Friday, 11 September 2015

अमेरिकाद्वारा नेपाललाई तीन करोड २० लाख रकम अनुदान घोषणा


ललितपुर, २५ भदौ । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडीले आज एक समारोहबीच नेपाललाई तीन लाख बीस हजार अमेरिकी डलर करिब  तीन करोड २० लाख  रहेको ‘एम्बेसेडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन’ अनुदान दिने घोषणा गर्नुभएको छ ।
राजदूत बोडीले नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने पूर्वसन्ध्यामा घोषणा गरिएको अनुदान रकम वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेका ललितपुर तथा काठमाडौँका ऐतिहासिक स्थलको संरचनागत मूल्याङ्कन, स्थिरीकरण र पुनःनिर्माण कार्यमा सघाउन उक्त रकम दिइएको बताउनुभयो । उक्त रकम आज काठमाडौँ उपत्यका संरक्षण कोषलाई हस्तान्तरण गरेको हो ।
सो अवसरमा राजदूत बोडीले दुई दशकभन्दा लामो समयदेखि अमेरिकी दूतावासले नेपालको प्राकृतिक विपत्को प्रभावलाई न्यून गर्ने प्रयत्नलाई सघाउँदै आइरहेको बताउनुहुँदै काठमाडौँ दरबार र पाटन दरबार क्षेत्रका पुनःनिर्माणसम्बन्धी पहलकदमीले विश्वकै सर्वाधिक महत्वपूर्ण केही ऐतिहासिक सहरी स्थलको संरक्षणमा मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिकी विदेश मन्त्रालयको एम्बेसेडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन कार्यक्रम निर्देशक मार्टिन पेश्लरले सांस्कृतिक सम्पदाको सन्दर्भमा भूकम्प तथा अन्य प्राकृतिक विपद्पछिको पुनरोत्थान अवधि लामो हुन सक्ने सङ्केत गर्नुभयो ।
नेपालका सांस्कृतिक सम्पदाको पुनरोत्थानसम्बन्धी प्राथमिकता तथा लक्ष्यलाई सम्मान गर्दै सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
सन् २००३ यता एम्बेसेडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनले २२ लाख अमेरिकी डलर करिब रु २२ करोड भन्दा बढी नेपालको सांस्कृतिक सम्पदाको जगेर्नाका लागि लगानी गरेको जनाइएको छ ।

0 comments:

Post a Comment