Tuesday, 27 October 2015

अदालत परिसरमा ‘म्याच फिक्सिङ’का आरोपित खेलाडीहरु पत्रकारसंग कुरा गर्दै (भिडियोसहित)


काठमाडौं, कार्तिक १० । खेल मिलेमतोका आरोपमा पक्राउ परेका पाँचजना वर्तमान तथा पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई मंगलबार अदालतमा उपस्थित गराइएको छ ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका पाँचै खेलाडीलाई मंगलबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको हो ।

राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दा विशेष अदालतले हेर्नेभएकाले खेलाडीहरुलाई विशेष अदालत लगिएको हो ।

अदालतमा उपस्थितिका लागि पुर्‍याइएका राष्ट्रिय टिमका कप्तान सागर थापाले आफूहरु निर्दोष भएको बताएका छन् । थापाले सन्चारमाध्यमलेसमेत आफूहरुलाई दोषी जस्तो व्यवहार गरेको भन्दै दुःख व्यक्त गरे ।



प्रहरीले ‘म्याच फिक्सिङ’को आरोपमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई र रितेश थापासहित पूर्वखेलाडी अन्जन केसी र विकाससिंह क्षेत्रीलाई गत असोज २७ गते पक्राउ गरेको थियो ।

आरोपित सबै खेलाडीलाई एसियाली फुटबल महासंघ र एन्फाले पनि तत्कालका लागि प्रतिबन्ध लगाएको छ । अनुसन्धान सकिएर अदालतले अन्तिम फैसला सुनाएपछि मात्रै यी खेलाडीका विषयमा एएफसी र एन्फाले पनि अन्तिम निर्णय गर्नेछ ।

प्रारम्भिक छानबिनको क्रममा अन्य खेलाडी तथा केही पदाधिकारीहरुसमेत मुछिने आशंका गरिए पनि प्रहरीले अनुसन्धानको थप विवरण भने सार्वजनिक गरेको छैन । साभार - imagekhabar !

0 comments:

Post a Comment