नेपालका एक परिचित हाडजोर्नी रोग विशेषज्ञ डा. दीपक प्रकाश महरा सहरी क्षेत्रमा ‘विकसित धामी–झाँक्री’को रूपमा आफूलाई प्रस्तुत गर्दै आएकी एक माताको शरणमा पुगेको तथ्य फेला परेको हो । यद्यपि ती माताले आफू प्राफेसनल माता नभएको र साथीभाइ आग्रहमा कहिलेकाहीँ सहयोग गर्ने गरेको बताएकी छिन् । आफ्नो कान्छो छोरा दिप्तान्सुको स्वास्थ्यमा समस्या देखिएको र उपचार गराउँदा पनि निको नभएपछि महरा परिवार माताको सम्पर्कमा पुगेको थियो ।
पोखरा निवासी माता काठमाडौं आएका बेला डा. महराको परिवार र माताबीच भेट हुने गरेको छ । मेडिकल साइन्सका अनुसार डा. महराको छोरालाई ‘अटिजम’ भएको बताइन्छ । महरा दम्पतीको सहभागितामा चलेको ‘अटिजम केयर सेन्टर, नेपाल’ गैरीधारामा छ । महरा पत्नी अञ्जना सो संस्थामा उपाध्यक्ष छिन् । डा. महरा सल्लाहकार सदस्य छन् ।
पोखराको ‘त्रिशक्ति आश्रम’ की माता हुन्, सजना गोदार । उनलाई उनका भक्तजनले ‘त्रिपुरेश्वरी माता’ भनेर सम्बोधन गर्छन् । माताका अरू शिष्य पनि छन् । पहिले गण्डकी हस्पिटल नजिकै भाडाको घरमा रहेको त्रिशक्ति आश्रमलाई अहिले हस्पिटल नजिकै रहेको माताको आफ्नै घरमै सारिएको छ । माता एमएडसम्मको अध्ययन गरेकी शिक्षित महिला हुन् । डा. महराले त्रिशक्ति आश्रमकी माताले झारफुक गरेपछि आफ्नो छोराको व्यथा केही कम भएको आफ्ना निकटस्थहरूसँग बताउँदै आएका छन् । पहिला डा. महराका छोराको बोली फुटेको थिएन । तर, मातालाई भेटेपछि छोरा बोल्न थालेको डा. महराको परिवाको विश्वास छ । डा. महरा मेडिकल क्षेत्रलाई अविश्वास गर्दै यसरी माताको शरणमा पुगेपछि कतिपय सिनियर डाक्टरहरूले उनको आलोचना गरेका थिए । महरालाई नजिकबाट जान्ने टिचिङ अस्पतालका एक डाक्टरले सुनाए। ‘महरा सर माताको आश्रममा जानुहुँदो रहेछ, हामीले पछि मात्र थाहा पाएका थियौँ, कहिलेकाहीँ टिचिङको महरा सरको क्वार्टरमा समेत माताजी आउनुभएको हुन्थ्यो ।’
विवाहपछि ०५४ सालमा माताको रूप धारण गरेकी गोदारको शरणमा डाक्टरबाहेक सुरक्षा अधिकारी, कर्मचारी र व्यापारी पुग्ने गरेका छन् । मातालाई भेटेका एक भक्तजनले रातोपाटीसँग भने, ‘माताले आफैँ पैसा माग्नहुन्न । तर, उहाँकामा पुगेपछि फर्कंदा मातालाई केही न केही सहयोग गरौँ जस्तो बनाएर पठाउनुहुन्छ ।’ भक्तजनले नगद, सुनचाँदी, मोबाइल, ल्यापटसम्म मातालाई उपहार दिएर फर्कने गरेका छन् । यसअघि ओम हस्पिटल, ह्याम्स, सिविक्सलगायत अस्पतालमा काम गरेका डा. महरा टिचिङ हस्पिटलको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । डोटी स्थायी घर भएका डा. महराले बसुन्धारा चोकमा खुलेको चिरायु हस्पिटलमा पनि लगानी गरेको बताइन्छ । त्यस्तै, माताको रूप धारण गरेपछि सरकारका उच्च अधिकारीसँगको उठबस बढेपछि सजना गोदार आश्रमको साथमा ‘उत्पीडित केन्द्र’ नामक संस्थामा आबद्ध भएकी थिइन् ।
उत्पीडित केन्द्रको ‘म्यानेजिङ डाइरेक्टर’ को रूपमा समेत कार्य गर्दै आएकी गोदार सोही सामाजिक संस्थामार्फत विदेश भ्रमणमा समेत जाने गरेकी छिन् । माता निकट स्रोतले भन्यो, ‘उत्पीडित केन्द्रमार्फत भिसा मिलाएर भक्तजनसहित बेलाबेला विदेशतिर गइरहनुहुन्छ ।’ भारतमा अहिले उनको राधेमा नाममा चर्चा चुलिएको छ । उनले आफ्ना भक्तजनलाई किस गर्नेदेखि काखमा समेत राखेर आशीर्वाद दिन्थिन् । उनीमाथि भारतीय प्रहरीले भक्तजनलाई उत्पीडन गरेको र अकुत पैसा कमाएको आरोपमा छानबिन गरेको छ । मिडियामा राधे माको समाचार आएपछि उनको विषयमा उनकै भक्तजनले विभिन्न खाले अडियो–भिडियो टेप सार्वजनिक गरेका थिए । कतिपयले नेपालमा पनि यस्तै हुन सक्ने आशंका गरेका छन् ।
डा. दीपक महरा भन्छन्, ‘मेडिकल साइन्सको विद्यार्थी भए पनि पूजाआजा गर्छु’
सजना गोदारसँग चिनजान भएको ५–७ वर्ष भयो । मेरी श्रीमतीकी साथी भएकाले उहासँग चिनजान भएको हो । उहाँ बेला–बेला काठमाडौं आउँदा भेटघाट हुन्छ । काठमाडौं आउँदा छोरामा देखिएको शारीरिक समस्याबारे कुराकानी भए पनि पोखरामै पुगेर झारफुक गराएको छैन । म मेडिकल साइन्सको विद्यार्थी भए पनि पूजाआजा गर्छु । आजकाल पितृको पूजा गरिरहेको छु । तर, म माता तथा ज्योतिषको अन्धविश्वासी होइन । विज्ञानको सट्टा माता वा धामीझाँक्रीको पछि लागेको छैन । लाग्ने कुरा पनि हुँदैन ।
सजना गोदार भन्छिन् : म प्रोफेसनल माता होइन
म प्रोफेसनल माता होइन । कसैलाई आपत परेका बेला हेरिदिने मात्र हो । इष्टमित्र, आफन्त र साथीभाइलाई आपत्विपत् परेका बेला नाइँ भन्ने कुरा पनि भएन । जहाँसम्म डा. दीपक महराको कुरा छ, उहाँकी श्रीमती मेरो अंकलकी छोरी हो । नाताले दिदी हो । अटिजम झारफुक गरेर निको हुने रोग होइन । त्यसैले निको गराउने हिसाबले भन्दा पनि उहाँहरूको मन सन्तोषका लागि या भनौं मानवीयताको हिसाबले मात्र बाबुलाई हेरेको हुँ । म कर्ममा विश्वास गर्छु । ज्ञान आयो भन्दैमा आसनमा बसेर मात्र हुँदैन, कर्म गर्नैपर्छ ।









0 comments:
Post a Comment