Friday, 19 February 2016

मलेसियाले तत्कालका लागि नेपालीसहित विदेशी कामदार नलिने


मलेसिया, फागुन ७ – मलेसियाका उपप्रधानमन्त्री डा. अहमद जाहिद हामिदीले विदेशी कामदार नलिन रोजगारदातासँग आग्रह गर्नु भएको छ ।

गृहमन्त्री समेत रहेका हामिदीले विदेशी कामदारको सट्टा स्थानीय कामदारलाई प्राथमिकता दिन रोजगारदातासँग आग्रह गर्नुभएको मलेसियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


उहाँले नेपाल, बंगलादेशसहित अरु विभिन्न देशबाट तत्काल कामदार नलिने निर्णय सरकारले गरेको पनि बताउनुभयो । शुक्रबार सैनिक अधिकारीसँगको भेटपछि उहाँले भन्नुभयो, ‘हामी सबै रोजगारदातालाई स्थानीय कामदार लिन आग्रह गर्दछौं ।’

सरकारले विदेशी कामदारसँग लिँदै आएको लेवी वापतको रकम बढाउने निर्णय तत्काल कार्यान्वयन नगर्ने भएकाले त्यसको सट्टा विदेशी कामदार लिन बन्द गरिने भएको उपप्रधानमन्त्री हामिदीले जानाकरी दिनुभयो ।

यस्तै मलेसियामा गैरकानूनी रुपमा बस्दै आएका विदेशी कामदारलाई पक्राउ गरेर उनीहरुको देश पठाइने पनि उहाँले बताउनुभयो ।

मलेसिया नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मुलुक हो । तर पछिल्लो समय असुरक्षा र आम्दानी घट्न थालेपछि नेपाली कामदार मलेसिया जानेक्रम घट्दै गएको छ ।

अहिले मलेसियामा आठ लाख भन्दा धेरै नेपाली कामदार रहेका छन् । मलेसिया सरकारको यो निर्णयले त्यहाँ जाने तयारीमा रहेका नेपालीलाई पनि प्रभाव पार्ने छ ।

0 comments:

Post a Comment