Thursday, 24 September 2015

भारतीय राजदूतले गलत सूचना दिए : प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट नयाँ संविधान निर्माणदेखि तराई–मधेसमा जारी आन्दोलनप्रति नेपालका लागि भारतीय राजदूत रन्जित रेले भारतीय प्रधानमन्त्रीलाई गलत सूचना दिएको गुनासो गरेका छन्।
नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन नयाँ दिल्ली पुगेर बुधबार बिहान काठमाडौं फर्केलगत्तै प्रधानमन्त्री कोइरालालाई भेट्न बालुवाटार पुगेका राजदूत रेलाई दुई देशबीचको सम्बन्धमा आँच पुग्नेगरी सूचना सम्प्रेषण नगर्न प्रधानमन्त्रीले आग्रह गरे।
कोइरालाले नेपालमा संविधान निर्माण भएकोमा विदेशमन्त्री सुष्मा स्वराज सकारात्मक रहे पनि दूतावासको गलत सूचनाका कारण भारतीय सरकार पछि हटेको राजदूत रेलाई सुनाए। ‘तपाइँहरुबाट यस्तो विज्ञप्ति आउला भन्ने सोचेको पनि थिइन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘नेपाल भारतसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ। सम्बन्धलाई कसरी राम्रो बनाउन सकिन्छ हामी त्यसमा दृढ छौँ।’
आपसी असमझदारी र तिक्ततालाई हटाउँदै दुई देशबीचको सम्बन्ध सुमधुर बनाउँदै अघि बढ्न भारत सरकार सधैँ तयार रहेको प्रधानमन्त्रीसँगको भेटमा राजदूत रेले आश्वासन दिएका थिए। तराईमा जारी आन्दोलनप्रति चासो र चिन्ता व्यक्त गर्दै राजदूतले वार्ता र संवादबाट समाधान खोज्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे। रेले हिंसाबाट होइन वार्ताबाट समस्या समाधान खोज्न आग्रह गरे।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले राजदूत रेले दिल्लीमा भएको भेटघाटबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको जानकारी दिँदै सकारात्मक कुराकानी भएको बताए।संविधान आउनु अघिदेखि नै मधेसमा आन्दोलन छ, मधेसी समुदायलाई मिलाएर लैजाने प्रधानमन्त्रीको प्राथमिकता भएकाले संयुक्त राष्ट्रसंघको बैठकमा नजाने निर्णय गर्नुभएको हो, भट्टराईले भने, देशको आन्तरिक अवस्थालाई मध्यनजर गर्दै उहाँले नजाने निर्णय गर्नुभयो। अाजकाे  नागरिक दैनिकमा खबर रहेकाे छ ।

0 comments:

Post a Comment