Saturday, 15 October 2016

यसरी हुन्छ दुबईमा नेपाली युवतीको खरिदबिक्री !


काठमाडौं, २९ असोज । दुबई लैजाने भन्दै एक नेपाली महिलालाई ओमान पुर्‍याएर बिक्री गरिएको छ । चरम यातना पाएकी ती महिलालाई बेचिएको ६ महिनापछि महानगरीय अपराध महाशाखाले उद्धार गरेको छ ।

काठमाडौंकी ३५ वर्षिय रुबिना शर्मा (नाम परिवर्तन)लाई मानवतस्करीमा संलग्न गिरोहले १८ हजार दिराम अर्थात् करिब पाँच लाख रुपैयाँमा बिक्री गरेको प्रहरीले जनाएको छ । चार दिनअघि उनको उद्धारसँगै प्रहरीले एक एजेन्टलाई पनि पक्राउ गरेको छ । उनलाई नक्कली कागजपत्र बनाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ओमान पुर्‍याइएको हो ।



प्रहरीका अनुसार रुबिनाले घरेलु कामदारका रूपमा करिब ५ महिना काम गरेकी थिइन् । दुई महिनाको मात्र तलब पाएको र घरमा पशुसरह व्यवहार भएको थाहा पाएपछि उनको परिवारले प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले एजेन्टलाई पक्राउ गरी उनको उद्धार गरेको हो । मानवतस्कर समूहले दुबईको एक कम्पनीको नक्कली पत्र बनाएर उनलाई त्रिभुवन विमानस्थलबाटै दुबई पुर्‍याएको थियो । नक्कली कागजपत्रकै आधारमा उनी दुबई जानुमा अध्यागमनका कर्मचारीको समेत मिलेमतो रहेको प्रहरीको आशंका छ ।

प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका एजेन्टले कुवेतका व्यक्तिलाई १८ हजार दिराममा बिक्री गरेको खुलेको हो । उनीजस्तै घरेलु कामदारका लागि धेरै नेपाली महिलाको खरिदबिक्री र यौनशोषणसमेत हुने गरेको महानगरीय अपराध महाशाखाका डिएसपी होबिन्द्र बोगटीले बताए । घरेलु कामदारका लागि भनेर सुरुमै मोलमोलाइ गरेर दुबईमा रहेका एजेन्टले बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

दुबईबाट इराक, सिरियाजस्ता द्वन्द्वग्रस्त देशमा समेत युवतीहरू बेचिने गरेको प्रहरी अधिकारी बताउँछन् । दलालले आकर्षक जागिरको प्रलोभनमा पारी नेपाली चेलीलाई ती देशमा पुर्‍याएर बिक्री गर्दै आएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीको भनाइ छ । कुवेत, ओमान, सिरियालगायत देशमा अवैध रूपमा पुगेका सयौँ नेपाली युवतीलाई ‘दासी’का रूपमा घरेलु काममा लगाइने गरिएको छ ।

भिजिट भिसामा दुबई पुर्‍याएर महिलाको बिक्री हुने भएकाले नै अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा जान कडाइ गरिएको छ । सोही कारण भारतको बाटो भएर दलालले नेपाली युवतीलाई खाडी मुलुक हुँदै विभिन्न देशमा पु¥याउने गरेका छन् ।

कोलम्बोबाट १९ युवती फर्काइए

श्रीलंकाको कोलम्बो विमानस्थलबाट दुबई भन्दै कुवेत पठाउन लागिएका १९ युवतीको प्रहरीले उद्धार गरेको छ । नेपाल प्रहरीले २०, २१ र २२ असोजमा श्रीलंकाको अध्यागमन अधिकारीहरूसँग सहकार्य गरी उनीहरूलाई फर्काएको हो । विभिन्न जिल्लाका युवतीलाई एजेन्टले भारतबाट कोलम्बो हुँदै दुबई भएर ओमान लैजान लागेका थिए । यसअघि भारतबाट सीधै दुबई लैजाने गरिएकोमा नेपालको आग्रहपछि भारतले दुबई जाने नेपाली युवतीमाथि कडाइ गर्न थालेपछि उनीहरूले कोलम्बो रुट रोजेका हुन् ।

प्रहरीले श्रीलंकाको अध्यागमनसँग सहकार्य गरी पछिल्लो समय त्यहाँबाट कोलम्बो जान खोज्नेलाई रोक्दै आएको छ । उद्धार गरिएका युवतीलाई माइती नेपालको जिम्मा लगाइएको र मानवतस्करीमा संलग्नको खोजी भइरहेको महानगरीय अपराध महाशाखाका डिएसपी होबिन्द्र बोगटीले बताए । युवतीलाई विदेश लैजाँदा एजेन्टले धेरै पैसा पाउने भएकाले युवतीसँग दलालले पैसा लिने गरेका छैनन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

0 comments:

Post a Comment