काठमाडौँ, ८ असोज । गर्भपतनले कानुनी मान्यता पाएको १३ वर्षको अवधिमा सात लाख ५१ हजार ६९४ ले मात्र गर्भपतन सेवा लिएका छन् ।
मुलुकी ऐनको ११ आँै संशोधनमार्फत स्वास्थ्य मन्त्रालयले २०५९ असोज १० गतेबाट सो सेवा सुरुवात गरेको थियो । गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ, बलात्कार वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ वा गर्भपतन नगराएमा महिलाको ज्यानमा खतरा हुनसक्ने खतरा भएमा जुनसुकै समयमा पनि महिलाको मञ्जुरीमा गर्भपतन गराउन सकिने व्यवस्था रहेको छ ।
प्रथम सुरक्षित गर्भपतन सेवाका दिवसका अवसरमा मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार ३८ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको ज्ञान रहेको छ । “अनिच्छित गर्भ रोक्न परिवार नियोजनः आवश्यक परेमा सुरक्षित गर्भपतन” भन्ने नारा प्रथम सुरक्षित गर्भपतन सेवा दिवसको रहेको थियो ।
कुल मातृमृत्युमध्ये सात प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनका कारणले हुने गरेको छ । अर्काेतर्फ १०० गर्भवती महिलामध्ये आठ जना महिलाले गर्भपतन गराउँदछन् । गर्भवती महिलामध्ये २५ प्रतिशत महिलाले नचाहँदा नचाहँदै गर्भवती हुने गरेका मन्त्रालयले जनाएको छ ।
महाशाखाका निर्देशक प्रा डा पुष्पा चौधरीले सबै जिल्लामा सुरक्षित गर्भपतनका सेवा सञ्चालनमा आइरहेको जानकारी दिँदै यसलाई परिवार नियोजनको विकल्पका रुपमा नबुझ्न आग्रह गर्नुभयो ।
स्त्रीरोग विशेषज्ञसमेत रहेकी प्रा डा चौधरीले भन्नुभयो– “सुरक्षित गर्भपतन सेवा अकालमा मातृमृत्युलाई रोक्नका लागि आएको हो, यसलाई अन्य दृष्टिकोणबाट हेरिनु हुँदैन ।”
महाशाखाका आमा सुरक्षा कार्यक्रमका प्रमुख प्रा डा शिलु अर्यालले महिलाको प्रजनन अधिकारलाई सुरक्षित बनाउन सुरक्षित गर्भपतन सेवाले टेवा पु¥याइराखेको बताउनुभयो ।
चालु आवको बजेटमा सरकारले सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवालाई निःशुल्क दिने घोषणा गरेको थियो । औषधिद्वारा गरिने, चिकित्साद्वारा गरिने गरी दुई विधिमार्फत गर्भपतन सेवा सञ्चालनमा रहेको छ । क्षेत्रबाट ८०९ स्वास्थ्य संस्था गर्भपतन सेवाका लागि सूचीकृत भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले कार्यक्रममा मातृ मृत्युदरमा कमी ल्याउन सुरक्षित गर्भपतन सेवाको कार्यक्रम सञ्चालन हुँदै आएको स्पष्ट पार्दै भ्रूण (लिङ्ग) पहिचान गरी गर्भपतन गराउन नदिन मन्त्रालयले अनुगमन बनाएको जानकारी दिनुभयो ।
मन्त्री अधिकारीले जनताको रगत, पसिनाद्वारा नयाँ संविधान आएको हुँदा अनेक कोणबाट यसलाई असफल बनाउने तत्व आफँै बिलाएर जानेछन् भन्नुभयो । रासस









0 comments:
Post a Comment