Thursday, 4 August 2016

पालै पालो प्रधानमन्त्री पद ग्रहण गर्नु बाहेक अरु केहि दिन सकेन नेपालमा गणतन्त्रले ! ९ वर्षकाे बीचमा ९ वटा प्रधानमन्त्री बदलिए तर मुलुक र जनताकाे जीवनमा कुनै बदलाव अाउन सकेन ।


काठमाडौँ - दश वर्षे जनयुद्धको जगमा उठेको ०६२–६३ को जनआन्दोलनले नेपालमा अढाई सय वर्षको राजतन्त्र गयो र गणतन्त्रको स्थापना भयो ।

नेपालमा गणतन्त्रको स्थापना भएको पनि अहिले ९ वर्ष पूरा भएछ । कस्तो संजोग भने यही ९ वर्षमा नेपालीले ९ वटा प्रधानमन्त्री देख्नु प¥यो ।



०६४ को चैतमा सम्पन्न भएको पहिलो संविधानसभा र संविधानको पहिलो बैठकले गणतन्त्र घोषणा ग¥यो । गणतन्त्र घोषणापछि दश वर्षे जनयुद्धको विरासतबाट आएको माओवादी पहिलो पटक ठूलो पार्टीको रुपमा निर्वाचित हुन पुग्यो ।

हो त्यही पहिलो संविधानसभाबाट गणतन्त्र स्थापना भयो । त्यो बीचमा कांग्रेसले माओवादीलाई सरकार हस्तान्त्रण नगरेकोले गिरिजाप्रसाद कोइराला ४ महिना प्रधानमन्त्री बने ।

त्यही समयदेखिको अहिलेसम्म आउँदा नेपालमा ९ प्रधानमन्त्री फेरिए, ९ वर्षमा ।

गणतन्त्र स्थापनापछिको ९ वर्षमा सुरुमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ०६५ वैशाखदेखि भाद्रसम्म ४ महिना सरकार चलाए ।

गिरिजाप्रसाद कोइरालापछि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बने । उनले ०६५ भाद्रदेखि ०६६ को वैशाखसम्म सरकार संचालन गरे ।

तर तत्कालीन प्रधानसेनापति रुगमांगत कटुवालको प्रकरणमा प्रचण्डले ९ महिनामै प्रधानमन्त्रीबाट राजिनामा दिए ।

प्रचण्डपछि नेकपा एमालेका तर्फबाट तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपाल ०६६ को वैखाशमै प्रधानमन्त्री बने । यो बेला उनलाई भारतको आर्शिवाद पाएर प्रधानमन्त्री बनेको तत्कालीन एमाओवादी र प्रचण्डले आरोप लगाएका थिए ।

माधव कुमार नेपाल प्रधानमन्त्रीको कुर्सीमा २० महिना बसे र उनले ०६८ को मंसिरमा राजिनामा दिए र उनको ठाउँमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री बने ।

माधव नेपालपछि प्रधानमन्त्री बनेका खनालले जम्मा २०४ दिन अर्थात् ६ महिना मात्र काम गर्ने समय पाए ।

झलनाथपछि तत्कालीन एमाओवादीका तर्फबाट डा.बाबुराम भट्टराई गणतन्त्र नेपालको पाँचौ प्रधानमन्त्री बन्न पुगे । उनी ०६८ भदौं देखि ०७० को असारसम्म प्रधानमन्त्रीको कुर्सीमा बसे ।

बाबुरामले प्रधानमन्त्रीमा रहेर काम गरेको समय ५६३ दिन अर्थात् १८ महिना काम गरे ।
बाबुरामपछि दलबिनाको प्रधानमन्त्रीका रुपमा खिलराज रेग्मी प्रधानमन्त्रीको हैसियतमा ०७० को असारमा मन्त्रीपरिषदको अध्यक्षमा सिंहदरवारमा प्रवेश गरे ।

खिलराजले ३३४ दिन अर्थात् १२ महिना प्रधानमन्त्रीको रुपमा काम गरे । उनले ०७० असारदेखि ०७१ को जेठसम्म काम गरे ।

मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको पालामा दोस्रो संविधानसभा निर्वाचन भयो । त्यो निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्न पुग्यो । र कांग्रेस प्रधानमन्त्रीको रुपमा सुशील कोइराला आए । उनले ०७० पुषदेखि ०७२ असोज काम गरे । उनले ३० महिना काम गरे ।

सुशील कोइरालापछि प्रधानमन्त्रीको पदमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ०७२ असोजमा पदभार ग्रहण गरे उनले ०७३ को साउनसम्म काम गरे । उनलाई भारतको डिजाइनमा प्रधानमन्त्रीको कुर्सीबाट ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाइएको एमाले नेताहरको आरोप छ ।

केपी ओलीले एक वर्षअघि असोजबाट अहिलेसम्म प्रधानमन्त्रीको कुर्सीमा जम्मा ११ महिना काम गर्न पाए ।

केपी ओलीपछि सिंहदरवारको प्रधानमन्त्रीको कुर्सीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको दोस्रो पटक प्रधानमन्त्री बन्न पुगेका छन् ।

यसरी देशमा ९ वर्षकाे बीचमा ९ वटा प्रधानमन्त्री बदलिए तर मुलुक र जनताकाे जीवनमा कुनै बदलाव अाउन सकेन ।

यसलाई वाम राजनीतिक विश्लेषकहरुले संसदीय व्यवस्था नेपालका लागि असफलसिद्ध भएको तर्क राख्दछन् ।

0 comments:

Post a Comment