नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले कतारमा गर्न लागेको आठौं नेफ्टा अवार्डमा सहभागी हुन मंगलबार कतार उडेका नेपाली कलाकारको टोली शारजहाँमा अलपत्र परेका छन्। टिकट सस्तो पर्ने भन्दै आयोजकले सिधै दोहाको सट्टा शारजहाँमा ट्रान्जिट पारेर लगेको थियो। शारजहाँमा एयर अरेबियाले १५०० डलर नहुँनेलाई प्लेन चढ्न नदिएपछि उनीहरु अलपत्र परेका हुन्। यसरी रोकिएपछि एयर अरेबियासँग विवाद भएको कतार पुगेका एक कलाकारले सेतोपाटीलाई बताए।
उनले भने,'आयोजकले १५०० डलर साथमा बोक्नुपर्ने नियमको बारेमा जानकारी नगराउँदा कलाकार साथीहरु २४ घण्टा बितिसक्दा पनि कतारको शारजाहाँको ट्रान्जिटमा रोकिनु भएको छ। हामीसँग एयर अरेवियाका कर्मचारीले दुर्व्यवहार पनि गरे।'
ती कलाकारका अनुसार अरेवियाका कर्मचारीहरुले ठुल्ठूलो स्वरमा कराएको बताए। चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई, अभिनेता आर्यन सिग्देल, वितरक तथा निर्माता नरेन्द्र महर्जन लगायत अझै शारजहाँमै छन्। उनले १५०० डलर साथमा हुने केही कलाकारसँग आफू भने कतार आउन सफल भएको जनाए।
मसँगै मदनकृष्ण श्रेष्ठ लगायतका वरिष्ठ कलाकारलाई एयर अरेबियाका कर्मचारीले हातमा १५०० डलर लिएर लाइनमा बस्न लगाए र प्रत्येकको पैसा गनेर मात्र विमान चढ्न दिए।'
यसरी आफ्नो र वरिष्ठ कलाकारलाई गरेको व्यवहारले आफू लज्जित र अपमानित भएको महशुस गरेको भने। कतारमा भोली अवार्ड हुँदैछ तर कार्यक्रममा प्रस्तुति दिने कलाकार अझै शारजहाँमै अड्किरहेका छन्। त्यस्तै उनले 'मदन दाईले हातमा डलर लिएर उभिनु परेको दृश्य हेर्नुपर्दा मुटु चिरिएको' बताए।
उनले शारजहाँमा रोकिएका कलाकारलाई कतार लैजाने प्रयास कतार आयोजक अन्तराष्ट्रिय कलाकार मञ्ज,कतारले गरिरहेको पनि बताए। शारजहाँमा घटेको घटनाका कारण आयोजक पदाधिकारीहरुले अनुहार नियाउरो पारेको उनले जानकारी दिए।
त्यस्तै शारजहाँ विमास्थलमा लाइन बसिरहेका कलाकारहरुको भिडियो सेतोपाटीलाई प्राप्त भएको छ। प्राप्त भएका दुई भिडियो मध्य एकमा 'नोभेम्वर रेन' अभिनेत्री छुल्ठिम गुरुङ्ले १५०० डलर पुर्याउन नेफ्टाका अध्यक्ष मनोज केसीसँग दुई सय डलर मागिरहेको देख्न सकिन्छ भने अर्को भिडियोमा गायक राजेशपायल राई, मदनकृष्ण श्रेष्ठ,निर्देशक दिनेश राउतलाई हातहातमा पैसा लिएको अवस्थामा देख्न सकिन्छ।
शारजहाँमा भएको यस घटनालाई जसोतसो पैसा पुर्याएर कतार पुगेका अर्का कलाकारले आयोजकले स्पष्ट जानकारी नदिदाँ अपमानित हुनुपरेको बताए। उनीहरुले फर्कदा एयर अरेबियाको विमान नचढ्ने तयारीमा लागेको पनि बताए। त्यस्तै उनले भने, 'खाडीका विमानस्थलमा नेपाली कामदारलार्इ अपमान गरिन्छ भन्ने सुनेको थिए तर आज आफै अपमानित हुँदा त्यो पीडा राम्रै गरी महशुस भयाे।'








0 comments:
Post a Comment