काठमाडौँ, ६ असोज / राष्ट्रिय लिग फुटबल प्रतियोगितामा मोफसलको टोली झापा फुटबल क्लब लिगको शीर्ष स्थानमा रहेको छ । विभिन्न नौ टोलीले भाग लिएको उक्त प्रतियोगितामा ११ खेल पूरा गरेको झापा फुटबल क्लब १८ अङ्कका साथ लिगको शीर्ष स्थानमा रहेको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब १७ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ भने १६ अङ्क जोडेको थ्रीस्टार क्लब भने तेस्रो स्थानमा छ । त्यसैगरी, मोफसलको अर्को टोली सुदूरपश्चिमाञ्चल फुटबल क्लब १४ अङ्कका साथ चौथो स्थानमा छ भने समान १४ अङ्क नै जोडेको सशस्त्र प्रहरी बल (एपिएफ) गोलअन्तरका आधारमा पाँचौँ स्थानमा छ ।
गत वर्षको लिग लिडर मनाङ मस्र्याङ्दी क्लब छैटौँ, नेपाल प्रहरी क्लब सातौँ, लुम्बिनी फुटबल क्लब आठौँ र मोरङ फुटबल क्लब लिगको नवौँ स्थानमा छन् । मनाङको नौ, प्रहरीको आठ र लुम्बिनीको ६ अङ्क रहेको छ । सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताअन्तर्गत भोलि विभिन्न स्थानमा चार खेल हुनेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दुई खेल हुनेछन् भने झापा र मोरङमा समान एक÷एक खेलको आयोजना हुनेछ ।
सातदोबाटोमा भोलि मध्याह्न १२ः३० बजे सुदूरपश्चिमाञ्चल फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच खेल हुनेछ भने दोस्रो खेल दिँउसो १५ः३० बजे लुम्बिनी फुटबल क्लबले नेपाल प्रहरी क्लबको सामना गर्नेछ । उक्त प्रतियोगिताको खेल हेर्ने दर्शकका लागि भिआइपी प्यारापिटतर्फ रु ४०० र साधारण प्यारापिटतर्फ रु २०० टिकट दर तोकिएको एन्फाले जनाएको छ ।
त्यसैगरी, झापामा त्रिभुवन आर्मी क्लबले घरेलु टोली झापा फुटबल क्लबको सामना गर्नेछ भने मोरङमा लुम्बिनी फुटबल क्लब र मोरङ फुटबल क्लबबीच खेल हुनेछ । होम एन्ड अवेका आधारमा सञ्चालित उक्त प्रतियोगिताको विजेता टोलीले रु एक करोड पुरस्कार प्राप्त गर्नेछ ।रासस








0 comments:
Post a Comment