Friday, 2 October 2015

प्रधानमन्त्री सुशील कोइरालाद्धारा पद त्याग



काठमाडौं, असोज १५ । प्रधानमन्त्री सुशील कोइरालाले आफूले पद त्यागेको जानकारी गराएका छन् ।

शुक्रबारको संसद बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले ‘राजीनामा’ शब्दको उल्लेख नगरी नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान गर्न राष्ट्रपति डा. रामवरण यादवलाई आग्रह गरेका हुन् ।

आफ्नो नेतृत्वमा देशले संविधानसभामार्फत् संविधान प्राप्त गर्नु ऐतिहासिक उपलब्धि भएको भन्दै प्रधानमन्त्री कोइरालले आन्दोलनरत दलहरुका माग सम्बोधनका लागि सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाइसकेको पनि बताए ।

समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायतका व्यवस्थालाई समेट्ने गरी मन्त्रिपरिषदको निर्णयअनुसार संविधान संशोधनको विषय अघि बढाइएको प्रधानमन्त्री कोइरालाले सम्बोधनमा बताए ।

सरकार र आन्दोलनरत दलहरुबीच जारी वार्ता सकारात्मक दिशामा अघि बढेको भन्दै उनले संविधानमा सकेसम्म सबै पक्षका मागलाई समेटिएको पनि बताए ।

प्रधानमन्त्री कोइरालाले नेपालको पारवहन अधिकार नै खोसिने गरी आपूर्तिमा अवरोध नगर्न भारतलाई आग्रह पनि गरे । आपूर्ति सहज नहुँदा आम नेपाली जनताको दैनिकी कस्टकर बनेको भन्दै उनले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गरे ।

नेपालको संविधान उच्च कोटीको भएको भन्दै प्रधानमन्त्री कोइरालाले यसको सफल कार्यान्वयनका लागि भूमिका खेल्न सबै पक्षलाई आग्रह पनि गरे ।

0 comments:

Post a Comment