Sunday, 1 November 2015

रुसी विमान दुर्घटनाः सवार सबै २२४ जनाको मृत्यु |

 


काठमाडौं, कार्तिक १४ । इजिप्टको मध्य सिनाइमा शनिबार दुर्घटना भएको रसियन एअरलाइन्सको ‘ए–३२१’ एअरबस विमानमा सवार सबै २ सय २४ जनाको मृत्यु भएको छ ।

विमानमा चालक दलका ७ सदस्यसहित र २ सय १७ जना यात्रु सवार थिए । विमानमा १ सय ३८ महिला, २ देखि १७ वर्ष उमेरसम्मका १७ जना बालबालिका गरी २ सय १७ यात्रु थिए ।

विमान इजिप्टको शर्म–अल–शेख सहरबाट रुसको पिटसवर्गका लागि जाँदै थियो । अधिकारीहरुले दुर्घटनास्थल हसाना क्षेत्रबाट यात्रुका सबै शवहरु  र विमानको ‘ब्ल्याक बक्स’ पनि निकालिएको जनाएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटना प्रति दुःख व्यक्त गर्र्दै आइतबार एकदिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनले दुर्घटनाको अनुसन्धानका लागि आदेशसमेत दिएका छन् ।


यात्रुहरुको शव विमानको सीटमा च्यापिएको अवस्थामा भेटिएका थिए । विमानमा रहेका २ सय १४ यात्रु रुसी र तीन युक्रेनी नागरिक हुन् ।

दुईओटा टुक्रामा उछिट्टिएर दुर्घटनाग्रस्त भएको विमानको एक भागमा आगो लागेको र अर्को चट्टानमा ठोक्किएको थियो । रुसी अधिकारीहरुले उडान भरेको २३ मिनेटमा साइप्रस एअर ट्राफिक कन्ट्रोलसँग विमानको सम्पर्कविच्छेद भएको जनाएका छन् । (एजेन्सी)

0 comments:

Post a Comment