Sunday, 27 September 2015

नेपाली विधार्थीलाई अष्ट्रेलिया: सोचाइ एक भोगाइ अनेक


केही बर्षयता नेपालबाट अष्ट्रेलिया अध्ययनको लागि आउने विद्यार्थीको सख्या ह्वातै बढेको देखिन्छ। अष्ट्रेलियन इमिग्रेसनको पछिल्लो तथ्यांक अनुसार बिभिन्न कलेज र युनिभर्सिटीमा गरि १५ हजार ७ सय १२ नेपाली विद्यार्थीहरू अध्ययनरत छन् जुन संख्यात्मक रूपमा चौथो नम्बरमा पर्छ।
गुणस्तरीय शिक्षासँगै राम्रो आम्दानी अनि उज्वल भविस्यको कल्पना गर्दै अवसरको भूमिमा छिरिसकेका अनि छिर्ने तयारीमा रहेका आमनेपालीको लामै लर्को भेटिन्छ समाजमा। तर नवआगन्तुक विद्यार्थीले जे सोचेर आएका हुन्छन् त्योभन्दा यहाँको भोगाइ र यथार्थ भने केहि फरक देखिन्छ।
१२ कक्षा पास गरेर बिचको ग्याप त्यसै खेर नजाओस् भनेर धेरै नेपाली विद्यार्थीहरू केही न केही सिपमुलक तालिम लिने,आइएल्ट्स गर्ने अथवा ब्रिजकोर्ष गर्ने गर्छन्। यी मध्ये आइएल्ट्स गरेर सुबिधासम्पन्न देशहरुमा पढ्न जाने धेरैको रोजाइ हुनेगर्छ। कतिपयले सबै बुझेर मात्र प्रकृया अगाडि बडाउने गरेतापनि धेरै भने लहैलहैमा लागेर यस्तो निर्णय गर्ने गर्छन्।
सबै प्रकृया पुरा गरेर भिसा अप्लाई गरिसकेपछि सुन्दर भविस्य, अग्ला अग्ला भबन, राम्रो कमाइ र उज्वल भविस्य मात्र दिमागको वरिपरी घुम्ने गर्छ। अष्ट्रेलिया गएर ट्वाइलेट सफा गर्नुपर्छ, भाँडा माझ्नुपर्छ, लेबर काम गर्नुपर्छ अझ भनु परिआएको खण्डमा जे पनि गर्नुपर्छ भन्ने आँकलन केहिले मात्र गरेका हुन्छन्।
आजभन्दा डेढ बर्षअघि सयौं सपना मनमा साँचेर अष्ट्रेलिया हानिएका सुनिल कँडेल भन्छन्, ‘जसरी एउटी आमाको  प्रसवपीडा दु:खदायी हुन्छ तर बच्चा जन्मेपछि त्योभन्दा बढी खुसी मिल्छ त्यसरी नै यहाँ सुरुवाती दिनहरू संघर्षमय भएपनि नआतिएर धैर्यसँगै मिहिनेत गर्ने हो भने यहाँ धेरै अवसर छ।’ सुरूमा नेपालबाट जम्मा एक हजार डलर बोकेर आएका उनले २ महिनासम्म काम पाएनन्। ल्याएको पैसा पनि सकिने अनी नजिकको आफन्त कोही नहुँदा साह्रै गाह्रो भएको अनुभव उनीसँग छ। काम नपाउने कलेज सातामा ४-५ दिन जानुपर्ने भएको बेला कोठाभाडा सकिएर घरभेटिले निस्किए हुन्छ घरबाट भाडा तिर्न नसके भन्दा टिकट काट्ने पैसा खोज्न पाए पनि भोलिनै नेपाल जान्थे भन्न लागेको तितो सत्य लुकाउन सकेनन् उनले।
सुरूमा कामको खोजीमा रेजुमी बोकेर देखेभेटेजती पसल र रेस्टुरा धाएका उनी अहिले भने धेरै हलुका र सहज भएको बताउँछन्। यहाँ बस्दै जाँदा धेरै आफन्त बनाएका उनले अहिले आफूले जस्तो दु:ख अरुले भोग्न नपरोस् भनेर धेरै नबआगन्तुक विद्यार्थीहरुलाई काम कोठा खोज्दिने गर्छन्।
चेलीलाई माइती गाउँको कुकुरपनि प्यारो हुन्छ भने जस्तै विदेशमा नेपाली हो भन्नासाथ आफ्नो जस्तो लाग्छ सबैलाई। सबै त नभनौं तर केही यस्ता मान्छे हुन्छन् जो अरुको सोझोपन र विश्वासलाई लत्याएर फाईदा लुट्न खोज्छन्। यस्तै माकुराको जालमा झन्डै फसेकी थिइन् अनुजा शर्मा।
कामको खोजिमा भौतारिरहेको बेला नेपालबाट उनलाई मामाले फोन गरेर मेरो एकजना साथी छ त्यहाँ उसलाई फोन गर उसले तिमीलाई काम खोज्दिन्छ भनेर भन्नुभएछ र उनले त्यसै गरिन्। बिडम्बना त्यो मान्छेले उनलाई सहयोग गर्छु भनेर आफ्नो कोठामा भेट्न बोलाएर बियर अनी वाइन खाने प्रस्ताव गरेछ। उनी आफू चनाखो भएका कारण त्यहाँबाट भाग्न सफल भइन्। अहिले पनि त्यो मान्छे उनलाई मेरो उद्धेस्य नराम्रो थिएन सरी भान्जी भन्दै माफी माग्ने गर्छ।
आफू मात्र सही भएर यहाँ इज्जत जोगाउन गाह्रो भएको उनी बताउँछिन्। १ वर्ष अघिको त्यो घटनाले उनलाई जिन्दगीमा ठूलो पाठ पढाएको छ। नेपालबाट आउनुअघि उनी आफ्नो दाई अष्ट्रेलियामा छ केही दु:ख हुँदैन भन्ने सोचाइका साथ बसेकी थिइन। तर, दाई पनि आफ्नै काम र पढाइमा ब्यस्त हुने भएकोले सोचेजती सहयोग पाउन सकिनन्। उनी भन्छिन् जे सोच्यो त्यही हुनलाई जिन्दगी जादुको छडि रहेनछ।
राम्रोसँग पढाइ सकेर टन्न पैसा कमाउने अनि बाबाआमालाई खुसी राख्ने सपना बोकेर १ वर्षअघि ड्र्यागन एयरको जहाज चढेर अष्ट्रेलिया हानिएका विकास शर्माको पनि यहाँ केही तितो अनुभव छ। केही आफ्नोमान्छे यहाँ भएको कारण काम र कोठाको भने उनलाई अभाव भएन। आएको केहि दिनमा नै काम पाए। यहाँ पर्मानेन्ट बाहेक अरु कसैको काम निश्चित हुँदैन। आज छ भोलि नहुन सक्छ। त्यसमाथि विद्यार्थीले कानुनत सातामा जम्मा २० घन्टा मात्र काम गर्न पाउँछन्। घरभाडा, ट्रेनको टिकट्, खाना, कलेज फि लगायतका खर्चको कारण पनि थोरै पैसामा धेरै काम क्यासमा गर्नुपर्ने बाध्यता छ। सबैले जस्तै उनले पनि क्यासमा काम गर्थे। बिहान ३ बजे उठेर काममा जानुपर्ने ९ बजे काम सकेर त्यतैबाट कलेज अनि घर आएर दिउँसो १ घन्टा आराम र फेरि साझ काम १० बजेसम्म।
उनको  दैनिकी यही थियो। काममा २ साताको करिब ११ सय डलर जति बोन्ड (धरौटी) राखेको थियो तर कलेजको टाइमटेबल परिवर्तन भएपछि उनलाई काम छोड्नुपर्ने भयो तर कामबाट त्यो धरौटी रकम लिनलाई उनले धेरै पापड बेल्नुपर्‍यो। २ ३ महिना लगाएर त्यो पनि सुन्नै नसक्ने गाली र धम्की दिँदै पैसा फिर्ता दियो खैरेले।
नाम नखुलाउने शर्तमा एउटा केटी साथीले आफ्नो ठूलो समस्या हामिलाई सुनाइन्। नेपालमा नाम चलेको कन्सल्टेन्सीमा बुझ्न जादा उनलाई परामर्श सँगै राम्रो अफर आएछ। परिवारिक अवस्था केही कमजोर भएकी उनले अष्ट्रेलिया गएर आधा फि तिरिदिने अनि जादा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने नक्कली पतीको प्रस्तावलाई स्वीकार गरेर आएकी रहिछन्। सस्तो कलेजमा गयो भने भिसा लाग्दैन भनेर उनलाई कन्सल्टेन्सिले महँगो युनिभर्सिटिमा अप्लाई गर्दियो र भिसापनि छिट्टै आयो। अष्ट्रेलिया आएर केटा आफ्नो आफन्तसँग गएछ अनि केटी कोठा खोजेर साथीसँग बस्न थालिछन्। आएको केहि महिनापछि कलेजको फि तिर्ने बेला उनले केटालाई सम्पर्क गर्न खोज्दा फोन नउठाउने उठाए पनि डर र धम्किमात्र देखाउने गर्न थालेछ।
केहि उपाए नलागेपछि आफ्नो करियर नै धरापमा पार्दै अहिले उनी सस्तो कलेजमा झरेर आफ्नो भिसा जोगाउँदै छिन्। केटा अहिले उसको आफ्नो मान्छेको रेस्टुरेन्टमा ४५७ भिसा हाल्ने तयारी गर्दै छ रे। 
भारतीय मुलका धेरै ब्यापारी अनि कन्ट्र्याक्टरहरू नेपालीहरूलाई प्राय ठग्ने गर्छन्, काम गरेको पैसा नै नदिने दिएपनि थोरै दिने गर्छन्। यसको एउटा नमिठो अनुभव विरेन्द्र कुँबरले भोग्नुभएको छ।
यी त केवल मेरो नजिकका प्रतीनिधि घटना र पात्र मात्र हुन। मैले नदेखेका अनि नसुनेका धेरै दर्दनाक कहानी छन्। अष्ट्रेलिया नामक यस मञ्चमा दिनदिनै धेरै नाटक मन्चन हुन्छन् अनि पात्रहरू पनि अनेक प्रकारका हुन्छन्। फरक यत्ती हो कि निर्देशकहरू क्लाइमेक्स थाहा हुँदाहुँदै पनि त्यो नाटकलाई अन्जान दिएरै छोड्छन्। रंगमंचमा आफू सफल हुन अनि पैसा कुम्ल्याउँन।
विद्यार्थीहरु आफै चनाखो भएर केहि काम गर्नुअघि सोचेर गर्नुपर्छ। नेपालमा भिसा अप्लाई गरेर आउनेबेलासम्मको खाली समय लाई घुम्दै र पार्टी गर्दै भन्दापनि गाडी सिक्ने, कफी तालिम लिने लगायत अन्य सिपमुलक तालिम लिने, इन्टरनेटमा आफू जान लागेको ठाउँ र परिबेश बारे बुझ्ने, यहाँ भएका परामर्शदाता वा आफ्नो भरपर्दो मान्छेसँग सल्लाह गर्ने लगायतका समान्य कुराहरुमा ध्यान दिने हो भने आइपर्ने समस्यालाई धेरै न्युनिकरण गर्न सकिन्छ।

0 comments:

Post a Comment