धर्म
बुद्धलाई एउटा गाउँमा प्रवचनको निम्तो आयो। पहिलो दिन बुद्ध त्यहाँ पुगे र एक शब्द पनि नबोली फर्किए। करिब दुई सय ५० गाउँले थिए त्यहाँ । दोस्रो दिन बुद्ध त्यहाँ आइपुग्दा मात्रै एक सयजति मानिस जम्मा भएका थिए।
बुद्धले भीडलाई एकछिन नियाले र यसपटक पनि एक शब्द नबोली हिँडे। तेस्रो र चौथो दिन पनि त्यस्तै भयो। मान्छे दिनानुदिन घट्दै गए। पाँचौं दिनमा आइपुग्दा त्यहाँ १४ जनामात्रै उपस्थित थिए, तिनैलाई बुद्धले धर्मको मर्म सम्झाए। ती सबै १४ जनाले धर्मलाई बुझे। अन्ततः सबैजना भिक्षु भए । तिनलाई बुद्धले दुःखले आक्रान्त मानिसलाई दुःख मुक्तिको मार्ग बताउन फरकफरक दिशामा पठाए।
जानुअघि एक भिक्षुले सोधे, 'भगवान्, हजुरले अघिल्ला चार दिनसम्म किन केही नबोली जानुभयो ? के कारण थियो?' बुद्धले भने, 'म तिनीहरूसँग मात्रै बोल्न चाहन्थेँ जो साँच्चै धर्म भनेको के हो बुझ्न चाहन्छन् र जीवनमा धर्मको अभ्यास गर्न चाहन्छन् । धैर्यवान् व्यक्तिमात्रै यहाँ बसून् र धैर्य नभएकाहरू जाऊन् भन्ने मेरो चाहना थियो।
भीड जम्मा गरेर धर्मको विस्तार हुँदैन। असल पात्रता भएका मान्छे चाहिन्छ। सतही मान्छे त भीडमा रमिता हेर्न आउँछन्। त्यस्ता मान्छे यताउति गर्छन् र फुत्त निस्केर हिँड्छन्। संसार यस्तै सतही मानिसले भरिएको छ। सयमा एकदुई जना होलान् गहिराइमा पुग्ने र धर्मलाई बुझ्ने।
बुद्ध अद्वितीय व्यक्ति थिए। उनको सोच माथिल्लो कोटीको थियो। राजदरबारमा प्राप्त भौतिक सुखमा उनी सन्तुष्ट हुन सकेका थिएनन्। उनी दुःख मुक्तिको खोजीमा हिँडे र लामो तपस्यापश्चात् जागरण, निर्वाण प्राप्त गरे।
यसका लागि उनले आफ्नै जीवन दाउमा लगाएका थिए। मोक्ष प्राप्तिका लागि साधारण मानिसहरू आफ्नो गरिबीसमेत त्याग गर्न सक्दैनन्, उनले दरबार त्याग गरे। मानवीय हितका लागि मान्छे आफ्ना स्वामित्वका ससाना कुरा पनि दान गर्न सक्दैनन्, बुद्धले शाही जीवनलाई अस्वीकार गरे र भिक्षु भएर बाँचे।
शान्तिको अनिवार्य खोजका लागि बुद्धले अहंकारलाई तिलाञ्जलि दिए र भिक्षामा बाँचे। यसैले त आज अढाई सहस्राब्दी बितिसक्दा पनि बुद्धको सन्देश कसैको बनिबनाउ मिसनबिना स्वतस्फूर्त ढंगले फैलिइरहेको छ।
ती अद्वितीय पुरुष हाम्रै देशमा जन्मेका थिए। बुद्धको सन्देश के थियो बुझेर समस्त विश्वमा फैलाउने जिम्मा पहिला हाम्रो हो।
बुद्ध: एक जागृत व्यक्ति
एक उत्सुक तथा सिर्जनशील बालक थियो। ऊ जे कुरा पनि तत्काल सिक्दथ्यो। उसले बाँसुरी बजाउन सिक्यो। धनुवाण बनाउने कला पनि सिक्यो। डुंगा बनाउन पनि सिक्यो।
घर बनाउन पनि सिक्यो। उसले धेरै कुरा सिक्यो। तर, यसैकारण उसको अहम् बढ्दै गयो। ऊ आफ्ना साथी-सम्बन्धीलाई भन्थ्यो, 'मजस्तो सिपालुर सिर्जनशील अर्को कोही छैन।' एक दिन बुद्ध उसको गाउँमा पुगे र त्यस केटाको बारेमा सुने।
बुद्धले सोचे-यो केटालाई यसले अहिलेसम्म नसिकेको एउटा कुरा सिकाउनुपर्ने भो, कलामध्येमा पनि सबैभन्दा ठूलो कला। बुद्ध उसको घरमा भिक्षाटनका लागि गए।
केटाले बुद्धलाई सोधेछ, तपाईं को हुनुहुन्छ ? बुद्धले भनेछन्, 'म आत्मनियन्त्रणको कलामा पारंगत व्यक्ति हुँ' यो भनेको के हो?' केटाले उत्सुकता जतायो। बुद्धले भने, 'धनुविद्या जान्ने मान्छे धनुर्धर हुन्छ। घर बनाउन जान्ने मान्छेले घर बनाउँछ।
बाँसुरी बजाउन जान्नेले बाँसुरी बजाउँछ। त्यसरी नै बुद्धिमान मान्छेले आफूलाई नियन्त्रणमा राख्छ।' 'कसरी नि? ' केटोले सोध्यो। बुद्धले भने, 'कसैले तारिफ गर्दैमा फुरुंग हुँदैन र कसैले आलोचना वा गाली नै गरे पनि ऊ सदैव शान्त रहन्छ।
बुद्ध सामान्य मान्छे हुनुमै सन्तुष्ट रहे। उनले कुनै अलौकिक अवतार र शक्तिको दावा गरेनन्। आफूलाई मात्र ‘मार्गदाता’का रूपमा चिनाए न कि 'मुक्तिदाता'। अरू सबै धर्मका प्रवर्तक र बुद्धमा भएको तात्विक भिन्नता यही हो।
बुद्धिमान् मान्छे सधैं सन्तुलित हुन्छ, चाहे दुःख होस् या सुख, लाभ होस् या हानि, जित होस् या हार। यस्तो व्यक्ति सदैव शान्त र प्रफुल्ल हुन्छ।' केटालाई थाहा भयो कि ठूलो कला भनेको त आफैंलाई शासन गर्ने कला रहेछ।
जिज्ञासु केटोले बुद्धसँग छिटै आत्मनियन्त्रणको कला सिक्यो। तब उसलाई अनुभूति भयो यो कला सिकेपछि समताभाव विकसित हुँदो रहेछ र आफूलाई अनुकूल या प्रतिकूल जुनसुकै परिस्थितिमा पनि सन्तुलित, सुखी र शान्त राखिरहन सकिँदो रहेछ।
बुद्धलाई आत्म नियन्त्रणको ज्ञान थियो, यसैले उनी सदैव सुखी र शान्त रहन्थे। उनलाई तारिफ र प्रशंसाको कहिल्यै आशा भएन। उनले कसैलाई कहिल्यै आफूलाई भगवान् मान्न र पूजा गर्न भनेनन्।
वास्तवमा उनलाई भगवान्को अस्तित्वमा नै विश्वास थिएन। बुद्धलाई जिसस, मोहम्मद, कृष्णजस्ता अन्य धार्मिक व्यक्तित्वसँग तुलना गर्दा ठूलो अन्तर पाउन सकिन्छ। बुद्धले कहिल्यै आफूलाई ईश्वरको दूत या अवतार भनेर दावा गरेनन्। अम्बेडकरले बुद्धको महानतालाई सुन्दर ढंगले व्याख्या गरेका छन्:
बाइबलमा जिससले आफूलाई 'परमेश्वरको पुत्र' जिकिर गर्दै जोकोही परमेश्वरको राज्यमा प्रवेश गर्न चाहन्छ उसले आफूलाई परमेश्वरको पुत्रको रुपमा नचिनेमा असफल हुने बताउँछन्।मोहम्मद एक कदम अगाडि बढ्छन् र दावा गर्छन् कि उनी अल्लाहको दूत हुन्।
सँगसँगै यो जिकिर पनि गर्छन् कि उनी अल्लाहको अन्तिम दूत पनि हुन्। जिसस र मोहम्मदभन्दा अझ अगाडि पुग्दै कृष्ण ईश्वरको पुत्र, दूत वा अन्तिम दूतमा सीमित हुन अस्वीकार गर्छन् र आफूलाई ईश्वरमात्रै हैन, 'परमेश्वर'का रूपमा दावा गर्छन्।
तथापि बुद्धलाई यस्ता कुनै परिचयको खाँचो परेन। उनी सामान्य मान्छे हुनुमै सन्तुष्ट रहे। उनी आफ्नो सन्देशप्रति ढुक्क थिए। त्यसैले उनले कुनै अलौकिक अवतार र शक्तिको दावा गरेनन्।
बुद्धले आफूलाई मात्र 'मार्गदाता'को रूपमा चिनाए न कि 'मुक्तिदाता'। अरू सबै धर्मका प्रवर्तक र बुद्धमा भएको तात्विक भिन्नता यही हो।बुद्धले मानिसमा व्यापक सम्भावना देखे। हरेक व्यक्तिमा बुद्ध हुने स्वभाव अन्तरनिहित देखे।
यसैले उनले भने, हरेक चराचरहरू बुद्ध हुन्। उनीहरूमात्रै काम, क्रोध र मोहजस्ता मानसिक दोषका कारण आफ्नो बुद्ध-स्वभावलाई महसुस गर्न सकिरहेका छैनन्। मनको शुद्धीकरण हुनेबित्तिकै तिनीहरू बुद्ध नै हुन्, अरू कोही होइन।
मान्छेले ईश्वर वा अरु कुनै बाह्य शक्तिको पूजा गर्नु जरुरी छैन। उसले केवल जागृत हुने कला जान्नु जरुरी छ। ध्यानको माध्यमबाट नै आफूभित्रको अक्षय शान्ति प्राप्त गर्न सकिन्छ। यही शान्तिबाटै विद्वता प्रकट हुन्छ जसबाट जीवन र जगत्लाई 'यथाभूत' देख्न सकिन्छ अर्थात् जीवन जस्तो छ त्यस्तै देख्न सकिन्छ।
अष्टांग मार्गको अनुसरण गर्दै चार आर्य सत्यको अनुभूति हुन थालेपछि व्यक्ति तत्क्षण दुःखबाट निवृत्त हुन्छ र दुःखले आक्रान्त मानवहरूप्रति करुणाभावले ओतप्रोत हुन्छ। ऊ आफूले अनुभूत गरेको दुःख मुक्तिको उपाय बताउन चाहन्छ, मानिसहरूलाई एउटा कौशल बताउन चाहन्छ जसले उनीहरूलाई शान्ति र आनन्दको अवश्यंभावी बाटो देखाओस्।
शील पालना नै धर्म हो
बुद्धका वाणी धर्म हुन्। बौद्ध मार्ग नैतिकतामा आधारित छ। नैतिकता बौद्ध दर्शनका हरेक अभ्याससँग गाँसिएको छ।'बुद्ध एन्ड द फ्युचर अफ रिलिजन' भन्ने आफ्नो प्रख्यात निबन्धमा डा. अम्बेडकर लेख्छन्, 'बुद्धको धर्म भनेको नैतिकता हो। नैतिकता नै धर्मसँग गाँसिएको छ।
बौद्ध धर्म केही पनि होइन यदि नैतिकता छैन भने। यो सत्य हो कि बौद्धमार्गमा सर्वशक्तिमान ईश्वरको अस्तित्व स्वीकार गरिएको छैन। ईश्वरको ठाउँमा नैतिकता छ। अरू धर्ममा ईश्वर जे हो, बौद्धमार्गमा नैतिकता त्यही हो।' आधारभूत नैतिकता या अनुशासन पालन गर्नु बौद्ध धर्म अँगाल्नुहो। बौद्ध दर्शनमा यसलाई शील पालना भनिन्छ।
बुद्धको धर्मलाई सरल रूपमा यसरी बुझ्न सकिन्छ' जीवनमा शुद्धता कायम गर्नु धर्म हो, जीवनको पूर्णता प्राप्त गर्नु धर्म हो, लोभलाई त्याग गर्नु धर्म हो, निर्वाणको स्थितिमा बाँच्नु धर्म हो।
समग्र वस्तुहरू अस्थायी छन् भनी विश्वास गर्नु धर्म हो। कर्म नै नैतिक आचरणको संयन्त्र हो भनी विश्वास गर्नु धर्म हो। संक्षेपमा, मानव जीवन र समस्त जगत् परिवर्तनशील, विकासशील छ। जीवनको दुई फरक क्षणमा व्यक्ति कहिल्यै उस्तै हुन सक्दैन।
बुद्धका अनुसार जीवनको सत्य यही हो। अतः यो परिवर्तनशीलता र विकासलाई समग्र स्वीकार गर्नु नै धर्म हो। विज्ञानको युगका हामीलाई उनको यो विचार अधिक ग्रहणीय लाग्छ। किनभने यसमा लेसमात्र अन्धविश्वासको गन्ध छैन।
सबै कुरा विज्ञानको कसीमा जाँच्न सकिन्छ। बुद्धको धर्मका व्यावहारिक र सैद्धान्तिक दुवै अर्थ छन्। यसलाई वैज्ञानिक ज्ञान र विचारका रूपमा लिन सकिन्छ। बुद्ध दर्शनको सामाजिक महत्त्व पनि बुद्धले भनेको 'धम्म' त्यो बेला प्रचलनमा रहेको 'धर्म'भन्दा आधारभूत रूपमा फरक कुरा थियो।
बुद्धको धर्म तर्कसम्मत ज्ञानमा आधारित छ। बुद्धले मानिस र उसको इच्छाशक्तिलाई सर्वाधिक महत्व दिएका थिए। बुद्ध सबैभन्दा इमानदार भएर मान्छेको सम्भावनामा विश्वास गर्थे र त्यसलाई प्रोत्साहित गर्थे।
यदि वास्तवमै महान् मान्छेको मूल्य सम्पूर्ण मानवको मूल्य विकास गर्नुमा रहन्छ भने ऊ महान्भन्दा पनि महान् व्यक्ति कहलिन योग्य हुन्छ। बुद्धले आफूभन्दा माथि कसैलाई राखेर आफूलाई तल पार्नुको साटो प्रज्ञा र प्रेमलाई मानवीय मूल्यको उच्चतम आदर्श मानेका छन्।
बौद्ध दर्शन अझ गहिरो ढंगले बुझ्न बौद्धमार्गका आधारभूत पद्धतिको ज्ञान हुनु आवश्यक छ। 'जगत्का सबै वस्तु अस्थायी छन्' भन्ने विचार बुद्धिजमको एउटा महत्वपूर्ण विचार हो।अस्थायित्वको यो विचारलाई व्याख्या गर्दै अम्बेडकर भन्छन्— अस्थायित्व विचारको एउटै नैतिक पक्ष प्रस्ट छ, संसारका कुनै वस्तुप्रति आशक्ति नराख। यो विचारले संसारका सबै चिज, सम्पत्ति, मित्र आदिबाट समेत अनाशक्तिको बीजारोषण गर्छ। यी सबै कुरा अस्थायी छन्।
नैतिकताको महत्वका कारणले नै बुद्धले नैतिक मूल्यलाई ईश्वरको स्थान दिएका हुन्। अनि यो नैतिक मूल्य कर्मको नियमबाट दिगो रहन्छ। अभौतिक शक्ति, ईश्वर, आत्मा आदिमा विश्वास गर्नु, त्याग, धार्मिक पुस्तक अध्ययन, स्नान आदिको महत्व दर्शाउनु धर्म होइन।
बुद्धको धर्मलाई बौद्धमार्गीले सद्धर्मको रूपमा पनि बुझ्ने गर्छन्। सद्धर्मको कर्म भनेको मनको मैलो फ्याँकेर शुद्धीकरण गर्नु हो र संसारलाई सत्यप्रेमी बनाउनु हो। धर्मले प्रज्ञाको विकास गर्नुपर्छ।
कोरा अध्ययनमात्रै पर्याप्त छैन, चाहिने कुरा भनेको प्रज्ञा हो। प्रज्ञामात्रै पनि पर्याप्त छैन, यसले शील विकसित गर्नुपर्छ। धर्म त्यतिखेर सद्धर्म हुन्छ जब यसले प्रज्ञा र शीलभन्दा पर करुणा अनि करुणाभन्दा पनि आवश्यक मैत्रीको पाठ सिकाउँछ।
सद्धर्म हुनका लागि धर्मले समाजमा विद्यमान सबै बन्धन भत्काउनुपर्छ, मानिस र मानिसका बीचमा रहेको अवरोध हटाउनुपर्छ, यसले बताउन सक्नुपर्छ कि मूल्यले न कि जन्मले मानिसको मूल्यांकन हुन्छ। यसले मानव-मानवबीच समानताको प्रवद्र्धन गर्न सक्नुपर्छ।
मैत्री निश्चय पनि मानवको महानतम् विशेषता हो जसलाई बुद्धले आफ्नो धर्मको शिखरमा राखे।अम्बेडकर बुद्धलाई उद्धरण गर्दै अगाडि भन्छन्, 'प्रिय भिक्षुगण, मैत्री जीवनभर प्रवाहित भइरहनुपर्छ।
यो नै तपाईंहरूको पवित्र आदर्श होस् जसले तपार्इंहरूको मस्तिष्क धर्तीजस्तै अटल रहोस्, वायुजस्तै स्वच्छ रहोस् र गंगा नदीजस्तै गहिरो होस्। यस्तो भएमा मात्रै तपाईंहरूको मैत्री जस्तोसुकै नराम्रो कुराबाट पनि विचलित हुनेछैन। जसले कसैलाई हानि पुर्याउँछ ऊ यात्राबाट पाखा पर्छ।
वास्तविक धर्ममा हुने भनेकै प्रज्ञा र करुणा हुन्। करुणा भनेको प्रेम हो। 'करुणाबिना समाज न जीवन्त हुनसक्छ न विकास हुनसक्छ। यसैले गर्दा बुद्धले यसलाई धर्मको दोस्रो मञ्जिलका रूपमा राखेका हुन्।'
अन्य धर्ममा मुख्य कुरा ईश्वर, आत्मा, प्रार्थना, पूजा, रीतिरिवाज, त्याग आदि हुन्छन्। नैतिकता भन्ने कुरा मान्छे र मान्छेका बीचको सम्बन्धको बेलामात्रै आउने गर्छ; जुन बेला मान्छे आफ्ना मान्छेसँग व्यवहार गर्न आउँछ।
'नैतिकता धर्ममा दोस्रो आयामका रूपमा आउँछ, शान्ति र पद्धतिको विकास हेतु।' यसप्रकार, बौद्ध धर्ममा नैतिकता जहिल्यै अगाडि आउँछ। नैतिकता नै धर्म हो र धर्म नै नैतिकता हो। धर्ममा प्रार्थना, तीर्थाटन, रीतिरिवाज र कर्मकाण्डको कुनै स्थान छैन। नैतिकता नै धर्मको सार हो।








0 comments:
Post a Comment