Tuesday, 29 September 2015

तेल मागेर साथीको बिहेमा गइन् केकी


नयाँ संविधान जारी भएसँगै भारतले नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दीले अहिले देशमा डिजेल र पेट्रोलको समस्या देखिएको छ । यो समस्याका कारण सवारी साधन धनीहरु लामो लाइन बसेर सिमित तेल भर्न वाध्य छन् । भारतको अघोषित नाकाबन्दीपछि नयाँ विकल्प पनि खोजिदैछ । तर, काठमाण्डौ लगायत देशभरका पेट्रोल पम्प अगाडि सवारी धनीको लामो लाइन देखिन्छ । निर्माता बनेका संगीतकार चेतन सापकोटाले आजबाट चलचित्र ‘भाग् सानी भाग्’को एक गीतको छायांकन सुरु गरेका छन् । गीतमा अतिथी कलाकारको रुपमा रमेश उप्रेती, सरोज खनाल, जीवन लुइटेल देखिदैछन् । 



बालाजु ल्याबमा भव्य सेट लगाएर उनले छायांकन सुरु गरेपनि डिजेल नपाउँदा समस्या सुरु भएको छ । बेलुकी ल्याबमा विजुली जाने भएकाले पनि रातीको छायांकनका लागि उनी दिनभर तेल खोज्न नै दौडिरहेका छन् । उनले भने-‘कलाकारसँग बल्ल समय मिलाएको छु । छायांकन सर्‍यो भने बालाजु ल्याबमा लगाएको छायांकन सेट कि भत्काउनु पर्‍यो, कि दैनिक पैसा तिर्नुपर्‍यो ।’ उनले तेलको केही जोहो भएपनि २ दिनका लागि छायांकन गर्न पुग्ने तेल नहुने हो कि भन्ने पिरलोले सताएको बताए । आजबाट छायांकनमा जाने भनिएको चलचित्र ‘क्लासिक’को पनि छायांकन सुरु हुन सकेन । यसको मुख्य समस्याको रुपमा तेल समस्यालाई नै लिइएको छ । निर्माता सुवास गिरीले तेलको समस्याका कारण छायांकन सुरु गर्न नसकेको बताए । उनले छायांकन सुरु गरेर तेल समस्या भयो भने झनै घाटा हुने भन्दै तेल समस्याका कारण आजबाट छायांकनमा जान नसकेको बताए । 

आर्यन सिग्देल, नम्रता श्रेष्ठको मुख्य भूमिका रहने चलचित्रलाई भ्यालेन्टाइन डेमा प्रदर्शन गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । असोज १ गतेबाट छायांकनमा गएको नायिका रेखा थापाको चलचित्र ‘रामप्यारी’लाई पनि अब डिजेल अभाव हुने देखिएको छ । निर्देशक सविर श्रेष्ठले केही दिनका लागि तेल भएपनि आपुर्ती सहज नभए छायांकन प्रभावित हुन सक्ने बताए । उनले भने-‘समस्या आजसम्म छैन, अब ४-५ दिनमा पनि यस्तै समस्या भएको खण्डमा गाह्रो हुन्छ ।’ जेनेटरदेखि गाडी कुदाउन तेल चाहिने भएकाले समस्या पर्ने छनक देखिएको सविरले बताए । यता नायिका केकी अधिकारीले तेल नहुँदा खुबै समस्या भएको बताइन् । उनले भनिन्-‘एकातिर त जोर र विजोरले ठूलो समस्या पारिरहेको छ । फेरि, तेल नहुँदा काम गर्न पनि सकिएको छैन ।’ उनले आफू आइतबार नायिका रीमा विश्वकर्माको बिहेमा निर्माता चेतन सापकोटासँग १ लिटर तेल मागेर गएको पनि सुनाइन् । भारतको अघोषित नाकाबन्दीको समस्यामा अहिले सिंगो देश त परेकै छ । नेपाली चलचित्र क्षेत्र पनि यसबाट अछुतो बन्न सकेको छैन ।

0 comments:

Post a Comment