एकजना धामी कुनै बिरामीलाई फुकफाक गर्न पल्लो गाउँ जाँदै थियो । अचानक उसले कोही कराइरहेको आवाज सुन्यो । सुनसान र जंगलको बाटो, आवाज आएकोतिर हेर्यो । त्यहाँ एकजना महिला लडिरहेकी थिइन । उनको शरीर भरि घाउ थियो । उनी पीडाले छटपटीइरहेकी थिइन् । उनको अवस्था मरणासन्न थियो । कोही मान्छे छेउमा आएको देखेर ती महिला सकी नसकी बोलिन्- “तपाई को हुनुहुन्छ ? मलाई बचाउनुस् ।”
धामी छेउमै गएर उनलाई बिस्तारै उठाइदियो । घाउहरू सफा गरिदिन थाल्यो । धामीले भन्यो – “म धामी हुँ ।” अनि ती महिलालाई सोध्यो – “तिमी को हौ ? यस्तो सुनसान जंगलमा कहाँबाट आयौ ?”
ती महिलाले जवाफ दिइन् – “म बोक्सी हुँ । मलाई कुटेर यहाँ फालिदिए । म झन्डै मरिन । तपाई आइपुग्नुभयो । मलाई बचाउनुस् ।”
धामी जुरुक्क उठेर रिसले थरथर काँप्दै भन्यो – “तँलाई त मार्नु नै पर्ने हो । म तेरो उपचार गर्दिन । बरु तँ यही सडेर मर् ।” यति भन्दै धामी त्यहाँबाट हिड्न थाल्यो ।
ती बोक्सी महिलाले बिन्तीभावले भनिन् – “मलाई बचाउनुस् । मलाई बचाउनुमा नै तपाईंको कल्याण छ ।”
धामीले कडकिएर भन्यो – “तेरो कारणले नै मान्छेहरूले दु:ख पाउँछन् । तँ बाँच्नुभन्दा मर्नुमा नै सबैको कल्याण छ ।”
धामी आफ्नो बाटो लाग्न थाल्यो ।
ती बोक्सी महिलाले अट्टहास गर्दै भनिन् – “ए मुर्ख धामी ! म मरेर सबैको कल्याण होला जरुर तर तेरो कल्याण कदापि हुदैन । म बाँच्नुमा नै तेरो अस्तित्व छ । मेरो कारणले नै तेरो रोजीरोटी चलेको छ । तेरो नाम चलेको छ ।”
बोक्सी महिलाको यस्तो कुरा सुनेर धामीको पाइला रोकियो । केही सोचमा पर्यो ।
बोक्सी महिलाको यस्तो कुरा सुनेर धामीको पाइला रोकियो । केही सोचमा पर्यो ।
ती बोक्सी महिलाले सम्झाउने किसिमले आफ्नो कुरा जारी राखिन् – ” हो धामी, तिमीले मलाई बचाउनुमा नै तिम्रो र मेरो कल्याण छ । मेरो डरले नै मानिसहरू तिमीलाई याद गर्छन् । यदि म नै संसारबाट विलय हुने हो भने तिम्रो अस्तित्व पनि विलय हुनेछ । तिम्रो पनि केही काम हुने छैन । कसैले तिम्रो याद गर्ने छैन । तिम्रो रोजीरोटी पनि खोसिने छ । त्यसैले मलाई बचाउ । मेरो उपकार गर ।”
यति कुरा सुनेपछि धामी बोक्सीको नजिक आयो । घाउहरू सफा गरिदियो । उपचार गरिदियो । बोक्सी महिलालाई बोकेर गन्तव्यसम्म पुर्याइदिएर आफ्नो काममा फर्कियो ।
- सञ्जय जुग्जाली
बिम-२, म्याग्दी
बिम-२, म्याग्दी










0 comments:
Post a Comment