Tuesday, 22 September 2015

‘भगवान कसम, म पहिलोपटक यति धेरै खुसी भएँ’

८ वर्ष कुरेपछि  नेपालीले संविधान पाउने पक्का भैसकेको छ। तरल राजनीतिका कारण मुलुक घटनामय भएपनि  प्रगतिको बाटोमा गति पक्रन नसकेको बेला संविधान जनतालाई राहत भएको छ।    बुधवार साँझ लामो प्रतिक्षा पछि आउन लागेको संविधान पारित हुँदै थियो। यो वर्षको तिजको दिन पनि थियो त्यो। संविधान आउने पक्का भएपछि सामाजिक सञ्जाल यसको पक्षविपक्षका तर्कले भरिए।

त्यसैबेला,अभिनेत्री केकी अधिकारीको फेसबुक स्टाटस देखा पर्‍यो,‘नेपालको संविधान २०७२ दुई तिहाई मतले पारित। ऐतिहासिक दिन। व्रत सफल भएझैँ भयो।’तीजको त्यो साँझ धेरै नेपालीको जस्तै कलाकारहरुको ध्यान पनि संविधानसभामा तानियो।संविधान आउने भयो तपाईंलाई कस्तो लागेको छ भन्ने सेतोपाटीको प्रश्नमा केकीले भनिन्,‘महिलाहरुको वर पुरा भएको छ,’  
पहिलो संविधानसभाले संविधान ल्याउन नसकेपछि सभासदहरु झुकेका शिर लिएर हिँडेको उनले पनि देखेकी थिइन्। दोस्रो संविधानसभाका सभासद्हरु भने त्यसरी हिँड्नु परेन। संविधान पारित भएपछि उनीहरुको अनुहार उज्यालो भएको केकीले टिभिमा हेरेकी थिइन्। ‘सभासदहरुमा देखिएको खुशी सायद दिनभर व्रत बस्ने लाखौं महिलाहरुको कामनाको फल हो।’ उनले भनिन् ,‘अझ भनौं महिलाहरुको आध्यात्मिक शक्तिको प्रभाव हो ।’उनी आफैँ पनि पानीमात्र खाएर दिनभर व्रत बसेकी थिइन्।
एमाओवादी नेता पुष्पकमल दाहालसँग नाचेर होस या सभासद् बन्छु भन्दै भाषण गरेर राजनीतिलाई गरम बनाउन  बेलाबेला आइपुग्ने अभिनेत्री रेखा थापा पनि कम्ति खुसी भइनन्।‘भगवान कसम म पहिलोपटक यतिधेरै खुसी भएँ’ राजनीतिमा आफ्नो भविष्य खोजिरहेकी रेखा थापा खुसी नहुने कुरै भएन।
यो संविधान आउने दिन घरमा दिपावली गर्ने सोच थियो उनको। ‘सरकारले नै बिदा दियो। त्यसले अझै खुशी थपेको छ ।’ रेखाले भनिन्।
नेपाली कलाकारहरु राजनीतिसँग कति नजिक छन् भने, पहिलो संविधानसभाबाट संविधान नबनेपछि केही कलाकारहरुले किरिया गरिदिएका थिए।हाँस्यकलाकार केदार घिमिरे, सिताराम कट्टेलले कपाल खौरिए र कुञ्जना घिमिरेले र सेतो वस्त्र मात्र लगाएनन् एक छाक पनि छोडेका थिए। धन्न यसपाली भने उनीहरुले त्यसो गर्नुपरेन।
धुर्मुस अर्थात् कट्टेल संविधान पारितको खबरले खुब खुसी भए। उनलाई लाग्छ भूकम्पले हल्लाएर धेरैको विजोग भए पनि नेताहरुको बुद्धि सफा भएको छ। ‘भूकम्पले नेताहरुमा सद्बुद्धी दिएकाले नेपालीले यो खुशी पाएका हुन्’ उनको तर्क छ।
राष्ट्रियताले कलाकारलाई छिटै छुन्छ। यससँग जोडिएको राजनीतिले नछुने कुरै भएन, त्यसैले त गायक प्रमोद खरेलले संविधान जारी हुने दिन नै ‘म सहिद भएँ रे आमा...’ बोलको गीत सार्वजनिक गर्दै छन्।संविधान पारित हुँदै गर्दा खरेलले इतिहासतर्फ फर्केर सोचे रे।
‘६५ वर्षअघि बीपी कोइरालाले जनताको संविधान जनताले आफैँ लेख्न पाउनुपर्छ भन्दै गरेको वकालत अहिले पुरा भएको छ,’ उनले भने,‘दोस्रो जनआन्दोलनपछि मात्र होइन ६५ वर्षअघिदेखिको माग पुरा भएकाले खुसी नहुने को होला?’
नेपालको राजनीतिसँग कलाकारहरु यसरी जोडिएका छन् कि उनीहरुको सिर्जनाले हरेक परिवर्तनमा उत्साह थप्छ। पञ्चायत विरुद्ध कविता लेखेर र नाटक गरेर सडक तताउने नाट्यकर्मी अशेष मल्ल ‘नेपालको संविधान २०७२’ प्रगतीशिल  भएको ठान्छन्।
उनले सेतोपाटीसँग भने,‘यो संविधान पारित भएपछि वर्षौंदेखिको दासत्वबाट हामी जनताले  मुक्ति पायौँ झैं लाग्यो। अपवाद बाहेक सबै नागरिकको अधिकार स्पष्टसँग सुनिश्चित गरिएको छ त्यसैले यो सबैलाई मिल्ने संविधान हो।’
पहिचान र धर्मको बहस भने उनले रुचाउँदा रहेनछन्।
‘पहिचान र धर्म कसैले लेखिरहनु पर्दैन। यो आफैं बन्ने कुरा हो । यस क्षणमा सबै कुरा भुलेर खुशी मनाऔं’ उनको आग्रह छ।कलाकार हरिवंश आचार्यको भनाईमा नयाँ संविधान बन्नु भनेको नयाँ घरमा सर्नु जस्तै हो। ‘अन्तरिम संविधान डेराजस्तो हो र नयाँ संविधान आफ्नै नयाँ घरजस्तो हो। डेराबाट आफ्नै घरमा सर्दा जस्तो अनुभुति हुन्छ मलाई त्यस्तै भयो’ उनले भने।
यी सबै कलाकारले राजनीतिक दल र नेताहरूको प्रशंसा गरे। ‘८ वर्षपछि फर्किएको खुसी’लाई सकारात्मक मान्नुपर्ने उनीहरुको विचार छ ।आचार्यकै मतमा नाट्यकर्मी अशेष मल्ल पनि सहमति जनाउँछन्। उनी त अझ पहिलेका नराम्रो राजनीति सम्झेर नेतालाई गाली गरिहाल्ने पक्षमा छैनन्।भन्छन्,‘राजनीतिक हिसाबले हाम्रो समाज पहिलेदेखि नै विकृत भएकाले नेताहरू यसबाट कसरी मुक्त होउन् र? तैपनि देशै थिलथिलो परेको यस क्षणमा संविधान दिने नेतालाई धन्यवाद दिन्छु ।’
संविधान पारित हुँदा टेलिभिजनमा लाइभ हेरिरहेका प्रमोद खरेलको मनमा त्यो दिन उज्याला अनुहार भएका नेताहरुप्रति सम्मान भाव जाग्यो। उनी पनि यस क्षणलाई सकारात्मक भएर हेर्नुपर्ने मत राख्छन्।
केकी अधिकारीले त राजनीतिलाई खराब खेल नठान्न सबैलाई आग्रह गरेकी छिन्। ‘खाली बाहिर बसेर हेर्दा त नेता खराबै हो भन्ने लागे पनि त्यो ठाउँमा पुगेपछि गाह्रो पक्कै होला! त्यसैले राजनीति खराब खेल हो भन्ने मानसिकता आजैबाट परिवर्तन गरौं।’रेखा पनि केकीको विचाारमा सहमत छिन्।कलाकारहरुले तराईमा भइरहेको असन्तोष प्रति भने चिन्ता व्यक्त गरे। नयाँ संविधानमा सकेसम्म उनीहरुलाई पनि सन्तुष्ट बनाउन यी सबै कलाकारको जोड छ।
‘सदनमा देखिएको खुशी प्रत्येक नागरिकमा पुगोस् र उनीहरुमा पनि यस्तो खुशी सधैं देख्न पाइयोस्’ कट्टेलले भने।‘मधेशका कुरा अझै समस्याका रुपमा छन्। उनीहरुमा पनि चाँडै खुसी देख्न पाइयोस्।’ अभिनेत्री थापाले भनिन्।नयाँ संविधानले सबैलाई उत्साहित, केही चिन्तित र आशावादी बनाएको छ। हरिवंशको पीर भने नेता धेरै भए भन्नेमा रहेछ।उनले ठट्यौलीगरे, ‘अहिलेसम्म हाम्रोमा जनताभन्दा नेता धेरै भए। नयाँ संविधानले यस्तो परिपाटीलाई उल्ट्याएर नेता कम गराओस्।’
‘नेपालको संविधान २०७२’ असोज तीन गतेबाट कार्यन्यवन हुँदैछ ।

0 comments:

Post a Comment