
तिनै सहिद रामनाथकी पत्नी हुन् विश्वेश्वरा दाहाल। प्रधानमन्त्री ओलीसँग ०२५ सालदेखि विश्वेश्वरा नजिक रहेकी छन्। उनीसँग गएिको कुराकानीका आधारमा !!!
रामनाथ दाहालजीसँग मेरो विवाह ०२५ सालमा भयो। विवाह भएर घर आउँदा केपी ओली त्यहीँ हुनुहुन्थ्यो । उहाँलाई खड्ग भन्थे । रामनाथजीले केपी भाइलाई ०२२ सालमै घरमा ल्याउनुभएको थियो रे । धेरैले केपी ओलीलाई रामनाथले काम गर्न राखेको गोठालो भनेर पनि भने । तर, यो कुरामा कुनै सत्यता छैन । उहाँलाई रामनाथजीले पढाउन राख्नुभएको हो ।
त्यतिवेला रामनाथजी र केपीको नितान्त राजनीतिक सम्बन्ध थियो । रामनाथजी आफू अगाडि देखा नपर्ने, सबै काम केपीमार्फत गर्न चाहनुहुन्थ्यो । ‘म नेतृत्व गर्दिनँ, केपी तिमी गर, किनभने साथीभाइ पक्राउ परे रामनाथ भिड्नुपर्छ, खर्चबर्च चाहियो रामनाथ नै भिड्नुपर्छ,’ रामनाथजी भन्नुहुन्थ्यो, ‘मलाई प्रशासनले समात्यो भने बर्बाद हुन्छ, त्यसैले तिमीले नेतृत्व गर्नुपर्छ ।’
केपी ओलीको त्यतिवेला शरीर ख्याउटे थियो । उहाँ चार–वर्षको हुँदा आमा बित्नुभएको रहेछ। आमा बितेपछि उहाँले राम्रो पोषण पाउनुभएन, त्यही भएर शरीर ख्याउटे भएको थियो होला। कहिलेकाहीँ रामनाथजीले मलाई भन्नुहुन्थ्यो, ‘यी छोराछोरीको दूध अलि–अलि काटेर केपीलाई खुवाउनुपर्यो, उसलाई अलिक बलियो बना न।’ रामनाथजी मादल, तबेला, हार्मोनी, बाँसुरी बजाउनुहुन्थ्यो । केपीले पनि सिक्नुभयो । शरीर ख्याउटे भए पनि केपी ओली त्यतिवेला अत्यन्त चलाख हुनुहुन्थ्यो । तुक्का जोडेर हँसाउनुहुन्थ्यो।
०२७ मा रामनाथजी पक्राउ पर्नुभयो उहाँलाई देशद्रोही भनेर थुनामा राखियो। गाउँ पञ्चायतको कार्यालय अनारमनीमा थियो। त्यहाँ केपीकै नेतृत्वमा नारायण संग्रौला, तुलसा दाहाललगायत आठ–दश जना मिलेछन् र पञ्चायतमा सामन्तले प्रधानपञ्चसँग बसेर गरेको छलफल सुनेछन्। कसरी हुन्छ एउटा लिखत बनाएर रामनाथजीलाई जेलमै सडाउने खालका कुरा सुन्नुभएछ। त्यतिवेला मोहन राजवंशी प्रधानपञ्च थियो । ऊ घर फर्किंदै रहेछ, केपीहरूले पिट्नुभएछ । मर्यो भनेर पानीमा पनि फालेछन् । घरमा खाना खाएपछि मैले उहाँहरू सबैलाई लुक्न जान भनेँ। त्यतिवेला सबैले एउटै थालमा खानुभएको थियो । केपीले चाहिँ म दही खान्छु भनेर अलग्गै पनि खानुभयो। उहाँहरू हिँडेको १५ मिनेट पनि भएको थिएन, प्रहरी आइपुग्यो। प्रधानपञ्चले नै भनेका रहेछन्, उनी बाँचेका रहेछन् । त्यसपछि केपीहरू एक महिनाजसो छलिएर बस्नुभयो।
एक दिन प्रहरीले खोलाको किनारमा उहाँहरूलाई देखेछ। घेरा हालेछ। घेरा हालेपछि केपीबाहेक सबै समातिए। केपीचाहिँ तमोरमा हाम फाल्नुभएछ। पौडी खेल्न आउँदो रहेछ। तमोरमा हाम फालेको कुरा सुनेपछि ज्यान खोजिपाऔँ भनेर हामीले प्रशासनमा मुद्दा हाल्यौँ। त्यसको केही दिनपछाडि किसानहरूले रामनाथजीलाई जेलबाट निकाले। उहाँलाई केपीबारे हामीले केही सुनाएका थिएनौँ। तर, जेलबाट छुटेर आएकै दिन एउटी छिमेकीले ‘केपीलाई त प्रहरीले मारेर तमोरमा फ्याँकेछ नि’ भनेर सुनाइदिइन्। उहाँ घरभित्रै नपसी हिँड्नुभयो। राति फर्केर आउनुभयो। मैले ‘के रहेछ त कुरा’ भनेर सोधेँ। उहाँले ‘तिमीलाई धेरै कुरा किन चाहियो, मान्छे सुरक्षित छ, तर हामीले बाहिरभन्दा तमोरमा प्रहरीले फ्याँक्यो नै भन्नुपर्छ’ भन्नुभयो। हामीले पनि त्यही भन्यौँ । पछि बीच–बीचमा केपी आउनुभयो। आएका वेला रेडियो ठूलो स्वरमा घन्काएर सुन्नुहुन्थ्यो।
प्रशासनले टाउकोको मोल तोकेपछि रामनाथजी कहिले पहाडतिर, कहिले कता बस्ने गर्नुभयो। एकदिन कसले घरमा म बिरामी भएको भन्ने व्यहोराको पत्र पठाएछन्। उहाँ आउनुभयो । आमाहरू रुनुभयो । आमाहरूले कर गरेपछि उहाँ भारत जान राजी हुनुभयो । धान थन्क्याउने काम सकिएपछि केपीलाई पनि भेटेर केही कुरा भनेर जान्छु भन्नुभयो । त्यसको भोलिपल्ट बेलुका केपी पनि आउनुभयो । बिहान दुवै जना निस्कनुभयो । उहाँहरू निस्कनासाथ पुलिसको भ्यान आइपुग्यो । उहाँ हुनुहुन्न भनेपछि गाडी फर्काएर लग्यो । केही तल नपुग्दै गाडी रोकियो । म पनि त्यही ठाउँ पुगेँ । अघिअघि रामनाथजी, पछिपछि केपी हात उठाउँदै आउँदै गरेको देखेँ । प्रहरीले माथिबाट बन्दुक सोझ्याइसकेको थियो । उहाँले केपीलाई भाग भाग भन्ने संकेत गर्दै हुनुहुन्थ्यो । केपी मधेसी गाउँतिर भाग्नुभयो, रामनाथजीलाई समाते । ०२९ फागुन २१ मा त उहाँलाई सुखानीको जंगलमा लगेर हत्या गरे ।
रामनाथजी पक्राउ परेपछि केपी पनि भूमिगत हुनुभयो । त्यसपछि त लामो समयसम्म भेट नै भएन । पछि केपी पनि पक्राउ पर्नुभयो । जेलमा राधाकृष्ण मैनाली, नारद वाग्ले, मोहनचन्द्र अधिकारीहरू पनि हुनुहुन्थ्यो । आरके, नारद वाग्लेहरूलाई भेट्न उहाँहरूको परिवार गइरहन्थ्यो । उहाँहरूबाटै म केपीका बारेमा थाहा पाउँथे । जेलबाट केपी भाइले चिठी पनि पठाउनुहुन्थ्यो । धेरैजसो चिठी हुलाकबाटै आउँथे । चिठीमा प्रायस् सन्चो–बिसन्चोका मात्र कुरा हुन्थे । जेलरले नजाँची चिठी पठाउन सकिँदैनथ्यो, त्यो भएर अरू कुरा त लेख्ने कुरै भएन । उहाँसँग धेरै पछि भद्रगोल जेलमा भेट भयो । त्यसअघि पनि भेट्न चाहन्थेँ, तर सकिनँ । पोखरा जेलमा हुँदा उहाँको फोटो मगाएकी थिएँ । उहाँले दाह्री पाल्दाको समयको रहेछ, अहिले पनि त्यो फोटो मसँग छ ।
०३७ सालतिरको कुरा हो । छोरो भुवनलाई पढाउन काठमाडौं राखेकी थिएँ । राष्ट्रिय वाणिज्य बैंकमा तुलसी उप्रेती काम गर्नुहुन्थ्यो । म आउँदा तुलसीकोमै बस्थेँ नक्सालमा । केपीको सम्पर्कमा रहेछन् उनी । उनले दिदी त यतै आउनुभएको छ भनेपछि जसरी हुन्छ मलाई भेट गराइदिनुु भन्नुभएछ । मलाई भान्जालाई भेट्न मन छ, भुवनलाई पनि ल्याइदिनु भन्ने खबर पठाउनुभएको थियो । छोरो भुवनलाई लिएर म भद्रगोल जेल गएँ । जेलरले भेट्न दिएन । निकै कर गरेपछि छोरालाई चाहिँ भित्र लगिदियो । धेरै बेरमा बाहिर आयो । बिस्कुट लिएर आयो ।
परबाटै भए पनि एकचोटि हेर्न त दिनु भनेर मैले निकै कर गरेपछि परबाट हेर्न दिइयो । परपरैबाट देखेँ । परपरबाटै कुरा पनि भयो । देख्नासाथ भावुक भइयो । गाला ठूला, फोक्से मासु लागेको देखेँ । देख्नासाथ बिमारी भएको सहजै अनुमान लगाएँ । ‘तपार्इं बिमारी पर्नुभएको थियो’ भनेर पनि सोधेँ । ‘टिवी भएछ, अहिले ठीक भयो,’ भन्नुभयो ।
उहाँले जेलबाट छुटेपछि विवाह गर्नुभएछ । विवाह गरेको पनि निकै समयपछि मलाई भेट्न झापा नै जानुभयो । मकहाँ एक–दुई दिन बसेर फर्किनुभयो । काठमाडौंमा पाटनमा बस्नुहुन्थ्यो । ‘काठमाडौं आएपछि मकहाँ नै बस्नुपर्छ है’ भन्नुभयो । म आउँदा कहिलेकाहीँ जान्थेँ पनि ।
केपी चाहे पार्टी अध्यक्ष भएको दिन होस्, चाहे प्रधानमन्त्री भएका दिन होस्, ममा खुसीको सीमै रहेन। दुवै दिन छोराहरूको दुध कटाएर पनि केपीलाई दे, भविष्यको नेता यही हो भनेर रामनाथजीले भनेको सम्झिएँ। मान्छेहरू ‘खोइ त तँलाई केपीले के दियो, तैले के पाइस् त’ पनि भन्छन् । सबै कुरा एकैचोटि दिनुपर्छ भन्ने पनि छैन, मैले लिनुपर्छ भन्ने पनि छैन । मान्छे समय र परिस्थितिको दासी हो । समयले सबै कुराको निर्धारण गर्दै जान्छ । प्रधानमन्त्री भएपछि पनि उहाँले फोन गर्नुभएको थियो । ‘प्रधानमन्त्री हुनुभयो, वरपरका मान्छेको चंगुलमा भेट्ने अवसर पर्याप्त नरहला, धेरैले तपाईसँग अपेक्षा गरेका छन् । काम भएका मान्छेलाई बीचका मान्छेबाट टाढा पार्ने काम नहोस् है’ भनेको थिएँ । ‘अँ, ठीक छ’ भन्नुभयो ।
पछि, एक दिन म उहाँलाई भेट्न गएँ, छोरालाई लिएर । भेट पनि भयो, पारिवारिक छलफल भयो । तर, वर्तमान समस्याबारे छलफल भएन। साभार : नयाँ पत्रिकाबाट |








0 comments:
Post a Comment