Saturday, 9 January 2016

मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह वाङ्देल पुरस्कार’ !!


धनकुटा, २५ पुस- मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई ‘दोस्रो लैनसिंह वाङ्देल पुरस्कार’ प्रदान गरिएको छ ।

वाङ्देलको ९१औँ जन्मजयन्तीको अवसरमा आज धनकुटामा एक कार्यक्रमको आयोजना गरी भारतको कोलकत्तास्थित लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानले घिमिरेलाई पुरस्कृत गरेको हो ।


कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश प्रधानले रु १० हजार एक नगद राशिको उक्त पुरस्कार घिमिरेलाई प्रदान गर्नुभएको थियो । मदन पुरस्कार विजेता सहित्यकार घिमिरेलाई पुरस्कृत गर्न भारतको कोलकत्तादेखि प्रतिष्ठानको टोली धनकुटा आइपुगेको हो । यसअघि उक्त पुरस्कार दार्जिलिङका राजनारायण प्रधानलाई प्रदान गरिएको थियो ।

पुरस्कृत भएपछि साहित्यकार घिमिरेले लिखित मन्तव्यमार्फत साहित्यमा आफूले सबैभन्दा मन पराएका थोरै व्यक्तिमध्येका वाङ्देलको स्मृतिमा स्थापित पुरस्कार पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो ।

नेपाल र भारतको संस्कृति, कला र साहित्यको सु–सम्बन्ध कायम रहँदै आएकाले यसलाई जीवन्त राख्न सबै जुट्नुपर्नेमा उहाँको जोड थियो ।

धनकुटा नगरपालिका–३ कचिडे स्थायी घर हुनुभएकी साहित्यकार घिमिरे शारीरिक रुपमा अशक्त भएर पनि खुट्टाको सहायताले साहित्य सिर्जना गर्दै आउनुभएको छ । बोल्नसमेत नसक्ने घिमिरेले कार्यक्रममा पनि खुट्टाले नै मन्तव्य लेखेर पढ्न लगाउनुभएको थियोे ।

कार्यक्रममा लैनसिंह वाङ्देल साहित्य कला प्रतिष्ठानका अध्यक्ष प्रधानले भारतको कलकत्ता र नेपाललाई साहित्यिक कर्मथलो बनाएका वाङ्देलको स्मृतिमा स्थापित उक्त पुरस्कार प्रत्येक वर्ष नेपाल र भारतमा साहित्य र कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउनेहरुलाई प्रदान गर्दै लगिने बताउनुभयो ।


कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार धर्मराज बराल, सहसचिव सञ्जीव गुरुङलगायतले घिमिरेलाई संस्थाले पुरस्कृत गर्न पाउँदा खुसी लागेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुनरावेदन अदालतका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागार्इं, धनकुटा बहुमुखी क्याम्पसका सहप्राध्यापक गोपाल अधिकारी, सल्लेरी साहित्य सङ्गमका अध्यक्ष रमेशचन्द्र अधिकारीलगायतले पुरस्कृत घिमिरेलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

सो अवसरमा गायिका जुनु गौतमसहित प्रजिअ एवम् गायक विजयनारायण मानन्धरलगायतले गीतमार्फत कार्यक्रमलाई रौनकता प्रदान गर्नुभएको थियो । रासस

0 comments:

Post a Comment