Tuesday, 12 April 2016

२०७२ साल नेपालीका लागि अन्तिम दिनसम्म पनि अलच्छिन साबित रह्यो !!


काठमाण्डु, ३० चैत– भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन, विमान दुर्घटनालगायतका घटनाले २०७२ साल मुलुकका निकै अलच्छिना सावित भयो । जुन क्रम सालको अन्तिम दिन अर्थात चैत ३० गतेसम्म पनि जारी रह्यो र खोटाङमा २३ जनाको अनायासै ज्यान गयो (यो समाचार तयार पार्दासम्म) ।



जसका कारण ०७२ साल इतिहासमै सबैभन्दा बढी उथलपुथल भएको वर्ष बन्यो । सालको सुरुवातमै वैशाख २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो ।

यस वर्षको सुरु मै वैशाख १२ गते मध्याह्न करिब ११ बजेर ५६ मिनेट जाँदा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति पुर्यागयो । भूकम्पबाट आठ हजार ८५६ जनाको ज्यान गयो भने २२ हजारभन्दा बढी घाइते भए । भूकम्पपछिको पुनःनिर्माण हुन नसक्दा अझै भूकम्पको घाउ ओइलाएको छैन ।

त्यतिमात्र होइन गर्मीयाम सुरु भएसँगै तराईका विभिन्न जिल्लामा भीषण आगलागीका घटना भए । गत हप्तामात्र काठमाण्डु र सोमबार दाङको देउखुरीमा भीषण आगलागी भयो । जसका कारण करिब १५० बढी घरगोठ जलेर नष्ट भए ।
विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनका अनुसार भूकम्पबाट ६.७ खर्ब रूपैयाँ बराबरको भौतिक क्षति भयो । त्यसपछि नाकाबन्दीका कारण देशलाई अर्बौ घाटा भयो । नाकाबन्दीका कारण ग्यास जस्तो उपभोग्य बस्तु अझै सहज हुन सकेको छैन ।

कैलालीमा भएको थारु आन्दोलन र संविधानको विरोधमा मधेसमा भएको आन्दोलनमा सुरक्षाकर्मीसहित करिब ५५ जनाले ज्यान गुमाए ।


त्यसैगरी पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा आफ्नै निवासमा असामयिक निधन भयो । राति एम्बुलेन्स नपाएर कोइरालालाई ५०० मिटर नजिकको अस्पतालमा लैजान सकिएन ।

भूकम्प, नाकाबन्दी र आन्दोलनको पीडामा देश डुबिरहेका बेला म्याच फिक्सिङ प्रकरणले पनि धेरैलाई रुवायो । विगत लामो समयदेखी देशले विश्व फुटबल क्षेत्रमा व्यहोरेको लज्जास्पद हारको कारण थाहा पाएपछि विश्वसामू नेपालको शिर निहुरिन पुग्यो ।

फागुन १२ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको निधन भयो । त्यसैगरी नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटना हुँदा दुई चालकले ज्यान गुमाए । तीर्थाटनमा आएका केही भारतीय पनि सडक दुर्घटनामा मारिए ।

अन्य कैयौँ सामान्य घटना, दुर्घटना भए । देशले आर्थिक भार व्यहोर्नुपर्यो । यी र यस्तै घटनाका कारण २०७२ साल इतिहासकै अलच्छिन सावित भयो ।

आशा गरौँ २०७३ सालले सबैमा नयाँपन महसुस गर्ने अवसर प्रदान गर्नेछ । भूकम्प पछिको पुनःनिर्माण हुनेछ, नाकाबन्दी पछिको अवस्था सामान्य बन्नेछ र संविधान कार्यान्वयन देखि देश संघीयताको ढाचामा जानेछ । अनि सबैले ७२ सालको यस दुःखद् घडीलाई बिर्सन सक्नेछन् । काठमाण्डु टुडेको तर्फबाट नव वर्ष २०७३ सालको सबैमा शुभकामना ।
kathmandutoday

0 comments:

Post a Comment