Thursday, 11 February 2016

यु–१९ विश्वकप : नेपाललाई नामिबियाद्वारा २२६ रनको लक्ष्य प्रस्तुत !!


ढाका, माघ २८ । आइसीसी यु–१९ विश्वकप क्रिकेट अन्तर्गत सातौं स्थानको प्लेअफमा नेपालले नामिबियाबाट २२६ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४५ ओभरमा घटाइएको म्याचमा ९ विकेटको क्षतिमा २२५ रन बनाएको हो ।

नामिबियाका लागि लोहान लावरेन्सले सर्वाधिक ५९ रनबनाए भने मिचेल भान लिंगेनले ५८ रन बनाए । शुन्य रनकै अवस्थामा पहिलो विकेट गुमाएको नामिबियाका लागि यी दुईले आक्रामक खेल खेल्दै सम्मानजनक स्थितीमा टिमलाई पुर्‍याएका हुन् ।


नेपालका लागि सन्दिप लामिछानेले तीन विकेट लिए भने सुशील कँडेलले दुई तथा सुनिल धमला र प्रेम तामाङले एक–एक विकेट लिए ।

यो खेलले प्रतियोगिताको सातौं र आठौं स्थानमा रहने टोलीको टुंगो लगाउने छ । यो खेलको विजेता सन् २०१८ मा हुने १९ वर्षमुनिको विश्वकपका लागि छनौट हुनेछ । नेपाल र नामिबिया दुवै आइसिसीका एसोसिएट सदस्य हुन् ।

गत हप्ता युएईमा बसेको आइसिसीको बैठकले यस प्रतियोगिताको शीर्ष एसोसिएट सदस्यलाई आउँदो विश्वकपका लागि छनौट गर्ने निर्णय गरेको थियो ।आजको खेल जितेमा नेपालले विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट स्थान हात पार्नेछ । विश्वकपको दोस्रो चरणमा दोस्रो पटक खेलिरहेको नेपालले सन् २००० मा आठौं स्थानमा रहेर प्रतियोगिता टुंग्याएको थियो । नामिबियासँग अहिलेसम्म खेलेका तीन खेलमा नेपाल विजयी भएको छ ।

सन् २००२ मा न्युजिल्याण्डमा नेपालले नामिबियामाथि १० रनको जित दर्ता गरेको थियो । सन् २००८ मा मलेसियामा भएको खेलमा तीन तथा २०१२ मा अस्ट्रेलियामा भएको खेलमा नेपालले नामिबियालाई ३९ रनले हराएको थियो ।

0 comments:

Post a Comment