काठमाडौं, असोज २९ । यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार नेपाल र युगाण्डाबीच सम्पन्न खेलमा नेपाल १७१ रनले विजयी भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा २४२ रन बनाएको थियो । २४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको युगाण्डा ३६ ओभर २ बलमा सबै विकेट गुमाएर ७१
रनमा सीमित भयो ।
क्वालालम्पुरको रोयल सेलाङ्गोर क्लबमा भएको खेलमा नेपालका लागि राजु रिजालले शतकीय पारी खेल्दै १०१ रन बनाएका थिए । त्यस्तै आरिफ शेखले ५४ र योगेन्द्र सिंह कार्कीले ३० रन बनाए ।
नेपालका ओपनिङ ब्याट्सम्यान सन्दिप सुनार तेस्रो ओभरमा र सुनिल धमला पाँचौ ओभरमा आउट भएपछि नेपालको सुरुवात धर्मराएको थियो । तर कप्तान राजु रिजालले शतकीय पारी खेल्दै नेपालको इनिङ सम्हालेका हुन् ।
युगाण्डालाई सस्तोमै समेट्ने क्रममा नेपाली बलर दीपेश श्रेष्ठले तीन विकेट लिए भने आरिफ शेख, दीपेन्द्र सिंह ऐरी र प्रेम तामाङले २–२ विकेट लिए । सुनिल धमलाले एक विकेट लिए ।
मलेसियामा जारी प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले हराँउदै नेपालले विजयी सुरुवात गरेको थियो । उता युगाण्डा भने हिजोको खेलमा अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी छन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम आगामी जनवरीमा बंगलादेशमा आयोजना हुने विश्वकप क्रिकेटका लागि छानिने छ ।








0 comments:
Post a Comment