Saturday, 7 November 2015

मधेश (कविता)

प्रकाश न्यौपाने




“।।कर्नाली देखि मधेश : बा अब म मधेश जान्छु ।।”
हो ,
बा अब म मधेश जान्छु
हामी बाहुन अरे
हामी पहाडिया अरे
हामीलेे मधेशलाई बर्षौ देखि हेपेका छौ अरे
तर

म यि सब कुरा
कुन कानले सुनु बा
तिमी आफै भन बा
कसरी सहु म यि सब कुराहरु।
नबुझुन बरु हाम्रा दुखका भारीहरु
तिम्रो सारा जिन्दगि बरु एहि पहाडमै
चट्टानमा फापर ,कोदो उमार्दै अनि
भारतका गल्लिमा सेटको गुलामि गर्दै बितोस
तर
म मधेश जान्छु बा….
मलाई उत्तर चाहिएको छ बा
मलाई प्रमाण चाहिएको छ
हो
मलाई सोदनु छ खोज्नु छ
र ल्याऊनु छ
हामी कसरी सामन्ति भएम
मेरा बा कसरी पहाडिया भए
कर्नाली कहेली सुखमा रमाऊन सक्यो
हो बा मलाई उत्तर चाहिएको छ |
हिजो मात्र पाठशालामा विज्ञान
पढाऊने “मधेसका मास्टर” साब सँग दुई हात
जोड्दै मेरो भबिष्यको भिख मागेर
तिमी दशैँको मुखमा कम्जोर जिऊमा
फाटेको कमिज अट्काएर
भारत पस्यौ
जसरी सधै पस्थ्यौ
केहि आश बोकेर
तर
कस्ले बुझोस बा तिमी पुजिपतिँ सामन्ति हैनौ भनेर
कस्ले देखोस बा
ठृला भारी बोकेर उकालो लागेका तिमी
अनि
सँगै तिम्रो निदारबाट ओरालो झरेका पसिनाहरु
कस्ले अनुभब गरिदियोस
कठै…..
दक्षिण मधेस बगेको कर्नालीमा
पानी कम
तिम्रा पसिना धेरै बग्छन भनेर
कस्ले सुँगिदियोस हावामा फैलिएको
पसिनाको एकतमासको गन्ध कस्ले मलम लगाईदियोस
तिम्रा ठेला उठेका
हत्केला र पाइतालाहरूको कुरुप सुन्दरतामा
तेसैले
अब म मधेश जान्छु मलाई सोध्न छ बा
“एउटा नाबालक को रगतले कुन क्रान्ति सफल हुन्छ
नाका बन्द गरेर को मर्छ अनि को बाँच्छ…?”
हो बा,
आमाले पोको पारेर बानिदिएका रोटी
बगैचामा बजार नपाएर कुहिन थालेका स्याऊ
कर्नालिको चिसो पानी
एक कुटिरो सिस्नु लिएर
भोली बिहानै हिडनु छ बा
न आकाशमा ऊडने चिलगाडि छन
न भुईमा दुगुर्ने गाडि न त
मधेशका झै चिल्ला फराकालिला सडक छन
तै
पनि मलाई पुग्नुछ बा यिनै फाटेका मेरा कुर्कुच्चा बोकेर
मधेश सम्मै
अङगालो मा बेर्नो छ बा
अनि धेरै बात मार्नु छ
मधेशका दाजु भाईसग
अनि येदि
मधेसबाट दुखका बिशाल सगरमाथा नदेखेर सुबिधा सम्म्पन पहाड देखिन्छ भने म भनुला बा
“दाई/ दिदी जाऊ हिड पहाड
मेरी आमालाई आमा भनौला
म तिम्री आमाको छोरो बनुला
दुख सुख जे पर्छ सहुला
तर दाई                                                      
हाम्रो घर एऊटै हुनुपर्छ :” नेपाल”
हाम्रो जात एऊटै हुनुपर्छ : “नेपाली”
फेरि बुद्द जन्मिनुपर्छ हाम्रो मनमा
फेरि सगरमाथा ठडिनु पर्छ हाम्रो आखाँमा
पर
सीमा पारी बाट कसैले ढुंगाले
तिमी लाई हिर्काए मेरो मन दुख्नु पर्छ
रगत उम्लीनु पर्छ
हो
स्वादीन देश का स्वतन्त्र नेपाली हामी
फूटेर होइन दाई
जुटेर जानू छ”
येसै भनुला बा
म एक पहाडमा बस्ने नेपाली मधेसमा
बस्ने अर्को नेपाली को अगाडी
झुकेर ,गर्धन  निहुराएर क्यौन अरु नेपालीका
गर्धन हरु काटिन बाट रोकिन्छ भने
म झुकुला बा
म निहुरुला
तर
मलाई देश चाहिएको छ
मलाई नेपाली चाहिएका छन
तेसैले
अब म मधेश जान्छु बा
हो मधेश जान्छु बा
जान्छु बा
मधेश :नेपाल ।।


शुभ हितैषी
प्रकाश न्यौपाने
कालिकोट कर्णाली

0 comments:

Post a Comment