काठमाडौं- व्यवस्थित भएपछि अहिले राजधानीको पुरानो पार्क रत्नपार्क धेरैको समय कटाउने ठाँउ बन्दै गएको छ। बिहान ८ बजे खुले पनि रत्नपार्क घुम्न आउनेको चाप भने १० बजेपछि मात्र बढ्न थाल्छ। निकै भीडभाड र व्यस्त हुन थालेको रत्नपार्कमा युवादेखि जेष्ठ नागरिकसम्म सुखदुःखका कुरा गर्दै समय बिताउने गर्छन्।
भोजपुरकी ३१ वर्षीया आशा राई ५ वर्षीया छोरी श्रेयासँग रत्नपार्क घुम्दै गरेकी भेटिइन्। चौथोपल्ट राजधानी आएकी आशालाई ओइलाएको रत्नपार्क अहिले सुन्दर देख्दा अचम्म लाग्यो। आफूले दुई वर्षअघि मात्र मान्छेको कोलाहल, उजाड र अव्यवस्थित देखेको रत्नपार्क सम्झँदै उनले भनिन्, 'मलाइ रत्नपार्क यति सुन्दर र व्यवस्थित बन्ला भन्ने लागेकै थिएन। अहिले त रत्नपार्कले मलाइ पूर्वी सहर धरानको घण्टाघर सम्झायो।'
पार्कमै भेटिएका नयाँ बानेश्वर बस्ने नवलपरासीका २३ वर्षे सबिन खड्का पनि रत्नपार्कको फेरिएको स्वरुप देखेर दंग परेका छन्। फुटपाथे व्यापारीले भद्रगोल बनेको रत्नपार्क देख्दा साथीसँग एकछिन कुरा गर्ने ठाँउ नभेटेका उनले गएको असार १५ मा फेरि खुला भएपछि साताको एकपल्ट रत्नपार्क नपसी चित्तै बुझ्दैन।
चौतारा, पिङ, पोखरी, मेचलगायतले पार्क आकर्षक बनाएको छ भने सल्ला, धूपि, आँप, सुपारी, कपुर, कांगियोलगायत २५ भन्दा बढी प्रजातिका बोटबिरुवा र ढकमक्क फुल्ने थरिथरिका फूलले पार्कको सौन्दर्य निकै बढाएको छ।
पार्कको आनन्द लिन सर्वसाधारणले २५ रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ भने विद्यार्थीले १५ रुपैयाँ तिरे पुग्छ। जेष्ठ नागरिक र शारीरिक रुपमा अशक्तका लागि भने पार्क प्रवेश निःशुल्क गरिएको छ। अहिले दैनिक रत्नपार्क घुम्न जानेको संख्या ९ सयको हाराहारीमा छ। असार १५ मा सर्वसाधारणका लागि खुला गरिएको रत्नपार्कमा असार मसान्तसम्म १५ दिनमा १४ हजार ४ सय जना प्रवेश गरेको रत्नपार्क–रानीपोखरी एकाइ प्रमुख हरिशरण केसीले बताए।
केसीका अनुसार गएको साउनमा ३० हजार ८ सय १२ जनाले रत्नपार्क घुमे। तीमध्ये २३ हजार १ सय ३१ सर्वसाधारण, ७ हजार ५ सय २० विद्यार्थी, १ सय १५ जना जेष्ठ नागरिक र ४६ जना शारीरिक अशक्त व्यक्ति पार्क घुम्न गएका छन्। पार्क घुम्न जानेबाट ६ लाख ९१ हजार ७५ रुपैयाँ आम्दानी एकाइले गरेको छ।
मर्मतसम्भार गर्न २०७१ वैशाखमा पार्क प्रवेशमा रोक लगाइएको थियो। 'हरियाली काठमाडौं' अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाले पार्क व्यवस्थित बनाएपछि अहिले खुला गरिएको हो। तत्कालीन राजा महेन्द्रले रानी रत्नका नाममा २०२१ सालमा निर्माण गरेको पार्क ४२ रोपनी क्षेत्रफलमा फैलेको छ।
रत्नपार्क र रानीपोखरी व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले २२ कर्मचारी खटाएको छ। तर पार्कमा पानी पर्दा ओत लाग्ने ठाउँ भने छैन। एकाइ प्रमुख केसीका अनुसार पानी पर्दा पार्कमा ओतलाग्ने ठाँउ र भोजनालयको राख्ने तयारी भइरहेको छ।








0 comments:
Post a Comment