एनेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री गोपाल किरातीको पुस्तक ‘प्रचण्डपथको विजय’ सार्वजनिक भएको छ ।
चिन्डो बुक्सले सुम्निमा हल कोटेश्वरमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड, भारतीय वामपन्थी पत्रकार आनन्द स्वरुप वर्मा र लेखक किरातीले संयुक्त रुपमा गरेका थिए ।
विमोचनपछि कार्यक्रममा बोल्दै प्रचण्डले भने– ‘हामीले अहिले प्रचण्डपथलाई ड्रप गरेका छौं । र, यो म आफैले गरेको हुँ । विश्व कम्युनिस्ट आन्दोलनकै इतिहासमा आफ्नो नामसँग जोडिएको विचार संश्लेषण ड्रप गरिएको यो पहिलो घटना हो ।’
त्यसैगरि कार्यक्रममा उनले नेपालको नयाँ संविधानपछि छिमेकी राष्ट्र भारतले देखाएको व्यवहारको कठोर आलोचना गर्दै भने– ‘हामीलाई भातीय स्वतन्त्र चाहने र प्रगतिशील जनताले स्यालुट गर्ने छन् । हामीले कसैको विरोधमा संविधान बनाएको होइन । तर, हामीलाई बलजफ्ति कसैले झुकाउन चाहन्छ भने त्यसको विरुद्धमा जे गर्न पनि तयार छौं । हामीले राजनीतिक रुपले आफ्नोबारेमा हामी आफै निर्णय गर्न सक्छौं भन्ने स्थापित गर्न चाहेका हौं । तर यो कसैलाई मन पर्दैन । मन परेन ।’
कार्यक्रममा अर्का विशिष्ट अतिथिका रुपमा उपस्थित भएका भारतीय वामपन्थी पत्रकार आनन्दस्वरुप वर्माले भने– ‘प्रचण्डपथको विजय त त्यही दिन भइसहेको थियो, जुन दिन ज्ञानेन्द्रलाई गद्दीबाट खसालियो । तर, तीन दिनअघि जारी भएको संविधानसँगै यो संस्थागत भएको छ ।’
उनले भारतले नेपालप्रति देखाइरहेको व्यवहारप्रति कडा टिप्पणी गर्दै भने– ‘मेरो देश भारतले छिमेकी राष्ट्र नेपालप्रति देखाइरहेको यो व्यवहार दादागिरी हो । यो अधिकार भारतलाई कसले दियो ? नेपाली जनताहरु अहिले जोखिममा हुनुहुन्छ । तराईमा भइरहेको आन्दालनको सम्बोधन वार्तामार्फत चाँडो हल गर्नुस् । तर, भारतले जे गरिरहेको छ, यो सरासर दादागिरी हो ।’
कार्यक्रममा लेखक गोपाल किरातीले ‘प्रचण्डपथ’ भनेर भविष्यमा यो चाहिन्छ वा चाहिँदैन भन्ने होइन । इतिहासको मूल्यांकन गरिनुपर्छ भन्ने हो । त्यसैले मैले यो पुस्तक तयार पारेको हुँ ।’
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । किरातीको पुस्तकलाई चिन्डो बुक्सले प्रकाशन गरेको हो ।








0 comments:
Post a Comment