Monday, 21 September 2015

सबै जनता यो खुशीयालीमा सहभागी हुन नसक्नु चिन्ताजनक : डा. भट्टराई


काठमाडौं, असोज ४ । नेपालको संविधान २०७२ जारी भएपछि सामाजिक संजाल फेसबुक तथा ट्वीटरमा नेताहरु, संचारकर्मी लगायतले विभिन्न खालका प्रतिक्रिया व्यक्त गरेका छन् ।
एमाओवादी नेता डा. बाबुराम भट्टराईले ट्वीट गर्दै ‘एक युगको अन्त्य र नयाँ युगको विधिवत सुरुवात भएको ऐतिहासिक दिन, देशका सबै भूभागका जनता यो खुशीयालीमा सहभागी हुन नसक्नु/नपाउनु चिन्ताजनक’ भएको बताएका छन् ।
त्यस्तै एमाले नेता प्रदीप ज्ञवालीले ट्वीट गर्दै लेखेका छन्, ‘लोकतन्त्र निम्ति संघर्षको यात्रा पुरा भएको छ र नयाँ यात्रा सुरु भएको छ– समृद्धि र सबल राष्ट्र निर्माणको । आउनुहोस् नयाँ यात्राको तयारी गरौं ।’
राजनीतिक विश्लेषक मुमाराम खनाल लेख्छन्, ‘समावेशीता र धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब थप अधिकारहरु शान्तिपूर्ण र रचनात्मक ढंगले माग्न सकिन्छ ।’
पूर्व मन्त्री तथा राजनीतिक विश्लेषक निलाम्बर आचार्यले ट्वीट गर्दै ‘नयाँ युगको गणना शुरु भइसकेको छ । नबिर्सौं, पुरानो बानीले नयाँ युग निर्माण हुँदैन । नयाँ भविष्य बन्दैन’ भनेका छन् । उनले लेखेका छन्, ‘सोच र बानी सुधारौं, काम गरौं, अघि बढौं ।’
पत्रकार परशु घिमिरेले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्दा गरेको ढोग अर्थपूर्ण छ । विशेषगरी मधेसले उनको भावना बुझोस् ।’
अर्का संचारकर्मी सुरेन्द्र पौडेल लेख्छन्, ‘भारतले नयाँ संविधान जारी भएकोमा नेपाली जनतालाई बधाई दियो तर संविधानको स्वागत गरेन । यसलाई भन्छन् २१ औं शताब्दीको अहम् कुटनीति ।’

0 comments:

Post a Comment