Wednesday, 30 March 2016

दैनिक अण्डा खाने गर्नुहोस अनि पाउनुहोस् तपाइको स्वास्थ्यमा फाइदै फाइदा !!!


अण्डा भरपुर प्रोटिनयुक्त खानेकुरा हो। हामीले कहीँ कहीँ गर्मीमा अण्डा खानाले झन् गर्मी बढ्छ भन्ने सुन्दै आएका छौँ। तर यो हामीले कति मात्रामा खान्छौँ भन्नेमा भर पर्छ। कुनैपनि खानेकुरा चाहिने भन्दा धेरै खानु राम्रो हुँदैन। त्यसैले धेरै होइन, शरीरको अवस्था र उमेर हेरेर दिनहुँ एक–दुईवटा अण्डा खानाले स्वास्थ्यमा लाभ पुग्दछ। यसले छाला र कपालको सुन्दरता बढाउनुका साथै शरीरलाई आवश्यक तत्वहरुको पनि पूर्ति गर्दछ।


दिनहुँ अण्डा खानाले हुने विशेष फाइदाहरु निम्न छन्ः


शरीरमा शक्ति प्रदान गर्छः 

अण्डाको सेतो भागमा ३.६ ग्राम र पहेलो भागमा २.७ ग्राम गरी ६.३० ग्राम प्रोटिन र अरु पोषक तत्वहरु पाइन्छ। यसले गर्दा अण्डा खानाले शरीरमा दिनभरि शक्ति प्राप्त हुन्छ। यसमा शरीरलाई आवश्यक एमिनो एसिड पनि हुन्छ। साथै अण्डाले कोषहरु बिग्रिनबाट रोक्छ र दिमागलाई पनि चालू राख्छ।


पोषणको कमी पुरा गर्छः 


शरीरलाई आवश्यक पर्ने धेरैजसो पोषक तत्वहरु पाइने हुनाले चिकित्सकहरुले पनि अण्डाको खान जोड दिन्छन्। यसमा भिटामिन ए, ई का साथमा बी १२ पनि पाइन्छ।


दिमागलाई स्वस्थ राख्छः 


अण्डामा पाइने कोलीन पोषण दिमागको विकासका लागि फाइदाजनक हुन्छ। यसले दिमागलाई चालू राख्छ र लामो समयसम्म सम्झने शक्तिमा पनि बृद्धि गर्छ। गर्भवती महिलाले अण्डा खानाले गर्भमा रहेको बच्चाको विकासमा पनि सहायता पुर्याउँछ।


मोटोपन कम गर्नमा सहयोगीः 


बिहानको खाजामा १-२ अण्डा खानाले शरीरलाई चाहिने पोषणको पूर्ति हुन्छ। त्यसैले अण्डा खाएर मोटाइन्छ भन्नेहरुले दिनमा हलुका केही खान सकिने र ओभर डाइटिङबाट पनि बच्न सकिने विशेषज्ञहरु बताउँछन्।


आइरनको कमीको समस्या हटाउँछः 


धेरै मानिसहरुलाई आइरनको समस्या हुने गरेको छ। यसले गर्दा थकाई लाग्ने, कमजोरी हुने, टाउको दुख्ने जस्ता समस्याहरु आउँछन्। आइरनले अक्सिजनसँग मिलेर शरीरको प्रतिरोधात्मक प्रणालीलाई ठीक राख्छ। यसले मेटाबोलिज्म स्तरलाई पनि नियन्त्रण गर्छ। अण्डाको पहेँलो भाग जसमा फ्याट हुन्छ भनी धेरैले रुचाउँदैनन् वास्तवमा त्यसमा एकदमै धेरै आइरन हुनाले यो खानु उपयूक्त हुन्छ।


आँखाको ज्योतीमा सहयोगीः 


दिनहुँ अण्डा, पालुङ्गो र ब्रोकाउली खानाले आँखा सम्बन्धी थुप्रै समस्याहरुको समाधान हुन्छ। अण्डामा भएको एन्टी–अक्सिडेन्ट, ल्यूटिन र जिजेन्थिन तत्वहरु आँखा स्वस्थ राख्न आवश्यक तत्वहरु हुन्। मोतीबिन्दु, आँखा रातो हुने, सुख्खा हुने, पानी आउने जस्ता समस्याका लागि अण्डा फाइदाजनक छ।


स्वस्थ कपाल र नङका लागिः 


अण्डामा भएको प्रोटिन, भिटामिन र अन्य पोषक तत्वले कपाल र नङलाई बलियो बनाउन मद्दत पुर्याउँछ। एमिनो एसिड, सल्फर र जींक हुनाले यसले शरीरका साथै छाला र कपाललाई समेत स्वस्थ बनाउँछ।


हड्डीहरु बलियो बनाउँछः 


अण्डा भिटामिन डी को प्रमुख श्रोत मानिन्छ। यसले क्याल्सियमलाई सोसेर हड्डीहरु बलियो बनाउँछ। दूध, दही जस्ता डेरी उत्पादनका साथमा अण्डा खानाले उमेर बढ्दै जाँदा आउने हड्डीका समस्याहरु हटाउन मद्धत गर्छ।

0 comments:

Post a Comment