Friday, 11 September 2015

आन्दोलनकारीद्वारा लखेटीलखेटी सशस्त्रका असईको निसंस हत्या


महोत्तरी—अान्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीमा सशस्त्र प्रहरीका एकजना असईको निसंस हत्या गरेका छन्। सशस्त्र सीमा सुरक्षाबल जलसागर, महोत्तरी दरबन्दी भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विश्वकर्मालाई आन्दोलनकारीले लखेटी लखेटी खुकुरी, भाला प्रहार गरेर हत्या गरेका हुन्। सशस्त्र प्रहरीका एसपी वीरेन्द्रबहादुर पाण्डेले घटनाको पुष्टि गरेका छन्।
विश्वकर्मा शुक्रबार बिहान हेटौंडाबाट संयुक्त राष्ट्रसंघको परीक्षामा सहभागी भएर फर्केका थिए। गाडीबाट बर्दिबास झरेका उनी त्यहाँ रहेको सशस्त्रको बनौटा बेसक्याम्प पसे। उनी त्यहाँबाट साइकलमा लिफ्ट लिएर जलेश्वर आइपुगे। त्यहाँसम्म आउन साइकलमा उनलाई आधा घन्टा लागेको थियो।

जलेश्वर आइपुग्दा प्रदर्शनकारीहरुले उनलाई प्रहरीको पोशाकमा देखेपछि लखेटेका थिए। उनी एक्लै थिए। निशस्त्र थिए। त्यसैले ज्यान जोगाउन भागे। झोला फाले। प्रदर्शनकारीले खेद्दै जलेश्वर बजराको पोखरी छेउ पु¥याए। ज्यान बचाउन सकिएला कि भनेर उनी त्यहीँ हाम्फाले।

पोखरीमा हाम्फाल्ने निर्णय उनका लागि घातक बन्न पुग्यो। प्रदर्शनकारीले उनलाई त्यहाँबाट निकाले। लात्ती, भाटा, लाठीले कुटपिट गरे। उनले प्रदर्शनकारीसँग 'म हारेँ, मलाई बचाउनोस्', भन्ने ज्यानको भिख मागे। तर आक्रमण रोकिएन। प्रदर्शनकारीले ज्यानलिन लागेको बेला प्रहरीको थप बल त्यहाँ पुग्यो। र उनलाई उद्धार ग¥यो। जलेश्वर अस्पताल पु¥याउँदा अत्यधिक रक्तश्रावका कारण उनको स्थिति नाजुक भइसकेको थियो। त्यहाँ उनलाई १६ वटा टाँका लगाइयो। त्यहाँ उपचार सम्भव नहुने देखिएपछि उनलाई एम्बुलेन्समा राखेर जनकपुरतर्फ लाने निर्णय भयो।

मुख्य बाटोमा ठाउँठाउँमा अवरोध भएको कारणले ग्रामीण बाटो महोत्तरी, सङ्खोरा हुँदै जनकपुर लगियो। बाटोमै गाउँलेले एम्बुलेन्स रोके। गाउँमा जम्मा भएका सयौंको संख्यामा रहेका प्रदर्शनकारीले एम्बुलेन्सबाट घाइते थमनबहादुरलाई बाहिर निकाले। उनीसँगै रहेका तीन–चार जनामाथि आक्रमण सुरु गरे। एम्बुलेन्समा आगो सल्काइदिए। एम्बुलेन्स दनदनी जल्यो। हेरचाहका लागि गएकाहरु भागे। थमन भाग्न प्रयास गरे। केही कुदे। तर अत्यधिक रक्तश्रावले शिथिल भइसकेको उनको ज्यान धेरै कुद्न सकेन।

अन्ततः जे नहुनु थियो त्यही भयो। आन्दोलनकारीले सशस्त्रका असई थमनबहादुरलाई भेट्टाए। भाग्न नसकेपछि उनीमाथि खुकुरी, भाटा प्रहार भयो। सायौंको संख्यामा रहेका प्रर्शकारीले घरेलु हतियार प्रयोग गरी सशस्त्रका असईको नृसंस हत्या गरे।

एसपी पाण्डेका अनुसार एम्बुलेन्स जलाइएको भन्दा ५ सय मिटर पर खेतमा उनको शव भेटिएको छ।

असई विश्वकर्मा नेपालगञ्ज निवासी भएको सशस्त्र स्रोतले पुष्टि गरेको छ।

0 comments:

Post a Comment