राम्रो काम नगरेको भन्दै एमालेले उनलाई पनि फिर्ता बोलाएको थियो ।
radha gyawaliचुनाव हारे पनि मन्त्री बनाएपछि आलोचना
सुरुमा नै हारेका र सभासद् नै नभएकालाई मन्त्री बनाउँदा एमाले आलोचित हुन पुगेको थियो । त्यो आलोचना सरकार छाड्दा समेत व्यहोर्नुपर्ने अवस्था आयो ।
त्यतिबेला मन्त्रालय सम्हालेका गृहमन्त्री वामदेव गौतम, पर्यटनमन्त्री भीम आचार्य युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र उद्योगमन्त्री कर्ण थापा मात्र सभासद् थिए । भूमि सुधारमन्त्री दलबहादुर राना, कृषिमन्त्री हरिप्रसाद पराजुली, ऊर्जामन्त्री राधा ज्ञवाली, स्वास्थ्यमन्त्री खगराज अधिकारी, सामान्यमन्त्री लालबाबु पण्डित र परराष्ट्रमन्त्री महेन्द्र पाण्डे सभासद् होइनन् ।
पछिल्लोपटक फेरिएका उद्योगमन्त्री महेश बस्नेत र पर्यटनमन्त्री दीपक अमात्य पनि सभासद् होइनन् । मन्त्रीमा बस्नेत र अधिकारी दोस्रो संविधानसभाको निर्वाचनमा सभासद्मा हारेका थिए ।
अन्य मन्त्रीको तुलनामा सभासद् नभए पनि सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भने चर्चामा छन् । डिभी–पिआरधारीको पोल खोल्न सफल भएपछि उनको प्रशंसा भएको छ ।
Hari-Parajuli-6एकपछि अर्को बदनाम

कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारका पालाका मन्त्री यति बदनाम भए कि त्यो इतिहासमै एमालेको दस्तावेज बन्नेछ । २७ माघ ०७० मा सरकार बनेयता यो २१ महिनामा एमाले मन्त्रीले सबैभन्दा बढी बदनामी कमाए ।
एमालेले कार्य सन्तोषजनक नभएर चारपटक त मन्त्री नै फे¥यो । फेरिएका मन्त्रीले पनि सन्तोषजनक काम गर्न सकेनन् भन्ने चर्चा एमालेभित्र र बाहिर बनिरह्यो । अझ पर्यटन तथा संस्कृति मन्त्रालयमा त एमालेले तीन–तीन मन्त्री पठायो । सचिव भीम आचार्य, दीपक अमात्य र कृपाशुर शेर्पा तीन मन्त्री फेरिए । तर, कुनै मन्त्रीले राम्रो काम गर्न सकेनन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पर्यटन बोर्डको सिईओ नियुक्तिमा सचिव आचार्यलाई गत असोजमा एमालेले फिर्ता बोलायो । आचार्यसँगै उद्योगमन्त्री कर्ण थापालाई पनि फिर्ता बोलाइयो । आचार्यको ठाउँमा वरिष्ठ नेता झलनाथ खनालका स्वकीयसचिव दीपक अमात्यलाई पठाइयो । तर उनको पनि काम सन्तोषजनक नभएपछि कृपाशुर शेर्पालाई पठायो । उनीबाट पनि एमाले सन्तुष्ट छैन । शेर्पा नियुक्ति हुँदाहुँदै एक महिलासँग सम्बन्धका आधारमा जन्मिएका छोरालाई नागरिकता नदिएको विवादमा तानिए । जुन एमालेको बैठकमै बहसको विषय बन्यो ।
प्रधानमन्त्री कोइरालाले आफूले राजीनामा गर्नुअघि एकजना मन्त्रीलाई बर्खास्त गरे र अर्कालाई राजीनामा गर्न लगाए । खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले बर्खास्ती हुने डरले राजीनामा दिए भने ऊर्जामन्त्री राधा ज्ञवालीले राजीनामा नदिएपछि बर्खास्तमा परिन् ।
एक सय २० किलोवाटको सोलु करिडोर प्रसारण लाइनको ठेक्कामा अनियमितता गरेको भन्दै ऊर्जामन्त्री ज्ञवालीलाई कारबाही गर्न अख्तियारले प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री कोइरालाले सरकार छाड्नु दुई दिनअघि ऊर्जामन्त्रीलाई बर्खास्त गरे ।
एमालेका लागि अर्को इतिहासमा नराम्रो घटना मानिएको छ, खेलकुदमन्त्री पौडेलले राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिव विवादित मानिसलाई नियुक्त गरेको भन्दै अख्तियारले मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई सिफारिस गर्यो । कोइरालाले पौडेललाई राजीनामा गर्न लगाएका थिए । मन्त्री पौडेलले राखेप सदस्य–सचिवमा केशव विष्टलाई नियुक्त गरेका थिए ।
सचिव आचार्यले सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको कामलाई पनि त्यति प्रशंसा दिएनन् । ‘उहाँको मन्त्रालयमा काम छैन । उहाँले जुन पिआर होल्डरलाई कर्मचारीबाट हटाउन भन्नुभएको छ, त्यो कुनै ठूलो काम भनेर म मान्दिनँ,’ उनी भन्छन्, ‘सरकारमा सहभागी मन्त्रीहरूको प्रतिवदेनले समग्र समीक्षा गर्ने नै छ ।’
BAM DEV GAUTAM.jpg (2)
गृहमन्त्री वामदेव गौतम ट्राफिक नियमको ख्याल नगरी रत्नपार्कको सडकमा डोरी नाघेदेखि नै आलोचित भए । सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी दिएर पनि विवादमा तानिए । नेपाल प्रहरीको हतियार खरिदमा पनि विवादमा तानिए ।
कृषिमन्त्री हरिप्रसाद पराजुली १५ असार धान दिवसको दिन एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा हटाइए । उनको यो हर्कतको चौतर्फी विरोध भयो ।
आचार्यले नाकाबन्दीमा जनतालाई राहत दिन नसक्ने सरकार नालायक भएको बताए । सरकार बलियो भए पनि योजना र लक्ष्यविहीन सरकार भएको टिप्पणी गरे । उनले भने, ‘अनि यस्तो बेला हाम्रा मन्त्रीले कसरी जनताका काम गरे भन्ने ?’
उद्योगमन्त्री कर्ण थापाका ठाउँमा आएका युवा संघका अध्यक्ष महेश बस्नेतले पनि मन्त्रालयको काम राम्रोसँग सञ्चालन गर्न सकेनन् । युवा माझ लोकप्रिय बस्नेतले नराम्रो काम नगरे पनि राम्रो स्मरणीय कुनै काम गर्न सकेनन् । रुग्ण उद्योगलाई उकास्न र बन्द भएको उद्योगलाई खुलाउन उनले कुनै योजना नल्याएको आरोप लाग्यो ।
नेता आचार्यले भूकम्पबाट पुनर्निर्माणको काम गर्नका लागि पुनर्निर्माण गठन गर्न ल्याएको अध्यादेश पनि कार्यान्वयन गराउन नसक्नु सरकारको ठूलो कमजोरी भएको आरोप लगाए ।Purushottam-Paudel
एमालेका अर्का सचिव पृथ्वीसुब्बा गुरुङले तुलनात्मक रूपमा राम्रा आफ्ना मन्त्रीबाट जनताले अनुभूति गर्ने काम नभएको बताउँछन् । ‘हाम्रा मन्त्रीले नीतिगत रूपमा केही गलत गरेको जस्तो लाग्दैन,’ उनी भन्छन्, ‘तर जुन अपेक्षामा पठाइएको थियो । त्यो भने गर्न पक्कै सकेनन् ।’
सचिव गुरुङले नराम्रो काम गर्न थालेपछि मन्त्रिमण्डलबाट फिर्ता गराउने सकारात्मक कामको सुरुवात गरे पनि त्यो सफल हुन नसकेको स्वीकार गर्छन् । ‘हामीले पार्टीको निर्देशन मन्त्रीले मान्नुपर्छ भनेर जसले काम गर्न सकेन, त्यो मन्त्रीलाई फिर्ता बोलाउने सकारात्मक काम गरेका थियौँ,’ उनी भन्छन्, ‘तर, त्यसले झनै पाँच–पाँचपटक मन्त्री फेर्नुप¥यो र फेरिएका मन्त्रीबाट पनि राम्रो काम हुन सकेन ।’
उनी मन्त्रीले आफ्नो स्तर नबुझ्दा पनि कतिपय कामबाट बदनाम हुन पुगेको बताउँछन् ।
श्रेष्ठ अहिलेको अयोग्यतालाई आगामी मन्त्रिपरिषद्ले चिर्ने बताउँछन् । उनी भन्छन्, ‘अहिलेका जस्ता अयोग्य मन्त्री अब बन्ने मन्त्रिपरिषद्मा पठाउँदैनौ । देशको परिस्थितिसँग मुकाबिला गर्न सक्ने योग्य सभासद्लाई पठाउँछौं ।’
केन्द्रीय सदस्य ठाकुर गैरे लालबाबु पण्डितबाहेक अरूको काम जनताले अनुभूति गर्ने खालको नभएको बताउँछन् । ‘सुरुमा मन्त्री हेरफेर गर्ने काम नै राम्रो थिएन,’ उनले भने, ‘फेरिएकाले पनि राम्रो काम गर्न सकेनन् ।’ गैरेले लालबाबुबाहेक अरूको काम मूल्यांकनयोग्य नभएको बताए । ‘कांग्रेसको तुलनामा आमरूपमा एमालेका तर्फबाट सहभागी मन्त्रीले काम गर्न सकेनन्,’ उनले भने ।
सभासद् तथा केन्द्रीय सदस्य भानुभक्त ढकालले एमाले मन्त्रीले त्यति प्रशंसनीय काम गर्न नसकेको बताउँछन् । संविधान बनाउने काममा अहं भूमिका खेलेकाले पनि जनताको काम गर्न नसकेको उनको तर्क छ । ‘संविधान निर्माणमा अप्ठेरो परिस्थितिमा राम्रै काम गरे,’ उनी भन्छन्, ‘तर जनताको काम त्यति प्रशसंनीय गर्न सकेनन् ।’
ओलीले नेतृत्व गरेको सरकार गठन भए एमाले अहिलेका मन्त्रीको दाग हटाउन सक्ने सक्षम नेतालाई मन्त्रिपरिषद्मा पठाउने योजनामा छ ।

0 comments:

Post a Comment