Sunday, 3 January 2016

२०१५ का विश्व चर्चित महिलाहरु !!!


काठमाडौं, पुस १८ । सन् २०१५ लाई फर्केर हेर्दा संसारमा नै त्यस्तो उल्लेखनीय प्रगतिका घटना भएनन् ।

यस वर्षमा आतंकवादले विश्वलाई नै तर्सायो भने नेपाल, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पले निकै नै ठूलो विनाश पनि ग¥यो । सन् २०१५ मा यसअघिको शान्त र समृद्ध युरोपमा हिंसात्मक हमलाको त्रास बढ्यो । तर, यसैबीचमा पनि यसअघिका वर्षमाजस्तै विश्वका कतिपय देशका महिला चर्चाको शिखरमा पुग्न सफल भए ।


जर्मन चान्सलर एन्जेला मर्केल, अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन, माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्सकी धर्मपत्नी मिलान्दा गेट्स, अमेरिकी प्रथम महिला मिसेल ओबामा, म्यानमारकी प्रजातान्त्रीक नेत्री आङ सान सुकी, सन् २०१५ को साहित्यका लागि नोबेल पुरस्कार जिल्न सफल बेलारुसकी पत्रकार तथा लेखिका एसभेट्लाना अलेस्किभीच, चीनकी प्रथम महिला पेग लियुआन र दक्षिणी एसियाली राष्ट्र नेपालमा पहिलोपल्ट महिला राष्ट्रपति निर्वाचित विद्यादेवी भण्डारी ।

विगत दस वर्षदेखि युरोपको एक सम्पन्न राष्ट्रलाईसमेत प्रभावकारी महिलाका रुपमा नेतृत्व दिन सफल महिला नेत्री एन्जेला मार्केलले यस वर्ष पनि चर्चा पाइन् ।

प्रभावकारी नेताको पहिचान दिन सफल जर्मन चान्सलर एन्जेला मर्केल यस वर्षको पनि सबैभन्दा प्रभावशाली ‘सेलिब्रेटी’कारुपमा परेकी विश्वविख्यात पत्रिका फोब्र्सको मूल्यांकन छ ।

ओरालो लागेको युरोपियन अर्थतन्त्रलाई आश्चर्यजनकरुपबाट माथि उकास्न सफल एन्जेला युरोपेली नागरिकबीच अत्यन्तै लोकप्रिय भइन् । विश्व शक्तिशाली देशलगायत इराक र सिरियामा भीषण आतंक मच्चाउँदै आएका इस्लामिक स्टेट आइएस आतंककारीविरुद्ध उनले चालेको कदम पनि प्रशंसनीय रहेको छ ।

फोब्सको मूल्यांकनमा विश्वकै प्रभावशाली महिलाको दोस्रो स्थानमा पर्न सफल महिला अमेरिकी पूर्वविदेशमन्त्री हिलारी रोधाम क्लिन्टन रहेकी छन् ।

विश्वको शक्ति राष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैं चर्चाको शिखरमा रहने देश संयुक्तराज्य अमेरिकामा आगामी वर्ष हुनलागेको निर्वाचनमा हिलारीलाई प्रमुख दावेदारको रुपमा हेर्न थालिएको हुनाले पनि उनी चर्चाको शिखरमा पुग्न सफल भएकी छन् ।

संयुक्तराज्य अमेरिकाको ४२औं राष्ट्रपति विल क्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला रहेकी हिलारी समाजसेवामा व्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बर्ना ख्याति आर्जन गर्नसक्ने महिलाको रुपमा पनि परिचित छन् ।

सन् २०१६ को नोभेम्बरमा अमेरिकाको ४५औं राष्ट्रपति पदको निर्वाचन हुन गइरहेको छ । यसपटक निर्वाचनको प्रतिस्पर्धामा एकजना महिला नेत्री पनि रहेकोले अहिलेको अमेरिकामा यो नयाँ विषयले चर्चा पाएको हो ।

अर्की एकजना चर्चित महिला हुन्, माइक्रोसफ्ट कम्पनीको मालिक विल गेट्सकी श्रीमती मिलान्दा गेट्स् ।

विश्वविश्ख्यात पत्रिका फोब्र्सले गरेको मूल्यांकनमा विश्वको प्रभावशाली महिलाको मूल्यांकनमा उनी तेस्रो स्थानमा पर्न सफल भएकी छन् ।

सन् २००० बाट विल एन्ड मिलान्दा गेट्स फाउन्डेसन नामक एक संस्था सुरु भएको थियो । यस संस्था सुरु भएदेखि हालसम्म विकासका लागि मिलान्दाले ३३ विलियन डलर बराबरको खर्च गरिसकेकी छन् ।

महिला विकास तथा युवतीको उत्थानको लागि उनको विशेष योगदान रहँदै आएको छ । उनको यस योगदानको विश्वव्यापीरुपमा चर्चा हुने गरेको छ ।

वर्तमान राष्ट्रपति बाराक ओबामाकी धर्मपत्नी अमेरिकी प्रथम महिला मिसेल ओबामा विश्वकै प्रभावशाली महिलाको दसौं नम्बरमा परेकी छन् ।

विश्वकै शक्तिशाली महिलामा दशौं स्थानमा पर्न सफल उनले एसियाका विभिन्न स्थानमा पुगेर बालिकामा शिक्षाको उपलब्धताको कार्यमा संलग्न हुँदै आएकी छन् । महिलालाई शिक्षित बनाएर आर्थिकरुपमा सम्पन्न बनाउनु नै समाज उत्थानको एक मूल उद्देश्य हो भन्ने विचारकासाथ उनले काम गरिरहेकी छन् ।

चिनियाँ प्रथम महिला पेग लियुआन फोब्र्सको मूल्यांकनमा पर्ने अर्को एकजना विश्व प्रख्यात महिला हुन् । ५३ वर्षीया पेग चीनको लोकगायिकाको रुपमा विश्व विख्यात भएकी हुन् ।

फेसन डिजाइनमा अत्यन्त सोखिन रहेकी पेग चीनका राष्ट्रपति सी जिनपिंगका धर्मपत्नीकारुपमा रहेर पनि आफ्नो सो सोख र लगनलाई निरन्तरता दिइरहेकी छन् ।

उनले चीनको राष्ट्रिय पोशाकलाई पश्चिमा शैलीमा बदलेर फेसन डिजाइनमा अत्यन्त प्रचलित फेसनकारुपमा स्थापित गरेकी छन् ।

चर्चाको शिखरमा पुग्न सफल अर्की महिला म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी पनि हुन् ।म्यानमारमा करिब साढे दुई दशकभन्दा बढी समयमा भएको आम निर्वाचनमा सुकीको पार्टीले बहुमत ल्याउन सफल भएपछि उनको चर्चा विश्वमा नै पुगेको हो ।

त्यसो त म्यानमारको सैनिक हिरासतमा नै रहेका करिब दुई दशकदेखि नै उनी चर्चाको शिखरमा पुग्न सफल भएकी हुन् । सन् १९९० मा म्यानमारको संसदीय निर्वाचन भयो र त्यसमा प्रजातन्त्रवादी नेत्री आङसान सुकीको दलले लगभग दुई तिहाई बहुमत ल्याएको थियो । तर, दुर्भाग्य सुकीले प्रधानमन्त्रीको सपथ नै लिन पाइनन् । सेनाले तत्कालै ‘कू’ गर्‍यो । उनलाई जेल हालियो ।

करिब दुई दशक सैनिक हिरासतमा बिताएकी प्रजातन्त्रवादी नेत्री सुकी र उनको दल नेसनल लिग फर डेमोक्रेसिले यसपटकको आमनिर्वाचन अत्याधिक बहुमत ल्याउन सफल भएर चर्चाको शिखरमा पुगेकी छन् ।

त्यस्तै, बेलारुसकी पत्रकार तथा लेखिका एसभेट्लाना अलेस्किभीचलाई सन् २०१५ को साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो । उनी पनि यस वर्षको एक विश्व चर्चित महिला बन्न सफल भइन् ।

पत्रकारिता जीवनबाट लेखिका बनेकी उनको साहित्य लेखनले यसै पनि उनलाई संसारसामु पुर्‍याएको थियो । साहित्यमा नोबेल पुरस्कार पाउने थोरैमात्र महिलामा पर्न उनी सफल भइन् ।

त्यसैगरी, नेपालकी एकजना कम्युनिष्ट नेत्री विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित भइन् । उनी गणतन्त्र नेपालको दोस्रो तथा पहिलो महिला राष्ट्रपतिकारुपमा निर्वाचित भइन् ।

सन् २०१५को अक्टोबरमा उनी नेपालको राष्ट्रपतिमा निर्वाचित भइन् । आर्थिक, सामाजिक एवम् राजनीतिकरुपमा समेत महिलापछि परिरहेको नेपालजस्तो तेस्रो विश्वको देशमासमेत एकजना महिला देशको प्रमुख र पहिलो पदाधिकारीका रुपमा निर्वाचित हुनुलाई संसारका कतिपय देशका सन्चारमाध्यमले उदाहरणकारुपमा पनि आफ्ना समाचारका विषयवस्तुमा प्रस्तुत गरेका थिए । रासस (विभिन्न एजेन्सीहरुको सहयोगमा)

0 comments:

Post a Comment