Sunday, 6 September 2015

कविताः अन्तिम वक्तव्य


    देवकी अभिलाषी -

नरोपेका होईनौ तिमीले 
म हिँड्ने प्रत्येक बाटोहरुमा 
बिशालु लाफ्रे काँडाहरु 

जलाएकै हौँ 
आस्थाका सुन्दर झुपडीहरु                                                         
ढलाएकै हौ 
सपनाका अग्ला धरोहरहरु
अनि थुनेकै त हौ आजसम्म
तिम्रो आदिम जेलभित्र 

लामो अन्तराल पछि 
अब यस्तो लागिरहेछ
विहानीको पारिलो घाम 
मेरो अँध्यारो भान्सा कोठा हुँदै 
चिसिएको तनमन छोएर जानेछ 
अर्को चम्किलो जून दिएर 
म बग्न थाल्दैछु अब 
ईन्द्रावती झै अविरल–अविरल
नछेक चारैतिर दुवाली लगाएर 
परपर जाऊ किनारा भन्दा टाढा 
म साउनको भेल भएर उर्लेको छु 

किन मलाई सुनिरहुँ लाग्दैनन् अचेल ?
जूनतारा झार्ने तिम्रा कथाहरु 
मलाई प्रेमिल लाग्दैनन् 
सोमरसले लठ्ठीएका कामुक आँखाहरु
जब गृह प्रवेश हुन्छ
मध्य रातमा तिम्रो
भूकम्म जस्तै त्रासमय लाग्छ सधैँ
किन मलाई तिम्रो आगमन ? 

छैनन् कुनै मीठा कल्पना 
तिम्रो बाहुमा कस्सिएर बसुँ
या त 
तिमीसंगै निदाउँ या 
सवर्णिम सपना देखौँ 
ती सब–सब 
पीडाका अत्यास लाग्दा पहाड बाघेर 
समयको कठघरा छेउबाट 
आगो ओकलिरहेछु म 

हेर्दै जाऊ अब म 
रुपान्तरित डोजर भएर आउँदैछ !
तिम्रा आदिम सीमानाहरु भत्काउन !
अब तिमी आउनुपर्छ र देखाउनुपर्छ 
कहाँ–कहाँ छिपाएर राखेका छौ ?
नक्सा विनाका अध्याँरा महलहरु 
तिमी हेरि मात्र राख 
तिम्रै अगाडि 
कसरी तोड्ने छु म 
तिम्रो दासताको ढोका !
र 
कसरी बनाउने छु फेरी 
मेरै नयाँ वस्तीमा 
सपनाका सुन्दर महलहरु 
अब मलाई स्वीकार्य हुँदैन 
शरिर भरिका नीलडामहरु 
न त स्वीकार्य नै छ –
तिम्रो वैवाहिक बलात्कार 
म मेरो पहिचान माग्न 
अन्तिम युद्ध लड्दैछु 
तिम्रो प्रभुत्वसंग 
र सुन -
अल्टिमेटम तोक्दैछु 
तिम्रो अन्धो सत्तालाई !

0 comments:

Post a Comment