Tuesday, 29 September 2015

भारतमा रेमिटेन्स पठाउने नेपाल सातौं ठूलो राष्ट्र 28 Sep 2015 | 10:07am

भारतमा रेमिटेन्स पठाउने नेपाल सातौं ठूलो राष्ट्र


काठमाडौं- धेरैलाई विश्वास नलाग्न सक्छ, तर नेपाल भारतमा रेमिटेन्स पठाउने सातौं ठूलो राष्ट्र हो। पिउ रिसर्च सेन्टरका अनुसार सन् २०१२ मा भारतमा सबैभन्दा धेरै रेमिटेन्स पठाउने राष्ट्रको सूचीमा नेपाल सातौं स्थानमा रहेको छ।
संसारभर आप्रवासी कामदारको आवतजावत बढ्दै गएकोले रेमिटेन्सको प्रवाह रोक्न असम्भव भइसकेको परिप्रेक्ष्यमा नेपालबाट भारतमा धेरै रेमिटेन्स जानु र नेपाल भारतको सातौं धेरै रेमिटेन्स पठाउने मुलुक हुनु आश्चर्यजनक भने होइन।

नेपालमा विभिन्न देशका नागरिकले वैध तथा अवैध रुपमा काम गरिरहेका छन्। वैदेशिक रोजगार विभागले नेपालका विभिन्न संस्थामा अवैध रुपमा काम गर्दै आएका नागरिकलाई काम गर्ने अवैध कामदारलाई दर्ता भएर काम गर्न पनि अनुरोध गरेको छ। वैध रुपमा दर्ता भएर काम गर्ने कामदारको मात्र तथ्यांक रहने र उनीहरुद्वारा बैकिङ प्रणालीमार्फत पठाएको रेमिटेन्समात्र रिसर्चमा समेटिएको छ।

रिसर्च सेन्टरका अनुसार सन् २०१२ मा भारतले जम्मा ६९ अर्ब ३५ करोड अमेरिकी डलर रेमिटेन्स बापत प्राप्त गरेको थियो। जसमध्ये नेपालबाट मात्र ३ खर्ब ३८ अर्ब हाराहारी (३ अर्ब २२ करोड अमेरिकी डलर) रेमिटेन्स भारतले प्राप्त गरेको थियो।

यस्तै, भारत नेपालबाट रेमिटेन्स प्राप्त गर्ने सन् २०१२ को पहिलो राष्ट्र हो। नेपालबाट ३ अर्ब २२ करोड अमेरिकन डलर रेमिटेन्स प्राप्त गरेर भारत नेपालबाट धेरै रेमिटेन्स भित्रयाउने मुलुकको सूचीमा पहिलो स्थानमा रहेको थियो भने ६ करोड १० लाख अमेसिकी डलर भित्रयाएर चीन नेपालबाट रेमिटेन्स भित्रयाउने दोस्रो ठूलो राष्ट्र भएको छ।

विश्व बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले सन् २०१२ कम विकशित देशमा जम्मा ५ खर्ब २९ अर्ब अमेरिकी डलर रेमिटेन्स पठाएका थिए। जसमध्ये करिब एक चौथाइ रेमिटेन्स अन्य देशमा पठाएर अमेरिका संसारभर रेमिटेन्स पठाउने मुलुकमा पहिलो स्थानमा रहेको छ। यस्तै, रेमिटेन्स भित्रयाउने देशहरुमा भारत एक नम्बरमा पर्छ।

भारतमा रेमिटेन्स पठाउने राष्ट्र (अमेरिकी डलरमा)

युएई १५ अर्ब ६८ करोड

अमेरिका ११ अर्ब ९५ करेाड

साउदी अरब ८ अर्ब ३८ करोड

बेलायत ४ अर्ब २६ करोड

बंगलादेश ३ अर्ब ८ लाख

क्यानडा ३ अर्ब ४६ करोड

नेपाल ३ अर्ब २२ करोड

कुबेत २ अर्ब ९४ करोड

ओमान २ अर्ब ६१ करोड

कतार २ अर्ब २९ करोड

(स्रोत : पिउ रिसर्च सेन्टर)

नेेपालले रेमिटेन्स पठाउने राष्ट्र (अमेरिकी डलर)

भारत ३ अर्ब २२ करोड

चीन ६ करोड १० लाख

पाकिस्तान ३ करोड ९० लाख

अस्ट्रलिया ८० लाख

भुटान २० लाख

बंगलादेश १० लाख

माल्दिभ्स १० लाख

न्युजिल्यान्ड १० लाख

(स्रोत : पिउ रिसर्च सेन्टर)

0 comments:

Post a Comment