बीबीसी
चण्डीगढमा बस्ने शिखा मोंगा त्यतिबेला १९ वर्षकी थिइन् जब उनले बलिउड स्टार ऋतिक रोशनसँग ‘डेट’ जाने सपना राखेर कोकाकोला कम्पनीको एउटा प्रतियोगितामा भाग लिएकी थिइन्।
अहिलेसम्म १५ वर्ष वितिसक्यो। तर शिखा मोंगाको अनुसार कम्पनीले ऋतिकसँग भेटाइदिने वाचा अहिलेसम्म पुरा गरेको छैन।
शिखाका साथीहरुले पनि ऋतिकसँग भेट नभएको विषयमा उनको खिल्ला उडाउने गर्थे।
अहिले शिखाले चण्डीगढको एउटा अदालतमा ऋतिक रोशनसँग ‘डेट’ गराइदिने आफ्नो वाचा पुरा नगरेको आरोप लगाउँदै कोकाकोलाविरुद्ध मुद्दा दायर गरेकी छिन्। उनले कोकाकोलाले आफूलाई साढे २ करोड रुपैँया क्षतिपुर्ति दिनुपर्ने पनि माग गरेकी छिन्।
‘ऋतिकसँग भेट्दिन’
शिखा मोंगाले कोकाकोला कम्पनीसँग अब कुनै किसिमको सम्झौता नगर्ने बताएकी छिन्।
अदालतले आफूले दाबी गरेको क्षतिपुर्तिको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने अदालती नियम शिखाको हकमा छुट गरिदिएको थियो।
३४ वर्ष भइसकेकी शिखा अब ऋतिक रोशनलाई भेट्न चाहन्नन्।
उनले बीबीसीलाई भनिन्, “अदालतले त्यसरी छुट दिँदा उनलाई विश्वासै लागेन र उनी एकदमै खुशी भइन्। म कम्पनीविरुद्ध आउँदा दिनका लडाईँ लड्न तयार छु। तर ऋतिक रोशनलाई भेट्ने अब मेरो कुनै ईच्छा छैन।”
उनले भनिन्, “मलाई याद छ प्रतियोगितामा भाग लिनको लागि चाहिने टोकन पाउन म दैनिक दुईदेखि तीनवटा कोकाकोला पिउने गर्थेँ।”
‘वर्षौं भोगेँ अपमान’
१५ वर्षअगाडि शिखाले कोकाकोला कम्पनीले आयोजना गरेको प्रतियोतियामा पहिलो पुरस्कार जितेकी थिइन्।
प्रतियोगिता जित्नेलाई ऋतिक रोशनसँग एउटा रोमान्टिक डिनरमा पठाउने कोकाकोलाले वाचा गरेको थियो।
शिखाका बुवा रवि मोंगा भन्छन्- न मेरी छोरी अब १७/१८ वर्षकी रहिन् न नै ऋतिक रोशन नै कुनै स्टार रहे। त्यसैले ‘रोमान्टिक डेट’को कुनै मतलब छैन।
“हामीले यतिका वर्षमा धेरै अपमान भोगेका छौं। हामी ढिला हुनुको कारण बुझ्न सक्छौं। तर हामीलाई न्यायको पनि अपेक्षा छ।”
उनले भने, “अमेरिकाको बहुराष्ट्रिय कम्पनी कोकाकोलालाई लागेको थियो कि उसले गलत तरिकाले भारतीयलाई धोखा दिनसक्छ र उसलाई यो पनि लागेको थियो कि उसले भारतीय कानुनबाट छुटकारा पाउनसक्छ। तर त्यस्तो होइन। हामी उनीहरु जत्तिनै जागरुक छौं र गलत काम गर्नेलाई सजाय दिन हाम्रो कानुन निकै बलियो छ।”
शिखाका वकिल सन्तोष सिंहले मुद्दा चलाउने अनुमति अदालतले दिइसकेको बताए। अदालतले कम्पनीलाई जवाफ दिन अगस्ट २४ तारिखसम्मको मिति तोकेको छ।








0 comments:
Post a Comment