Saturday, 19 September 2015

देशबासीका नाममा राष्ट्रपतिको 'छु्ट्टै संबोधन'


Image copyrightbbc
Image captionनेपालका प्रथम राष्ट्रपति रामबरण यादवले छुट्टै संबोधन गर्ने बताइएको छ
राष्ट्रपति रामवरण यादवले संविधानसभामा संविधान घोषणा गरेपछि सम्बोधन गर्ने कार्यतालिका नभएका कारण उनले देशबासीका नाममा छुट्टै सम्बोधन गर्ने उनका एकजना सल्लाहकारले बताएका छन्।
संविधानसभाको नियमावली अनुसार संविधानसभामार्फत राष्ट्रपतिले केवल संविधान घोषणा सम्बन्धी लिखित अनुसूची मात्र पढ्ने प्रावधान रहेको बताइएको छ।
भोलि राष्ट्रपति यादवले संविधान जारी भएको घोषणा गरेपछि उनले संविधानसभामा सम्बोधन गर्ने या नगर्ने भन्नेबारे केही अन्यौल देखिएको थियो।
तर संविधानसभामा संविधान घोषणा गर्ने बाहेक सम्बोधनको कुनै कार्यक्रम नरहेको आफूले जानकारी पाएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।
वाचन
उनले भने, “मलाई संविधानसभाका महासचिवज्यूले दिनुभएको जानकारी अनुसार उहाँले पहिला हस्ताक्षर गर्नुहुन्छ त्यसमा राष्ट्रपतिको छाप लाग्छ त्यसपछि उहाँले त्यो अनुसुचीको वाक्यलाई सभासमक्ष वाचन गर्नुहुन्छ।”
पछिल्ला हप्ताहरुमा संविधानसभाका सभामुख सुवास नेम्वाङ प्रधानमन्त्री सुशिल कोइराला तथा अन्य कतिपय नेताहरुसँग राष्ट्रपतिको सम्बन्धमा चिसोपना आएको बताइन्छ।
कतिपयले सोही कारणले गर्दा नयाँ संविधानको घोषणामा राष्ट्रपतिको भूमिकालाई सिमित तुल्याइएको आंकलन गरेका छन्।
संबोधन
सल्लाहकार दाहालले संविधान घोषणा गरेर फर्किएपछि राष्ट्रपतिले राष्ट्राध्यक्षका रुपमा उचित समयमा देशबासीलाई सम्बोधन गर्ने बताए।
उनले भने, “त्यो मञ्चमार्फत राष्ट्रपतिले देशवासीको नाममा सम्बोधन गर्न नपाए पनि गणतान्त्रिक नेपालको संविधान घोषणा भएको खुशियालीमा उहाँले अवश्य पनि अर्को कुनै माध्यमबाट अर्को कुनै घडीमा सम्बोधन गर्नु नै हुन्छ।”
संविधानसभा सचिवालयले नियमावली उल्लेख गर्दै संविधानको घोषणाको मात्र प्रावधान रहेकोले राष्ट्रपतिको छुट्टै सम्बोधनको कार्यक्रम नरहेको जनाएको छ।

0 comments:

Post a Comment